
काठमाडौँ । देशभरका सरकारी, सामुदायिक तथा निजी अस्पतालले अस्पतालमा मृत्यु भएका प्रत्येक व्यक्तिको मृत्युको वास्तविक कारण खुलाउनुपर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृत्युको चिकित्सकीय कारण खुलाएर डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने नयाँ व्यवस्था सुरु गरेको हो ।
नयाँ व्यवस्थाअनुसार अस्पतालमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिको मृत्युको कारण चिकित्सकले पहिचान गरी अभिलेखमा स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ ।
मन्त्रालयले अस्पतालमा मृत्यु भएका व्यक्तिको अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाउन ‘अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको हो ।
अस्पतालमा उपचार गराइरहेको अवस्थामा वा उपचारका लागि अस्पताल ल्याउने क्रममा मृत्यु भएका व्यक्तिको शव परीक्षण गर्दा अन्तर्राष्ट्रिय पद्धतिअनुसार मृत्युको कारण पहिचान गरी एकीकृत रूपमा अभिलेखीकरण गर्ने व्यवस्था कार्यविधिले गरेको छ । साथै, स्थानीय तहमा मृत्यु घटनाको सूचना तत्काल सम्प्रेषण गरी मृत्यु सूचना सुदृढीकरण तथा व्यक्तिगत घटना दर्ता कार्यलाई सहज, गुणस्तरीय र व्यवस्थित बनाउने उद्देश्य कार्यविधिको रहेको छ ।
कार्यविधि जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३८, ५९ र ६० तथा जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम २४ कार्यान्वयन गर्न ऐनको दफा ६४ को अधिकार प्रयोग गरी जारी गरिएको मन्त्रालयले जनाएको छ ।
कार्यविधिमा ‘अप्राकृतिक मृत्यु’ भन्नाले दुर्घटना, कार्यस्थलमा भएको भवितव्य, हत्या, आत्महत्या, हिंसा, प्राकृतिक वा मानवीय विपद् तथा जानीजानी वा अज्ञानमा विष वा लागू पदार्थको सेवन वा औषधिको अधिक सेवनबाट भएको मृत्युलाई समेत जनाउने उल्लेख छ ।
त्यस्तै, ‘प्राकृतिक मृत्यु’ भन्नाले कुनै बाह्य कारणबिना रोग लागेर वा सङ्क्रामक रोगबाट भएको मृत्यु बुझिने कार्यविधिमा उल्लेख छ । बाह्य दुर्घटना, हिंसा वा आपराधिक शक्तिबिना स्वाभाविक रूपमा शरीर र जीवनका जैविक प्रक्रियाहरू रोकिएर हुने मृत्युलाई पनि प्राकृतिक मृत्युका रूपमा परिभाषित गरिएको छ ।