![निम्सलाई भेटेर भन्न चाहन्थेँ: “आरोहणप्रतिको यो तीव्र लयले दुर्घटना निम्त्याउन सक्छ है!” [अन्तर्वार्ता]](https://www.diyopost.com/wp-content/uploads/2026/08/Untitled-3.jpg)
विश्व पर्वतारोहणको इतिहासमा १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमालहरू छोटो समयमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका चर्चित नेपाली आरोही निर्मल पुर्जा (‘निम्स दाई’) र उनको टोलीसहित १० जना (६ जना नेपाली आरोही र ४ जना विदेशी) आरोहणका क्रममा पाकिस्तानको हिमाली क्षेत्रमा आएको भीषण हिउँपहिरोमा परी दु:खद निधन भयो।
निर्मल पुर्जाले परम्परागत रूपमा विदेशी आरोहीको सहयोगी वा ‘भारी बोक्ने भरिया’का रूपमा सीमित नेपाली शेर्पा तथा आरोहीहरूको परिचयलाई भत्काएर नेपालीलाई नै विश्वस्तरीय नेतृत्वकर्ता, आधुनिक उद्यमी र ब्रान्डका रूपमा स्थापित गरेका थिए। उनको यो अप्रत्याशित र दु:खद निधनले सम्पूर्ण पर्वतारोहण जगत, नेपाल तथा अन्तर्राष्ट्रिय समुदायलाई स्तब्ध बनाएको छ।
यसै दु:खद घटना, निम्स दाईको योगदान, तथा पर्वतीय पर्यटनको आधुनिक युग, उच्च प्रविधिको प्रयोग, र जलवायु परिवर्तनका कारण ‘रोगी’ बन्दै गएका हिमालहरूको वर्तमान अवस्थाबारे केन्द्रित रहेर दियोपोष्टले पर्वतीय पर्यटन तथा दीगो पर्यटन विषयमा विद्यावारिधि गरेका एवम् स्वयं एक्सपिडिसन अपरेटर समेत रहेका डा. सूर्य बहादुर थापासँग कुराकानी गरेको छ। यस संवादमा निम्स दाईले नेपाली पर्वतारोहणलाई विश्वमञ्चमा पुर्याउन खेलेको ऐतिहासिक भूमिका, उनको कार्यशैली, एलिट (सम्भ्रान्त) वर्गलाई नेपालको पर्यटनसँग जोड्ने कला, उनले छाडेर गएका अपूरा सपना, र अबका दिनमा राज्य तथा नयाँ पुस्ताका आरोहीहरूले हिमाललाई ‘चढ्ने’ भन्दा पनि ‘बुझ्ने र संरक्षण गर्ने’ दिशामा कसरी अघि बढ्नुपर्छ भन्ने विषयमा गहन र निष्पक्ष समीक्षा गरिएको छ।
प्रश्न १: निर्मल पुर्जा (निम्स दाई) भन्दा अगाडि नेपाली आरोही शेर्पाहरु मुख्यतया धनी विदेशी आरोहीका सहयोगी वा भारी बोक्ने पात्रका रुपमा मात्रै सीमित थिए। उनले यो भाष्यलाई भत्काएर नेपालीलाई नै विश्वस्तरीय नेतृत्वकर्ताका रुपमा कसरी स्थापित गरे जस्तो लाग्छ?
डा. सूर्य बहादुर थापा: नेपाल हिमालको धनी देश हो र संसारका सबैभन्दा अग्ला तथा मझौला हिमालहरु नेपालमै छन्। पर्वतारोहण र एक्सपिडिसनको कुरा गर्दा हाम्रो इतिहास धेरै लामो छैन। सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको एभरेस्ट एक्सपिडिसनपछि मात्र नेपाल विश्वबजारमा चिनिन थालेको हो।
त्यतिबेला हाम्रा शेर्पा दाजुभाइहरुले कहिँबाट तालिम नपाए पनि ‘हिमालका छोरा’ भएका नाताले निस्वार्थ रूपमा भारी बोकेर वा श्रमिकका रूपमा हिमाल चिनाउने काम गर्नुभयो। तर, आधुनिक र व्यावसायिक रूपमा अन्तराष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने काम निर्मल पुर्जाले सुरु गर्नुभयो। उहाँ आएर व्यावसायिक एक्सपिडिसन सुरु गरेपछि अन्तराष्ट्रिय मिडिया उहाँको पछाडि लाग्यो। जसले गर्दा एक्सपिडिसन र नेपाल के हो भन्ने नथाहा पाउने वर्गसम्म पनि यसको प्रचारप्रसार भयो। मेरो सम्झनामा निर्मल पुर्जा एक आधुनिक क्लाइम्बर हुनुहुन्छ, जसले ग्लोबल्ली नेपालको एक्सपिडिसनलाई चिनाउनुभयो र यसलाई एड्भेन्चर लभरहरुको माझमा पपुलर बनाउन ठूलो योगदान दिनुभयो।
प्रश्न २: तपाईँले उहाँसँग (निर्मल पुर्जासँग) कत्तिको संगत गर्नुभयो? के-के विषयमा कुराकानी हुन्थ्यो र उहाँको स्वभावलाई कसरी सम्झिनुहुन्छ?
डा. सूर्य बहादुर थापा: धेरै लामो समय त होइन, तर पछिल्लो तीन वर्षको अवधिमा उहाँ नेपाल आउँदा होटलहरुमा माउन्टेन टुरिजमसँग रिलेटेड साथीहरुमार्फत उहाँसँग भेटघाट र चिनजान भएको थियो। म आफैँ पनि पर्वतीय पर्यटन र सस्टेनेबल टुरिजममा पीएचडी गरिरहेको स्टुडेन्ट र स्कोलर भएकाले उहाँसँग मेरो मुख्य जोड एकेडेमिक छलफलमा हुन्थ्यो।
उहाँहरूलाई आधुनिक एक्सपिडिसन लहरका उत्कृष्ट अभ्यासकर्ता र नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा आधुनिक रूपमा ब्रान्डिङ गर्ने ‘एम्बासडर’को रूपमा लिनुपर्छ
उहाँले संसारका सबै अग्ला हिमाल चढिसक्नुभएकाले हिमाल के हो, नेपालले हिमालबाट समृद्धि हासिल गर्न सक्छ कि सक्दैन, र विश्वबजारमा यसलाई कसरी प्रमोसन गर्ने भन्ने विषयमा धेरै पटक कुराकानी भयो। मैले उहाँबाट धेरै जानकारीहरु लिएँ। व्यावसायिक रूपमा म आफैँ पनि ट्राभल एन्ड टुरिजम र एक्सपिडिसन अपरेटर भए पनि उहाँसँग मेरो व्यावसायिक जोड थिएन; उहाँ मेरो रिसर्चको एउटा ठूलो माध्यम बन्नुभएको थियो।

प्रश्न ३: उहाँले परम्परागत साहसिक पर्यटनलाई आधुनिक ब्रान्डिङ, उच्च प्रविधि र ‘जेम्स बोन्ड’ शैलीको ग्ल्यामरसँग जोडेर नेपाल र विश्वका सम्भ्रान्त (एलिट) वर्गसम्म पुर्याउन कत्तिको सफलता पाउनुभयो?
डा. सूर्य बहादुर थापा: यस मानेमा उहाँलाई हामी सफल नै मान्छौँ। पहिला शेर्पाहरुले पोर्टर जेनेरेसनदेखि नै हिमाल चिनाएकै हुन्, तर पछिल्लो समय प्रविधि र सूचना प्रविधिको जुन विकास भयो, त्यसलाई निम्सले एकदमै राम्रोसँग एडप्ट गर्नुभयो। उहाँ ब्रिटिस आर्मी पनि हुनुहुन्थ्यो, करिब ४५ वर्षको उमेर समूहको हुनुहुन्थ्यो, जसले गर्दा अन्तर्राष्ट्रिय युथहरुमा उहाँप्रति ठूलो ‘ट्रस्ट’ र विश्वसनीयता भयो।
उहाँले विश्वका धनी, शौखिन र साँच्चै खर्च गर्न सक्ने एलिट वर्गका एड्भेन्चर लभरहरुलाई आफ्नो टिमवर्कमार्फत नेपालसँग जोड्नुभयो। यसले गर्दा नेपालको पर्वतीय पर्यटन र एक्सपिडिसनमा तीव्र गतिमा (Rapidly) सकारात्मक परिवर्तनहरु आएको हामीले महसुस गरेकै हौँ।
प्रश्न ४: निम्स दाईले विश्वका धनाढ्य र शक्तिशाली वर्गलाई आरोहणमा ल्याउन सके पनि के उहाँ निम्न-मध्यमवर्गीय, सामान्य नेपाली आरोही र स्थानीय समुदायलाई समेट्न चुक्नुभएको हो?
डा. सूर्य बहादुर थापा: पहिलो कुरा, नेपाललाई हाइ-इन्ड (उच्च खर्च गर्ने) पर्यटक नै चाहिएको हो, र एक्सपिडिसनमा ठूलो लगानी आउँछ। टुरिजम, खासगरी माउन्टेन टुरिजम यस्तो क्षेत्र हो जसले जीवनमा कहिल्यै पैसा नदेखेका तल्लो तहका वर्गको हातमा पनि सीधै ‘लाइभ’ विदेशी मुद्रा पुर्याउँछ।
जहाँसम्म स्थानीय र निम्न वर्ग समेटिने कुरा छ, त्यसमा राज्यको नीति र मेकानिजम कस्तो छ भन्ने कुराले फरक पार्छ। निम्सको मुभमेन्टले माउन्टेनमा मल्टिपल मुभमेन्ट गराएपछि त्यहाँ रोजगारी सिर्जना भयो, स्थानीय स्रोतसाधनको प्रयोग भयो र राजस्व बाँडफाँड भयो। उहाँले हिमाल चढ्ने मात्र नभई नेपालमा हेलिकप्टरमा लगानी गर्ने, आफ्नै ब्रान्डका माउन्टेन टुरिजम इक्विपमेन्टहरु नेपाली बजारमा बेच्ने जस्ता ठूला व्यापार-व्यवसाय सुरु गर्नुभएको थियो।
ग्लोबल वार्मिङ र प्रदूषणका कारण हिमालहरू अहिले साँच्चै नै ‘रोगी’ भइसकेका छन्
उहाँले ‘मिसिङ मार्केट’लाई कनेक्ट गरिदिनुभएको थियो। यदि उहाँ रहिरहनुभएको भए यसले दीर्घकालमा रोजगारी सिर्जना र स्थानीय समुदायको जीविकोपार्जन उकास्न ठूलो टेवा पुर्याउँथ्यो। तर, हाम्रो राज्यको मेकानिजम र नीति व्यवहारमा पूर्ण रूपमा लागू नहुँदा केही कमीकमजोरी देखिएका हुन सक्छन्, तर समग्रमा उहाँको प्रभाव सकारात्मक नै छ।
प्रश्न ५: अन्य आरोहीहरूलाई आफ्नै कम्पनी वा ब्रान्ड चलाउन सक्ने उद्यमी बनाउन निर्मल पुर्जा (निम्स दाई) को भूमिका कत्तिको निर्णायक रह्यो जस्तो लाग्छ?
डा. सूर्य बहादुर थापा: हिमाल चढ्ने-चढाउने हाम्रो परम्परागत व्यवसाय हो। पहिला हाम्रा शेर्पाहरु तथा हिमालसँग जोडिएका स्थानीयहरूले आफ्नै बलबुतोमा काम गरे। त्यतिबेला अन्तर्राष्ट्रिय सञ्जाल र सूचना प्रविधिको राम्रो सदुपयोग हुन सकेको थिएन। त्यसैले शेर्पाहरूलाई भारी बोक्ने भरियादेखि कम्पनी र होटलको मालिक बन्न लामो समय लाग्यो।
तर, निम्सले अहिलेको नयाँ ट्रेन्ड र सूचना प्रविधिलाई समात्ने मौका पाउनुभयो। उहाँले हिमाललाई प्रविधिसँग जोडेर छोटो समयमै विश्वभर ठूलो ‘एक्सपोजर’ र भाइरल प्रचार दिनुभयो। उहाँले साहसिक पर्यटनको क्षेत्रमा एउटा चमत्कार नै गर्न खोज्नुभएको थियो। उहाँको यो कदमले आजका युवाहरूलाई “हिमालबाट पनि उद्यमशीलता सम्भव छ” भन्ने एउटा स्पष्ट र प्रेरणादायी सन्देश छोडेको छ।

प्रश्न ६: उहाँले आफ्ना विश्व कीर्तिमानी अभियानहरूमा जलवायु परिवर्तन, हिमचितुवाको संरक्षण र माउन्टेन क्लिनिङ (हिमाल स्वच्छता) जस्ता सकारात्मक विषयहरूलाई कत्तिको प्राथमिकताका साथ अगाडि बढाउनुभयो?
