भारतबाट चौथो चरणको राहत सामग्रीसहित प्राविधिक टोली नेपाल आइपुग्यो

दियोपोस्ट संवाददाता

काठमाडौँ । भारतले विपद् प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यका लागि चौथो चरणको राहत सामग्री र प्राविधिक टोली नेपाल पठाएको छ । भारत सरकारले पठाएको ११ टन राहत सामग्री तथा प्राविधिक टोलीसहितको चौथो विमान आइतबार बिहान नेपालतर्फ प्रस्थान गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

भारतीय विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत नेपालको राहत तथा उद्धार प्रयासमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धतासमेत जनाएको छ।

भारतीय वायुसेनाको सी-१३० विमानमार्फत विपद् व्यवस्थापन तथा खोजी-उद्धार कार्यका लागि आवश्यक उपकरणसहित सुरुङ (टनेल) सम्बन्धी प्राविधिक टोली पनि नेपाल आइपुगेको छ।

नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारतले राहत सामग्री र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ।