
काठमाडौँ । चीन सरकारले नेपालमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि ५० टन आपत्कालीन राहत सामग्रीसहित चार जना सुरुङ उद्धार विशेषज्ञ नेपाल पठाएको छ।
चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई-२० ठूला ट्रान्सपोर्ट विमानमार्फत आइतबार बिहान राहत सामग्री तथा उद्धार विशेषज्ञ काठमाडौँ आइपुगेका हुन्।
काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार विमानमार्फत आपत्कालीन राहत सामग्रीका साथै आवश्यक उद्धार उपकरणसहित चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ नेपाल आएका छन्।
चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका दुई विमान करिब तीन घण्टाको उडानपछि काठमाडौँ आइपुगेका हुन्। विमानमार्फत कुल ५० टन बराबरका १३ हजार २०० थान आपत्कालीन राहत सामग्री ल्याइएको दूतावासले जनाएको छ।
राहत सामग्रीमा त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड तथा बिस्कुट र प्राथमिक उपचार किट रहेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित समारोहबीच उक्त राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। समारोहमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ तथा प्रतिनिधिसभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो।
सो अवसरमा नेपाल आइपुगेका चिनियाँ उद्धार विशेषज्ञ टोलीलाई पनि स्वागत गरिएको थियो।
नेपाल–चीन सीमा क्षेत्रलगायत देशका विभिन्न भागमा आएको विनाशकारी बाढी र पहिरोपछि भइरहेको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले चीनले आपत्कालीन राहत सामग्री र विशेषज्ञ टोली पठाएको हो।