डा. सूर्य बहादुर थापा: हिमाललाई संरक्षण र प्रवर्धन गरेर भावी पुस्तालाई हस्तान्तरण गर्नु सबैको साझा दायित्व हो। मानिस जब हिमालसँग जोडिन्छ, उ मोहित हुन्छ र संरक्षणमा लाग्छ। अन्तर्राष्ट्रिय स्तरमा पनि हिमाल चढेर पैसा मात्र कमाउने सोचलाई पत्याइँदैन; त्यहाँ प्रकृति संरक्षण र सहकार्य आवश्यक हुन्छ।
उहाँ बाँचिरहेको भए आरोहणभन्दा पनि आफ्ना अनुभव संसारभर बाँडेर ५० वर्षसम्म प्रेरणाको स्रोत बन्न सक्नुहुन्थ्यो
निम्स दाईले आफ्ना अभियानहरूमा जलवायु परिवर्तन र हिमाल सफाइजस्ता धेरै सकारात्मक प्रोजेक्टहरूलाई नेपालसँग जोड्न खोज्नुभएको थियो। हिमाल जोगाए मात्र पर्यटन र अन्य कुराहरू जोगिन्छन् भन्ने चेतना उहाँमा थियो। उहाँले सुरु गरेका यी प्रोजेक्टहरूको दीर्घकालीन प्रतिफल र नतिजाहरू बिस्तारै देखिँदै जानेछन्। मूल कुरा अहिले युवाकेन्द्रित सरकारले यसमा विशेष ध्यान पुर्याउन सक्नुपर्छ।
प्रश्न ७: बालेन शाह वा पर्यटन मन्त्रालयजस्ता निकायहरू केवल भावुक श्रद्धाञ्जली र शोक सन्देशमा मात्र सीमित हुनुपर्छ कि उहाँको काम, योगदान र कमीकमजोरीको निष्पक्ष समीक्षा हुनुपर्छ? विश्वमञ्चमा बनेको यो ब्रान्ड र इतिहास जोगाउन राज्य तथा निजी क्षेत्रले कसरी काम गर्नुपर्छ?
डा. सूर्य बहादुर थापा: यो एकदमै गम्भीर र समीक्षात्मक विषय हो। हाम्रो समाजमा मानिस मरेपछि मात्र गुणगान गाउने र केही औपचारिकतापछि बिर्सिने परिपाटी छ। भर्खरै पाकिस्तानको हिमालमा निर्मल पुर्जासहित ६ जना नेपाली र ४ जना विदेशी गरी १० जना आरोहीहरूले ज्यान गुमाउनुभएको छ।
प्रकृतिलाई कसैले जित्न सक्दैन, यसलाई माया मात्र गर्न सकिन्छ। यस्तो जोखिमपूर्ण र साहसिक काममा समर्पित हुनेहरूलाई राज्यले चिन्नुपर्छ। औपचारिक श्रद्धाञ्जलीमा मात्र सीमित नभई उहाँहरूको योगदान, सकारात्मक पक्ष र प्राविधिक कमजोरीहरूको निष्पक्ष समीक्षा गरिनुपर्छ।
निम्सले अन्तर्राष्ट्रिय जगत्मा “चुनौतीहरू सामना गर्नैपर्छ” (मस्ट फेस द च्यालेन्ज) भन्ने जुन हिम्मत र सन्देश युवाहरूलाई दिनुभयो, त्यसलाई एउटा महत्त्वपूर्ण दस्तावेज र कथाको रूपमा विश्वभर ब्रान्डिङ गरिनुपर्छ। साथै, उहाँहरूले अत्याधुनिक प्रविधि प्रयोग गर्दागर्दै पनि हिमपहिरो जस्ता दुर्घटना भएकाले हाम्रा आरोहीहरूलाई अझै राम्रो प्रविधि, उपकरण र सुरक्षा सम्बन्धी तालिमको आवश्यकता छ। उहाँहरूका कथालाई अन्तर्राष्ट्रिय मञ्चमा सही ढङ्गले प्रस्तुत गर्न सकियो भने मात्र मरेर जाने आत्माहरूप्रति सच्चा न्याय हुनेछ।
प्रश्न ८: नेपालले निम्स दाईलाई एउटा साहसी आरोहीका रूपमा मात्र सम्झिने कि नेपाली पर्वतारोहणको आधुनिक युग सुरु गर्ने युगान्तकारी पात्रका रूपमा मूल्याङ्कन गर्ने? उहाँको विवादास्पद विगत वा प्रयासहरूलाई कसरी हेर्नुभएको छ?
डा. सूर्य बहादुर थापा: नयाँ काम वा ठूलो प्रयास गर्ने मानिस विवादमा आउनु वा त्रुटिहरू हुनु स्वाभाविक हो। इतिहासमा न्युटन वा डार्विन जस्ता ठूला वैज्ञानिकहरूलाई पनि सुरुमा पागल भनिएको थियो। नयाँ र साहसिक काम गर्न ‘बोल्डनेस’ (आँट) चाहिन्छ, जुन निम्स र उहाँको टोलीमा थियो।
हामीले उहाँहरूलाई आधुनिक एक्सपिडिसन लहरका उत्कृष्ट अभ्यासकर्ता र नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा आधुनिक रूपमा ब्रान्डिङ गर्ने ‘एम्बासडर’को रूपमा लिनुपर्छ। उहाँहरूले हिमाल चढेर मात्र होइन, जलवायु परिवर्तन र हिमाल स्वच्छता जस्ता विषय उठाएर हिमाललाई संसारको ‘वाटर टावर’ र सभ्यताको द्योतकका रूपमा चिनाउनुभयो। एक्सपिडिसनलाई व्यापार मात्र बनाउनु हुँदैन र हिमाल बचाउन अन्तर्राष्ट्रिय ध्यान खिच्नुपर्छ भन्ने सन्देश उहाँहरूले दिनुभयो।
![]()
प्रश्न ९: निम्स दाईहरूले प्रयोग गर्नुभएको उच्च प्रविधिले पर्वतारोहणमा सकारात्मक परिवर्तन ल्यायो कि यो महँगो बजारको व्यावसायिकतामा मात्र सीमित भयो?
डा. सूर्य बहादुर थापा: प्रविधि र अत्याधुनिक उपकरणहरूले आरोहणमा सुरक्षा र ‘कन्फिडेन्स’ बढाउँछन्। निम्सले प्रयोग गरेको प्रविधिले उहाँहरूलाई ट्र्याक र डिटेक्ट गर्न सजिलो बनाएको थियो, जसले सही समयमा उद्धारको सम्भावना बढाउँछ।
अबका युवाहरूले हिमाल चढ्ने मात्र होइन, ‘हिमाल बुझ्ने र जान्ने’ प्रयास गर्नुपर्छ
तर, प्रकृति र हिमपहिरो अगाडि प्रविधि पनि कहिलेकाहीँ कमजोर हुन्छ। नेपालले स्याटेलाइट कम्युनिकेसन र नेभिगेसन सिस्टमलाई अझ धेरै अपग्रेड गर्नुपर्छ र हाम्रा आरोहीहरूलाई ती उपकरण चलाउने तालिम दिनुपर्छ। प्रविधिको सही प्रयोगले दुर्घटना घटाउन र आरोहीको आयु बढाउन मद्दत गर्छ।
प्रश्न १०: जलवायु परिवर्तन, प्रदूषण र मानवीय हस्तक्षेपका कारण हाम्रा हिमालहरू ‘रोगी’ बन्दै गएको र आरोहण झन् जोखिमपूर्ण हुँदै गएको हो ?
