त्रिशूलीमा हेलिएकी कल्पना : ‘मृत्यु मेरो पछिपछि थियो, चौधरी भाइले बचाए’

राजेन्द्र भट्ट

वेत्रावती । त्रिशूलीको भेलबाट बाँचेका बेत्रावतीवासीका लागि यो पुनर्जीवन कुनै विजयको उत्सव होइन; आफ्नै आँखैअगाडि आफन्त र सिंगो बस्ती बालुवामा बिलिन भएको देख्नुपरेको यो एउटा कहालीलाग्दो मनोवैज्ञानिक सास्ती हो । मृत्युको मुखबाट उम्किएकाहरू अहिले पनि लेदोसहितको हिलो बालुवा, बुधबार बिहानको आतंक र हराएका प्रियजनको खोजीमा भौंतारिरहेका छन् ।

यसरी भौंतारिरहेकाहरू मध्ये एक हुन्, बेत्रावती बजारकी कल्पना थापा मगर ।

रातो कुर्ता र हरियो पछ्यौरीमा रहेकी, पसिनाले सिन्दुर पखाल्दै गरेको उनको कथा भने अलि भिन्न छ। उनका श्रीमान् जीवित छन्, छोराछोरी सकुशल छन्, र आमाजुहरू पनि बाढीको भागदौडबाट जोगिएका छन् । उनी स्वयम् पनि मृत्युलाई छक्काएर बाँचेकी छिन् । तर, उठडुल गर्न असमर्थ सासुलाई भने उनले जोगाउन सकिनन् ।

बेत्रावती बजारको त्यो नाङ्गो बगरमा अब उनका लागि उभिने जमिन बाँकी छैन । न ओत लाग्ने घर छ, न जिन्दगीको थिति बसाल्ने कुनै सहारा । बगरसँग जोडिएका पुराना सम्झना र त्यो भयावह बाढीको दृश्य मात्रै उनका आँखामा छरपस्ट छ ।

 बगरमा घर पहिल्याउन आएका विस्थापितहरू !

घटनाको भोलिपल्ट ढुंगेबजारबाट जङ्गलको बाटो, स्थानीयलाई सोधीखोजी गर्दै, चोकतेको गुम्बा हुँदै कच्ची बाटोमा मोटरसाइकल घचेट्दै हामी दिउँसो ३ बजे खण्डहर बनेको बेत्रावती बजार पुग्दा, ८-१० जना स्थानीयको भीड मास्तिर उक्लिँदै थियो । तीमध्ये एक थिइन्- मगर । उनी बिहानै आफ्नो घर खोज्न आएकी थिइन्, तर लेदोले पुरिएको बगरमा उनले आफ्नो घर ठम्याउन सकिनन् ।

हामीले पुग्दा दिउँसो ३ बज्न लागेको थियो । बालुवा तातेर हुप्प गर्मी बढेको थियो । फलाखु र त्रिशूलीको दोभान क्षेत्र (बेत्रावती बजार) मा तातेको लेदो सहितको बालुवाले आँखा तिरमिराएको थियो । खण्डहर बनेको बेत्रावतीदेखि गाउँतिर उकालो लाग्दै गरेका उनीहरूलाई रोकेर हामीले सोध्यौँ, ‘तपाईंहरूको पनि यहाँ घर थियो ?’

केहीबेर त्यहाँ बाक्लो निशब्दता छायो । अपरिचित र नयाँ अनुहार देखेर उनीहरू सशङ्कित भए, वा हाम्रो त्यो प्रश्नले उनीहरूको मुटुमा भर्खरै खाटो बस्न लागेको घाउलाई फेरि घोच्यो- अनुमान गर्न गाह्रो थियो । काँधमा भिरेका क्यामरा र हातका उपकरणसहित उभिएका हामी तीनजनालाई उनीहरूले केही पल एकटकले हेरे । त्यसपछि त्यो भारी सन्नाटा चिर्दै भीडबाट एउटा पुरुष स्वर आयो, “घर त हामी सबैको नै थियो नि सरहरू! तर, उहाँ चाहिँ त्यो बाढीको मुखमा परेर पनि फुत्किएर बाँच्नुभएको हो ।” 

कल्पनासँग आँखा जुध्यो- एक चकमन्न अनुहार पसिनाले लुछुप्प भिजेकी कल्पनाको अनुहारमा एउटा चकमन्न शून्यता थियो । हामीले उनलाई नजिकैको रुखतर्फ डोर्‍याउँदै सोध्यौँ, “भनिदिनुहुन्छ दिदी, हिजो बिहान के भएको थियो ?”

उनले न हुन्छ भनिन्, न हुन्न भनिन् । तर हामीले अगाडि बढाइदिएको पिन माइक आफैँले कुर्तामा सिउरिँदै उनले भनिन्, “के भन्ने हो सर, मलाई त, मलाई चाहिँ बोल्न नै आउँदैन !”

स्थानीयवासी एक जनाले हौस्याए, “सरहरूलाई जे भयो त्यही भनिदेऊ न !”

उनले हामीले क्यामरा पूर्ण रूपमा अन गर्न नभ्याउँदै, बगरबाट आएको तातो सिरेटो र शवको दुर्गन्धबीच उनले भनिन्, “मलाई त केही पनि थाहा थिएन नि सर, म त तरकारी काटिरहेको थिएँ !”

हामीले उनलाई  रोक्यौँ, “पख्नुस् है दिदी, क्यामरा अन गर्छौँ !” भिडियो सम्पादक प्रकाशजीले लेन्सको फोकस मिलाउँदै क्यामरालाई स्ट्यान्डबाई राखे ।

उनले पुन: एकपटक बगरतर्फ नजर घुमाइन्, जहाँ हिजोबिहानसम्म उनका जीवन सामान्यरुपमा चलायमान थियो । मनमा के कुरा खेल्यो कुन्नि, उनी अलि परतिर पिच्च थुकिन् । अनि क्यामराको लेन्सतिर हेर्दै फेरि भक्कानिँदै बोल्न खोजिन् । तर आवाज निस्किएन ।

गर्मीको रापमा उकालो बाटो चढेर आएकाले सास फुटेको थियो, क्यामरा अगाडि उभिनुपर्दाको अनौठो असहजता थियो, वा त्यो भयानक विगतलाई शब्दमा उतार्न दिमागमा परेको अथाह दबाब थियो- कुन कारण प्रधान थियो, छुट्याउनै गाह्रो थियो । उनको घाँटी कसियो, र मुखबाट  कुनै आवाज निस्किएन । 

उनले भुइँमा राखेको प्लास्टिकको बोतल टिपिन् र बिर्को खोलेर घटघटी पानी पिइन् । घाँटी भिजाइन्, सास सम्हालिन् । त्यसपछि पानीको बोतल छेउमा राख्दै, क्यामरातर्फ हेर्दै  प्रतीक्षाले भरिएको स्वरमा भनिन् – ‘अब बोलौँ त सर ?’

बाढी त बाढी भइहाल्यो तर कत्रो आउँदैछ भन्ने कुरा पनि भन्नुपर्थ्यो  !

“मेरो परिचय चाहिँ कल्पना थापा मगर हो !” 

सुरुमा केही काँपेको उनको स्वर बिस्तारै प्रस्ट बन्दै गयो ।

छेवैमा फलाखु खोला किनारमा आइपुगेको धमिलो र लेदोयुक्त बगर सुक्नै पाएको थिएन । करिब एक किलोमिटर पर जङ्गलबीचबाट देखिने त्रिशूली नदी उसैगरी सुसाइरहेको थियो । फलाखु किनारको चौतारो छेउमा राखिएका केही शवहरू र त्यसमाथि मडारिरहेका चराहरूले त्यो परिवेशलाई पूर्णतः मसानघाट बनाइदिएका थिए । त्यही उराठलाग्दो सास्तीबीच उनले आफ्नो कथा सुरु गरिन् ।

“त्यस्तो ठूलो विपत्ति परेको रहेछ, मलाई त केही पनि थाहा भएन नि सर ! वरिपरिको छरछिमेकीलाई सबैलाई थाहा रहेछ,” उनी भक्कानिन खोज्छिन् तर आफैलाई सम्हालिन्, “माथि टिमुरे र धुन्चेको चौकीबाट फोन आइसकेको रहेछ बेत्रावती चौकीमा ! तर हामीलाई त कसैले जानकारी नै गराइदिनु भएन ! मलाई केही पनि थाहा थिएन ।” 

त्यो प्रलयकारी बिहान उनी आफ्नो घरेलु दैनिकीमा थिइन् ।

“म बिहान ढिलै उठेकी थिएँ, सात बजेतिर । घरधन्दा सकेर दुईवटा बाबुलाई स्कुल पठाउन खाना बनाउँदै थिएँ, तरकारी केलाउँदै थिएँ ।”

बोल्दाबोल्दै उनी घरी आफ्नो हातले नजिकैको रूखको सुकेको पात टिप्दै भाँच्छिन्, त घरी सबैथोक बगाएर नाङ्गो बनेको बगरतर्फ हेर्दै टोलाउँछिन् ।

“अनि है सर, तरकारी केलाउँदै गर्दा ओल्लोघर र पल्लोघर बेस्कन हल्ला गरिरहेका थिए । मान्छेहरू ‘बाढी आयो रे’ भनेर रोडमा दौडिरहेका थिए,” उनी त्यो क्षण सम्झँदै लामो सास फेर्छिन्, “पोहोरको जस्तै बाढी होला, मान्छेहरू टिकटक बनाउन गएका होला भन्ठानेँ । मलाई त आफ्ना बाबुलाई स्कुल पठाउने चटारो पो थियो … !”

भग्नावशेष बनेको बगरबाट नजर हटाएर उनले आक्रोशमिश्रित सुस्केरा हालिन्, “घरवरिपरि कोही पनि थिएन ! मलाई छरछिमेकीले पनि जानकारी गराइदिनु भएन !”

बजारभरि भागदौड मच्चिसकेको थियो र सबैले आ-आफ्नो ज्यान जोगाउने अथक दौडधूप गरिरहेका थिए, उनको घर वरपर भने अनपेक्षित सन्नाटा थियो । कसैले पनि ढोका ढक्ढकाएर ‘भाग है’ भनिदिने फुर्सद पाएनन्, वा उनीहरूलाई कसैले सम्झिएन ।

“अब पोहोर-परार आएको जस्तो सामान्य होला भनी ठानेको थिएँ ! अचानक पो पर्यो के यो यसपाली चाहिँ !”

उनको त्यो वाक्यले रसुवा र नुवाकोटको किनारमा हरेक वर्ष आउने सामान्य बाढी भोगिरहेका बेत्रावासीको पुरानो बानी कसरी योपटक काल बनेर आइपुग्यो भन्ने तीतो यथार्थलाई उदाङ्ग पारेको थियो । हिमताल फुटेर आएको त्यो प्रलयकारी बाढीलाई नदीको सामान्य स्वभाव ठानेका उनीहरूको सिंगो जिन्दगीलाई त्रिशूलीले निलेर बगर बनाइदिएको थियो ।

बाढी त बाढी भइहाल्यो तर कत्रो आउँदैछ भन्ने कुरा पनि भन्नुपर्थ्यो । यहाँका लागि त बाढी सामान्य नै भएर कसैले आकलन नै गर्न सकेन,’ उनी भनिन्, ‘स्याप्रुबेंसी गयो, चिलिमे गयो, टिमुरे गयो र यहाँ पनि केही बाँकी रहन्नन् भनिदिएको भए यो खालको क्षति हुँदैन्थ्यो ।”

टिकटकको भ्रम र धनको लोभले खोसिएका प्राण

भग्नावशेषमा परिणत भएको बेत्रावतीतर्फ उनले एकपटक दृष्टि फ्याँकिन् । गलामै अड्किएका ती मर्माहत शब्दहरू बाहिर ओकल्नका लागि सायद त्यो उजाड बगरतर्फ नजर दौडाउनु उनको अनिवार्य बाध्यता थियो ।

“कतिपय अब टिकटक बनाउन लाग्यो धुरी, कौसीमा चढेर ! टिकटक बनाउँदा बनाउँदै गयो …!”

यो वाक्य उच्चारण गरिरहँदा उनको अनुहारमा आक्रोश र अविश्वासको कठोर रेखा कुँदियो, र उनका औंलाहरूले बारबार हरियो पछ्यौरीको फेर बटारिरहे ।

एकैछिन सास रोकेर, सुकेको ओठमा जिब्रो फेर्दै उनले मानवीय प्रवृत्तिको अर्को पीडादायी पाटो औंल्याइन्, “कसैको चाहिँ सुनचाँदी, पैसा निकाल्नको लागि पनि फर्केर जाँदाले चाहिँ ज्यान गुमाउनु पर्यो !”

रसुवा र नुवाकोटको सीमावर्ती यस बजारमा आइपरेको यो विपत्ति अचानक आएको पानीको बहाव मात्र थिएन, यो पूर्व चेतावनीविहीन राज्यसंयन्त्र, डिजिटल अन्धता र जीवनभरको आर्जन जोगाउने धुनमा कालको मुखमा पुगेका असहाय मानिसहरूको दर्दनाक सङ्गम थियो ।

खेतैखेतमा टेकेर जाँदा-जाँदै.., पाइलो नै सरेन !

त्यसपछि उनी एक्कासि चुप भइन् । फलाखु खोलाको कहालीलाग्दो सुसाइबाहेक त्यहाँ अरू कुनै आवाज थिएन ।

निधारको पसिनालाई बाहुलाले पुछ्दै, अझ थरथर काँपिरहेको स्वरमा उनले  थपिन्, “बाठाटाठाले त थाहा पाएछन्, मेरै घरअगाडिको घर ढलिसकेपछि मात्रै मेरो आँखाले देख्यो !” 

उनी घरको माथिल्लोतिरको पाटोमा थिइन् । घर ढलेको त्यो दृश्य आँखाले ठम्याउनासाथ उनले सोच्ने वा विकल्प खोज्ने एक सेकेन्डको फुर्सद पनि पाइनन् । घर छोडेर उनी सीधै माथितिरको सियालेतर्फको पाखा चढेर ज्यान बचाउने हुटहुटीमा लागिन् । तर, त्यो भागदौड सोचेजस्तो सहज थिएन ।

“उता सियालेपट्टि पाखामा चढ्छु भनेर जाँदा-जाँदै, घरभन्दा माथि एउटा खेतैखेत थियो… त्यो खेतैखेतमा म टेकेर जाँदा-जाँदै, पाइलो नै सरेन !”

त्रास, अत्यधिक थकान र बाढीले ओसारेर ल्याएको खस्रो लेदोले उनका खुट्टालाई जमिनमा किल्ला ठोकेझैँ जकडिसकेको थियो ।

“पाइलो सर्नै नसकेर खुट्टा बटारेर… अनि कसरी-कसरी चाहिँ म चाहिँ बाँच्न सफल भएँ !”

मृत्यु ठीक पछाडिबाट हुइँकिएर आउँदै थियो, र उनी आफ्ना जमेका खुट्टालाई बलजफ्ती तानेर माथितिर उक्लिने अन्तिम संघर्ष गरिरहेकी थिइन् । पूर्वचेतावनी प्रणालीको पूर्ण असफलताले एक साधारण नागरिकलाई कसरी यस्तो प्राकृतिक पासोभित्र एक्लै धकेलदिन्छ भन्ने यो जीवन्त उदाहरण थियो ।

त्यो भागदौडको रापतापलाई स्मरण गर्दै उनले थपिन्, “दौडिँदा-दौडिँदा, घरभन्दा माथिबाट दौडिँदा-दौडिँदा, मलाई छातीसम्म पुरिसकेको थियो ! अनि एकजना चौधरी भाइले सहायता गरेर हातले तानिदिनु भएर म बाँच्न सफल भएँ !”

त्यो मृत्युको खाडलबाट आफूलाई तानेर निकाल्ने ती ‘चौधरी भाइ’ को मानवीय साहरालाई सम्झँदा उनको अनुहारमा अचानक एउटा मूक कृतज्ञता र बाँचिरहनुको अनपेक्षित विस्मय प्रस्ट झल्कियो ।

राज्यका सुरक्षा संयन्त्र र उद्धारका आधुनिक दाबीहरू कक्रिएर बसेको बेला र अपर्याप्त बनेको आपतको त्यो घडीमा एकअर्काको हातेमालो नै ती विपद्-विस्थापितहरूको एकमात्र जीवनरेखा बनेको रहेछ । उनले त्यस कुरालाई नजानिँदो तरिकाले प्रष्टाइन् ।

छोराछोरी जस्ताको छानाबाट हाम्फालेर बाँच्न सफल भएछन् !

आफ्नो ज्यान जोगिएको त्यो बयान टुङ्गिँदा नटुङ्गिँदै, उनको चेतना तत्काल आफ्ना सन्तानतिर फर्किहाल्यो । प्रलयको रापताप थामिएपछि जब उनी लेदोले लतपतिएको शरीर लिएर सुरक्षित डाँडामा पुगिन्, उनको एक्लो र एकमात्र प्रार्थना नानीबाबुहरूको सुरक्षा थियो ।

“मेरो बाबु-नानी चाहिँ पल्लोघरतिर थिए !”

यो वाक्य उच्चारण गर्दा उनको स्वरमा एकाएक एउटा ध्रुवीय परिवर्तन आयो, मृत्युको आघातबाट  बाहिर निस्किएकी आमाको त्यो क्षीण आवाजमा अझै पनि अनिश्चितताको कम्पन मिसिएको थियो ।

“उनीहरू मभन्दा अगाडि नै सुरक्षित ठाउँमा पुगिसकेका रहेछन्, अलि कुनामा पुगिसकेका रहेछन् ।”

तर त्यो सुरक्षा पनि कहाँ पूर्ण थियो र ? बेत्रावतीलाई नामेट बनाउँदै आएको महाबाढीको भलले उनीहरूलाई पनि निल्न खोजेकै थियो ।

“उनीहरूलाई पनि पर्ने भलले लछार्न त लछारेकै रहेछ । तर जोगिएछन् !”

कल्पना आफैँ पनि त्यो चमत्कारप्रति विस्मयमा थिइन् । उनी माथिल्लो पाखाको चिप्लो बाटो चढेर बाँचेकी थिइन् भने, उनका छोराछोरीको बाँच्ने क्रम झनै भयानक थियो ।

“म चाहिँ माथि डाँडामा गएर बाँच्न सफल भएँ, मेरो छोरा र छोरी चाहिँ माथि जस्ताको छानाबाट हाम्फालेर बाँच्न सफल भएछन् ।”

प्रलयको मुखबाट आफ्ना कलिला नानीहरूलाई खोसेर ल्याएको त्यो पल सम्झँदा उनको गला फेरि अवरुद्ध भयो । अघिदेखि घटनाको कठोर यथार्थ बयान गरिरहेकी एक दृढ महिलाभित्रको कोमल मातृरूप एकाएक भत्कियो ।

“मैले ईश्वर-भगवानलाई प्रार्थना गरेर …”, वाक्यको बीचमै उनको गला रोकियो ।

आफ्ना सन्तानलाई मृत्युको मुखबाट खोसेर फेरि अँगाल्न पाउँदाको त्यो निःशब्द र गहिरो सुस्केरालाई शब्दमा अनुवाद गर्नु असम्भवजस्तै थियो । त्यसपछि अलि सम्हालिएको, तर थरथर काँपिरहेको स्वरमा उनले कुरा टुङ्ग्याइन्, “बाबु-नानीहरू जस्ताको तस्तै सकुशल मैले फेला पारेँ !”

यसो भनिरहँदा उनको अनुहारमा देखिएको त्यो क्षणिक राहतले यी बाढीग्रस्त बस्तीहरूमा राज्यको कुनै उपस्थिति नभए पनि, मातृस्नेह र आपसी सहअस्तित्वले मात्रै कसरी मानिसहरूलाई मृत्युको मुखबाट खोसेर ल्याएको छ भन्ने कठोर यथार्थलाई प्रस्ट्याउँथ्यो ।

सासुआमालाई जोगाउन सकिनन्, श्रीमान् संयोगले जोगिए !

जब उनले प्रलयले निम्त्याएको क्षति र प्रियजनको हिसाबकिताब गर्न थालिन्, उनको गला फेरि अवरुद्ध भयो । एउटा अर्को भयानक सत्यले उनको छातीमा घनले हानेझैँ गर्‍यो- जसलाई उनले जिन्दगीभर आफ्नै आमाझैँ स्याहारिन्, ती अचल वृद्ध सासुलाई उनले त्यहीँ छोडेर भागुपरेको थियो । 

तर मेरो सासु आमालाई चाहिँ मैले माया मार्नुपर्यो ! निकाल्न सकिनँ… सासु आमा पर्नुभएको छ ।”

उनको अनुहार फेरि एउटा गहिरो, भारी र कहिल्यै मेट्न नसिकिने पछुतोको कालो छायाँले छोपियो ।

“म चाहिँ घरपछाडिबाट निस्किएँ, तर आमालाई, सासु आमालाई मैले निकाल्न सकिनँ …!”

भक्कानिएको गलालाई बलजफ्ती सम्हाल्दै उनले त्यो विवशताको पल बयान गरिन् ।

“उहाँ त सुतिरहनुभएको थियो ! सुताउनुपर्ने, उठाउनुपर्ने मान्छे हुनुहुन्थ्यो ! उहाँलाई मैले उठाउन सकिनँ …!”

बुढ्यौलीले थलिएको खाटमा ती असहाय सासूलाई छोड्नुपरेको विरक्तलाग्दो पछुतोले उनको अनुहार अँध्यारो बनाएको थियो ।

तर जीवनको पाटो पनि कति अनौठो छ, जहाँ एकतिर विछोडको गहिरो खाडल खनिएको थियो, अर्कोतिर संयोगको धागोले उनका श्रीमानलाई कालको मुखबाट खोसेर ल्याएको थियो । त्यसमा कुनै उत्सवको चमक थिएन, केवल अनायास बाँच्न पुगेको एउटा भारी विस्मय र शून्यता मात्र थियो ।

“मेरो श्रीमान्, सरज्यू, त्रिशूली बजार जानुभएको थियो । ढुंगेमा बिरामी लिएर जानुभएको रहेछ । बिरामी लिएर हस्पिटल छिर्न भ्याएको भए त उहाँ पनि बाढीमा हेलिनुहुन्थ्यो होला। तर, त्यो पेट्रोल पम्पमै पुगेको कारणले चाहिँ उहाँ बाँच्न सफल हुनुभएछ ।”  

सामान्य छ, अलि लछारपछार त भा’छ !

प्रकृतिले जीवन खोस्दा कसैको अनुमति पर्खंदैन, र जब यो रीत तोडिन्छ,  बाँचेका मानिसका लागि त्यो पुनर्जीवन कुनै वरदान नभई एउटा अनुत्तरित दण्ड बनेर उभिँदो रहेछ ।

शरीरमा परेका चोटहरूको न त उनलाई कुनै हिसाब थियो, न त कुनै सुर्तो । हामीसँग संवाद गरिरहँदा उनको शरीरमा बाढीको कुनै लेदो वा देखिनेगरी नयाँ चोटका डोबहरू थिएनन् । सम्भवतः हिजै बेलुका गाउँतिर उक्लिंदा आफन्तको शरण लिने क्रममा उनले ती बाहिरी अवशेषहरू धोईपखाली गरिसकेकी हुँदी हुन् ।

तर, त्यो महाप्रलयले बाहिरबाट हाडजोर्नी नतोडे पनि उनको भित्री देह र मन अनगिन्ती मनोवैज्ञानिक झट्काले थिलथिलो भइसकेको थियो ।

“चोटपटक त केही नि भा’ छैन, सामान्य छ, अलि लछारपछार त भा’ छ !”

यसो भन्दै उनले आफ्नै शरीरतिर नजर घुमाइन् । उनले हेरेको ठाउँमा हामीले कुनै घाउ देखेनौँ, तर हिजो बाढीले हुत्याउँदा र लेदोको ढिस्कोले थिच्दा भित्रैसम्म दबिएको दुखेसोलाई उनी आफ्नै मांसपेसी र सासमा महसुस गरिरहेकी थिइन् कि ?

“आत्तिएको छु …! कसरी बाँचें भन्ने नै थाहा छैन सर !”

त्यो लेदोको महासमुद्रमा निसास्सिएको र मृत्युले नजिकैबाट छोएर गएको त्यो भयानक क्षण सम्झँदा उनको अनुहारमा उम्लेको भावलाई कुनै शब्दले पूर्ण रूपमा समेट्न सक्दैनथ्यो । बाँचेकोमा कुनै हर्ष वा राहत थिएन; केवल एउटा अजीवको विस्मय र जिन्दगीप्रतिको प्रगाढ लाचारी मात्र बाँकी थियो ।

“धेरै पुरिएको चाहिँ मै नै ! मलाई चाहिँ… मेरो चाहिँ म दुख नसकेको रहेछ क्यारे ! मलाई लगेन !”

उनका यी शाब्दिक रेखाहरूभित्र बाँचेको हुनुको कुनै गौरव वा उत्सवको रतिभर आभास थिएन । बरु त्यसको ठीक विपरीत, सबैतिर आफूमात्रै एक्लै बचेकोमा, र जसलाई जोगाउनुपर्थ्यो, ती आफ्नाहरूलाई बचाउन नसकेकोमा भित्रैदेखि गलेको एउटा अथाह पीडा पोखिएको थियो ।

भदैनी थिइन्… अब उनी छैनन् !

विपत्तिले मानिसलाई शारीरिक रूपमा मात्र होइन, तिनका सम्पूर्ण वंशीय सामीप्य र सामाजिक भूगोललाई नै एकैझटकामा शून्यमा परिणत गरिदिन्छ ।

आफ्नो र सन्तानको ज्यान जोगिएको बयान सकिएलगत्तै, उनको आँसु र सुस्केराको दायरा अझ फराकिलो भयो । अब पालो थियो, आफन्त र रगतका नाताहरूले चुकाएको त्यस अकल्पनीय मूल्यको हिसाब गर्ने ।

उनले आफ्ना गुमेका मान्छेहरूको फेहरिस्ता खोल्न थालिन् । स्वर मसिनाे र थरथर भयो, र आँखामा गहिरो शोक छायो ।

“मेरो त आफ्ना आफन्त त जम्मै सखाप भयो नि सर ! मेरी भदैनी थिइन्… अब उनी छैनन् !” यो कुरा भनिरहँदा उनका आँखाहरूले अघिदेखि बगरमा उम्लिरहेको कुनै अज्ञात विन्दुतिर शून्य दृष्टि फ्याँके । कुन्नि उनले त्यो भग्नावशेषको कुन चाहिँ कुनालाई टोलाएर हेरिकी थिइन् । 

 तर त्यही खण्डहर र शोकको मैदानमा एउटा सानो संयोगको रेखा पनि बाँकी रहेछ ।

“मेरो तीनवटा आमाजूहरू चाहिँ जोगिनुभएको छ। भाग्दा-भाग्दै तीन वटा आमाजु कसो-कसो जोगिनुभएछ… अरू त सबै जानुभयो ।”

घरबाट ज्यान बचाएर भाग्ने क्रममा ती आमाजूहरू कसरी जोगिए, उनलाईपत्तो थिएन । कोलाहलको त्यो ताँतीमा को कहाँ छुट्यो, केही यकिन थिएन ।

“अरू त सबै जानुभयो!” भन्दै उनले आफ्नो अनुहारलाई दुवै हातले छोपिन् । भरिएको आँखालाई उनले छोप्न खोजिन् ।

सुक्खा बगरमा हावाको एकझोक्का चल्यो । एउटा चिलाउनेको हरियो पात उनको काखमा आएर थपक्क बस्यो । त्यही पात खसेको रुखमाथि आकाश चिर्दै एउटा सेतो हेलिकोप्टर चर्को आवाज निकाल्दै रसुवाको माख्लो भेगतिर हुइँकियो । सम्भवतः त्यो हेलिकोप्टर राहतका पोका बोकेर कुनै उजाडिएकै बस्तीतर्फ जाँदै थियो, जसको कर्कश कोलाहलले कल्पनाको अनुहारमा फेरि एकपटक त्यो राज्यविहीन मौनतालाई झनै गहिरो बनाइदियो ।

बगरमा घोप्टो परेको स्कुलको पहेँलो गाडी !

बाढीको प्रलय आएको ठ्याक्कै घडी हेरेर बस्ने फुर्सद कसलाई पो हुन्थ्यो र ? तर, उनको अनुमानमा बिहानको साढे नौ बज्दै थियो ।

“अन्दाज चाहिँ साढे नौ बजे बाढी आएको हो, बाबुनानीलाई  स्कुल पठाउनलाई तयारी गर्दै थिएँ ।”

यदि नियमित तालिकाको त्यो चक्र केही मिनेट मात्रै अगाडि सरेको भए, आज उनको काख सधका लागि रित्तिसकेको हुन्थ्यो ।  

“नौ बजेको गाडी भएको भए त मैले मेरो बाबुलाई पनि गुमाउनुपर्थ्यो । तर, गाडी साढे नौ बजेको थियो, साढे नौ बजेको गाडीमा पठाउन बाँकी नै थियो ।”

त्यो वाक्य उच्चारण गर्दै गर्दा उनको दृष्टि घर नजिकैको त्यो उजाड बगरतिर पुग्यो । उनले आफ्नो हात तेर्स्याउँदै बगरको एउटा कुनातिर औंल्याइन्, जहाँ बाढीको लेदो र बालुवामा आधा गाडिएको एउटा स्कुलको गाडी लमतन्न घोप्टो परिरहेको थियो । बालबालिकाको भविष्य र उनीहरूका कलिला सपना बोकेर गुड्ने त्यो पहेँलो सवारी साधन आज जलवायु आतंक प्रहारका कारण बगरमा उल्टो पल्टिएको थियो ।

“एउटा पहेलो गाडी त उ त्यहाँ ढलीराछ, स्कुलको गाडी !”  

यति भनिसकेर उनले बगरको अर्को उजाड कुनामा नजर पुर्‍याइन्, अनि त्यति हेर्दै भनिन्, “बाढीमा स्कुलको विद्यार्थी परेका छन् । विद्यालय जाने समय थियो । कोही हिँडेर कोही गाडीमा थिए । बाटोमा जाँदाजादै बाढीले भेट्यो नि ।”

त्यत्रो बस्तीका मान्छेहरू कहाँ हराए ? कति बिलाए ? 

राज्य कागजी तथ्याङ्कको भारी बोकेर बस्दा, बेत्रावतीको यो खण्डहरले जीवन र मृत्युको बीचमा एउटा निर्मम प्रश्न तेर्स्याइरहेको छ- जब प्रकृतिले बस्तिका बस्ति निलिन्छ, तब राज्य कहाँ हुन्छ ?

हिजोसम्म मानव पदचाप र कलिला बालखहरूको कोलाहलले गुञ्जायमान हुने त्यो बजार आज पूर्ण रूपमा अवाक् र शून्य भएको छ । कल्पनाको दाबी अनुसार, अहिले बेत्रावतीमा ५०-६० जना मान्छेहरू पनि ज्यूँदो वा सुरक्षित रूपमा देखिएका छैनन् । आफ्नै आँखैले हेर्दा पनि मसानघाट बनेको यो बजारमा भेट्न सकिने अरू कोही बाँकी छैन । 

मृत्युको सन्नाटाले पूरापूरी ढाकेको त्यो उजाड बगरको माख्लोपट्टि बसेर उनी शून्यमा कुन्नि कसलाई हो, एउटा ठाडो प्रश्न तेर्स्याउँछिन्, “त्यत्रो बस्तीका मान्छेहरू कहाँ हराए ? कति बिलाए ?”

चारैतिरबाट ओसिएर आएको मौनता बाहेक कतैबाट कुनै जवाफ नफर्केएपछि, उनी आफैँ त्यो कहालीलाग्दो प्रश्नको गह्रुङ्गो भारी बोक्न बाध्य भइन्, “कति मान्छे हराए भनेर म भन्न सक्दिनँ ! अहिलेसम्म त्यति अनुभव गर्न सकिएको छैन !”

हामीले उनलाई राज्यको उपस्थितिबारे सोध्यौँ ।

राज्यको त्यो नाममात्रको उपस्थितिलाई हेर्ने उनको दृष्टिकोणमा गहिरो व्यङ्ग्य, आक्रोश र अविश्वास छताछुल्ल भयो । राहत र उद्धारको सिन्कोसम्म नभाँचिएको यथार्थतर्फ संकेत गर्दै उनले तीतो स्वरमा थपिन्, “राहत उद्धार त छाडिदिनुहोस् सर । कति छन्, कति छैनन् भनेर यहाँ टिप्पणी गर्दै छन् भन्ने कुरा चाहिँ आएको छ । वडाध्यक्ष सरज्यू आएर टिप्पणी गर्दै हुनुहुन्छ रे …!”

त्यो ‘टिप्पणी’ शब्दमाथि उनले दिएको जोड र व्यङ्ग्यले प्रशासनिक लापरबाही, संवेदनहीनता र विपद्माथिको राजनीतिप्रतिको उनको वितृष्णालाई उदाङ्ग पारेको थियो । राज्यतर्फ इङ्गित गर्दै उनले हामीलाई भनिन्, “उहाँहरूले टिप्पणी गर्दै हुनुहुन्छ, अब एक-दुई दिनपछि थाहा होला नि… कति मरे, कति हराए, कति ..!”

उनले आफ्नो वाक्य पूर्ण रूपमा टुङ्ग्याउन पनि पाइनन्, ठीक त्यहीबेला आकाश चिर्दै रसुवातिरबाट एउटा हेलिकोप्टर फेरि विदुरको ब्यारेकतर्फ हानियो । सम्भवतः माथिल्लो भेगमा फसेकाहरूको उद्धारका लागि त्यो यान्त्रिक चील फेरि एकपटक आकाशमा आफ्नो उपस्थिति जनाउँदै थियो ।

तर राज्यको त्यो यान्त्रिक संयन्त्रले अहिलेसम्म यो उजाड बस्तीको धुलो टेकेको थिएन । राहत, उद्धार, सेनिटाइजेसन वा स्वास्थ्य उपचारजस्ता शब्दहरू अहिले उनीजस्ता प्रलयका साक्षीहरूका लागि अर्थहीन भइसकेका छन् ।

“अहिलेम्म केही थाहा छैन ! मेरो अरू आफ्नै आफन्त मान्छेले चाउचाउ, बिस्कुट ल्याएर दिएर खान पाइराखेको छ”, उनले बताइन् ।

बाढीले बगरमा माटो र घर मात्र बगाएको थिएन, संकटमा परेका एक नागरिकप्रति राज्यको हुनुपर्ने न्यूनतम मानवीय उपस्थितिलाई समेत सँगै बगाएर लगेको वेत्रावतीमा प्रष्टै देखिन्थ्यो । 

सुकुम्बासी त भइसकेकी छुँइन कि? खै है… थाहै छैन !

महाप्रलयमा ज्यान जोगिनु नै ठूलो कुरा हो, तर सर्वस्व गुमाउनुको पीडाले उनको गला फेरि अवरुद्ध भयो ।

“केही पनि छैन! मेरो त अलिअलि भएको सुनचाँदी पनि निकाल्न सकिनँ ! अस्ति मात्रै घरखर्चका लागि बैंकबाट निकालेको पैसा पनि झिक्न भ्याइनँ !”

शून्य बगरतर्फ नजर डुलाउँदै उनले भनिन्, “घरको चिनोपातो नै केही छैन ।”

नेपालमा जलवायु परिवर्तन र विपद्का ठूला मञ्चीय बहसहरूबीच, एकै रातमा नागरिकलाई शून्यमा पुर्‍याउने ‘जलवायु सुकुम्बासी’ को यो निर्मम यथार्थप्रति राज्य सधैँ मौन रहँदै आएको छ । र, कल्पनाको त्यो उजाड अनुहारले राज्यको यही घोर उदासीनतालाई छताछुल्ल पारेको थियो ।

“त्यत्रा-त्यत्रा बिल्डिङ घर जम्मै गयो ! अब के गर्ने? यति नै रहेछ ! अब म त सुकुम्बासी जस्तै !”

त्यो तीतो यथार्थसँगै उनको ओठमा प्रकट भएको सुक्खा र अर्थहीन हाँसो क्षणभरमै हरायो ।

“सुकुम्बासी त भइसकेकी छुँइन कि ? खै है… थाहै छैन !”

त्यसपछि उनले लामो, भारी श्वास फेरिन् र नाक छाम्तै एकनाशले बगरतिरै टोलाइरहिन् ।

त्यो लाचार शून्यतामा उनी साँच्चै के सोचिरहेकी थिइन् ? के उनी भग्नावशेषको लेदोमुनि पुरिएको आफ्नो विगत र रगतपसिनाले जोडेको घरको कुनाकाप्चा खोज्दै थिइन् ? वा, एकैक्षणमा प्रलयकारी बाढीले उनलाई ‘सुकुम्बासी’ को यो कठोर संज्ञामा थुपार्दिँदाको तीतो शंसयसँग जुधिरहेकी थिइन् ?

सम्भवतः ती सबैभन्दा पर, घटनास्थलबाट गयल भएका तिनै शासकहरूले सामाजिक सञ्जालमा ‘राज्य पूर्ण रूपमा उपस्थित छ’ भन्दै फैलाएका सफेद झूट र डिजिटल नाटकबाजीप्रति उनको मनमा उर्लिएको अथाह वितृष्णाबारे उनी सोचिरहेकी थिइन् ।

अगाडि त्यसरी  फुकिदिएको भए कति मान्छे बाँच्थे !

हामीले अन्त्यमा एउटा जिज्ञासा  राख्यौं -पूर्वसूचनाको पाटोमा । 

पूर्वसूचना प्राप्त भएन ? कसैले केही खबर गर्दिएनन् ? सुरक्षित रहनुस् भनेर माइकिङ …?” 

हाम्रो प्रश्न पूरा हुन नपाउँदै उनको आफैँभित्र गुम्सिएर बसेको आक्रोश विस्फोट भयो, “पछि चाहिँ… पछि चाहिँ अब जे हुनु भइसक्यो, अनि पारि तुप्सेबाट आवाज आएको थियो ! त्यहाँ छेउछाउमा नबस्नु, माथिबाट अझै ठूलो जोखिम हुँदै छ, आउँदै छ, ठूलो सुनामीहरू आउँदै छ भनेर ..!”

बजार उजाडिएर सर्वस्व बिलाइसकेपछि गरिएको त्यो सतर्कताको कोलाहलको अर्थ नै के हुन्थ्यो र ! यदि त्यही जीवन बचाइदिने सूचना आधा वा एक घण्टा पहिले नै दिइएको भए  कतिपयका प्राण जोगिन सक्थे भन्ने छटपटी उनको छातीभित्र दन्किरहेको रहेछ :

“अगाडि नै हामीलाई त्यसरी माइकबाट फुकिदिएको भए त सबैले थाहा पाउथ्यो नि त ! कति मान्छे बाँच्न सफल हुन्थ्यो ! तर …”

यसो भनिरहँदा उनको स्वरमा एकाएक आक्रोशित भयो । त्यो आक्रोश कुनै साधारण गुनासो थिएन, बरु  संवेदनहीन प्रशासनिक संयन्त्रप्रतिको ज्वलनशील असन्तुष्टि थियो । 

उनको आवाजको उचाइ अझै बढ्यो । उनी भन्दै गईन्, “अब डाइरेक्ट चौकीमा फोन आउनेलाई ! अब डाइरेक्ट फोन आउनेलाई ! अब चलाख, अलि बाठोठाठो बाँच्न सफल भयो, भाग्न सफल भयो ! गाडी चढेर यता गाउँगाउँमा उकाल्ने काम पनि गरे ! तर, हामीले बुढाबुढी मान्छेहरूलाई निकाल्न पाएनौँ ! अलिअलि भएको धानचामलहरू निकाल्न पाएनौँ !” 

घरभित्र पसिना बगाएर जोहो गरेर राखिएको अन्न र सम्पत्तिको माया त आफ्नो ठाउँमा छँदै थियो, तर त्योभन्दा धेरै गुणा बढी पीडा उनलाई सूचनाको त्यो वर्गीय र पहुँचवाला विभेदले पोलिरहेको रहेछ । उनी आफ्नो स्वरलाई  अझ उचो पार्दै प्रश्न गर्छिन्, “रासनपानीहरू त थियो नि टन्नै घरमा ! निकाल्न पाउथ्यो, भ्याउथ्यो नि ! …अलिअलि भएको धनसम्पत्तिहरू निकाल्न पाउथ्यो !” 

सूचना वितरणमा  भएको त्यो घोर विभेद र लापरबाहीबारे उनी अझ मुखाग्र भइन् ।  महिलाहरू घरभित्रको चौघेरा, चुलोचौको र धन्दामा व्यस्त रहने नेपाली समाजको यो नग्न यथार्थलाई औंल्याउँदै उनले सीधै प्रहार गरिन्, “मुखले भनेर हिँडेर थाहा पाउँछ त हामीले ? हामी अब छोरी-बुहारी मान्छे, घरभित्र धन्दामा हुन्छौँ ! अनि आफैंले मात्रै सुन्ने गरेर भनेर हुन्छ ? निस्कनु नै पर्छ भनेर बाध्यकारी रुपमा भनिएन । …कतिपय मान्छे खेलसाँची सोच्यो, पोहोर-परार आएको जस्तै सामान्य होला भनेर ज्यान गुमाउनु पर्यो !”

आक्रोश र रोष पोखेर जब उनले आफ्ना शब्दहरू थकाई मारिन्, तब उनको मुहार फेरि एकपटक अनन्त शून्यताको गहिराइमा खस्यो।  लामो, थकित सास फेर्दै निकै मधुरो  स्वरमा भनिन्- “धेरै मान्छे परेको छ यसपालि! सानोतिनो घटना होइन के यो!”

सूचना जब संकट टरिसकेपछि र पहुँचवालाहरूको मात्र कानमा पुग्छ, तब त्यो पूर्वचेतावनी नभई केवल एउटा प्रशासनिक औपचारिकता मात्रै बन्दो रहेछ भन्ने कुरा उनले बताईसकेपछि हामी उनीसहित स्थानीयसँग बिदावारी भएर तल बगरतर्फ झर्यौं ।

हुप्प गर्मीमा भग्नावशेषबाट आइरहेको दुर्गन्धले वातावरण अझ भारी बनाएको थियो । त्यही मसानघाट बनेको उजाड बगरतर्फ झर्दै गर्दा कसैले आवाज सुनियो, “यो हेलिकोप्टरले पनि हामीलाई देखेन। खै छोड… अब हामी आफैँ लास झिक्यौँ  !”

[क्रमश…]

सम्बन्धित खबर

सिफारिस