डा. सूर्य बहादुर थापा: ग्लोबल वार्मिङ र प्रदूषणका कारण हिमालहरू अहिले साँच्चै नै “रोगी” भइसकेका छन्। बढ्दो तापक्रमका कारण हिमालमा पहिले जस्तो कठोर हिउँ (Hard Frozen Ice)जम्न छाडेको छ र धेरैजसो ठाउँमा काला पत्थर र ढुङ्गाहरू मात्र देखिन थालेका छन्, जसले गर्दा आरोहण पहिलेभन्दा धेरै चुनौतीपूर्ण र जोखिमपूर्ण बनेको छ।
ग्लोबल वार्मिङका साथसाथै मानवीय हस्तक्षेप, औद्योगिक उत्सर्जन र आणविक हातहतियारको होडबाजीले गर्दा जमिनमुनि र पृथ्वीको सतहमा परिवर्तन आएको छ, जसले हिमालहरूलाई थप कमजोर र अस्थिर (Fragile) बनाएको छ। हिमाल भनेको संसारको ‘वाटर टावर’ अर्थात् शुद्ध पिउने पानीको मुख्य स्रोत हो। तर बढ्दो प्रदूषण र वातावरणीय सङ्कटले गर्दा यो स्रोत नै जोखिममा परेको छ।
यस्तो नाजुक परिस्थितिमा प्रकृतिलाई जित्ने होडबाजी गर्नु वा केवल विश्व कीर्तिमानी राख्नका लागि मात्र पटक-पटक हिमाल चढ्नु ठूलो जोखिम निम्त्याउनु हो। त्यसैले अबको मुख्य प्राथमिकता अनियन्त्रित आरोहणभन्दा पनि हिमालको संरक्षण र संवर्धन हुनुपर्छ।
प्रश्न ११: पाकिस्तानमा भएको दुर्घटनापछि पार्थिव शरीर नेपाल ल्याउने प्रयास र उद्धारको पछिल्लो अवस्थालाई कसरी हेर्नुभएको छ?
डा. सूर्य बहादुर थापा: अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र नेपाली न्युज पोर्टलहरूबाट प्राप्त सूचना अनुसार सुरुमा ड्रोनले लोकेसन डिटेक्ट गर्दा जीवितै हुनुहुन्छ कि भन्ने आशा थियो। तर पछि दुर्घटनामा कसैलाई बचाउन सकिएन भन्ने पुष्टि भयो। निम्स र उहाँको टोली अन्तर्राष्ट्रिय व्यक्तित्व भइसकेकाले पाकिस्तान सरकार र अन्तर्राष्ट्रिय टोलीहरूले उद्धार र शव ल्याउने प्रक्रियामा काम गरिरहेका छन्।
पार्थिव शरीर नेपाल ल्याउनु आफ्नो ठाउँमा महत्त्वपूर्ण छ, तर त्योभन्दा ठूलो कुरा उहाँहरूको आत्मा र सपना नेपाली हिमालसँगै जोडिएको छ। उहाँहरूले देखेको हिमाल प्रवर्धन र संरक्षणको सपनालाई पूरा गर्नु नै सच्चा श्रद्धाञ्जली हुनेछ।
प्रश्न १२: अन्तिममा, अब आउने नयाँ पुस्ताका आरोहीहरूलाई के भन्न चाहनुहुन्छ र दिवंगत आरोहीहरूलाई कसरी सम्झिनुहुन्छ?
डा. सूर्य बहादुर थापा: साहसिक काम गर्ने एउटा उमेर हुन्छ, तर हिमाललाई सधैँ जित्न खोज्नु वा बारम्बार कीर्तिमानका लागि मात्र चढिरहनु मुर्खता हो। प्रकृतिलाई कसैले जित्न सक्दैन। म निम्सलाई पनि भेटमा भन्न चाहन्थेँ- “जुन लयमा तिमी आरोहण गरिरहेका छौ, त्यसले कुनै दिन दुर्घटना निम्त्याउन सक्छ।” उहाँ बाँचिरहेको भए आरोहणभन्दा पनि आफ्ना अनुभव संसारभर बाँडेर ५० वर्षसम्म प्रेरणाको स्रोत बन्न सक्नुहुन्थ्यो, जुन अपूरो रह्यो।
अबका युवाहरूले हिमाल चढ्ने मात्र होइन, ‘हिमाल बुझ्ने र जान्ने’ प्रयास गर्नुपर्छ। राज्यले पनि क्यान्डल बालेर वा शोक सन्देश दिएर मात्र पुग्दैन; दिवंगत आरोहीहरूका परिवार र सन्तानको भविष्य सुरक्षित गर्ने तथा उहाँहरूको अनुभवलाई दस्ताबेजका रूपमा अन्तर्राष्ट्रिय बजारमा लैजाने व्यावहारिक नीति ल्याउनुपर्छ। म दिवंगत १० जनाै आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।
हेर्नुहोस् भिडियो: