भोटेकोशी बाढीमा प्रहरी तथ्यांक : ४ हजार ४७२ जना सम्पर्कविहीनको सूचीमा

दियोपोस्ट संवाददाता

काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको बाढीमा परेर सम्पर्कविहीन भएका व्यक्तिहरूको यकिन सङ्ख्या अझै खुलेको छैन । नेपाल र चीनको तिब्बत क्षेत्रमा समेत ठुलो जनधनको क्षति हुँदा सम्पर्कविहीनको सङ्ख्या कति हो भन्ने स्पष्ट जानकारी नै छैन ।

यद्यपि नेपाल प्रहरीले भने आफ्नो युनिटहरूबाट प्राप्त विवरणलाई अद्यावधिक गर्दै बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको नामसहितको सूची संकलन गरिरहेको जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अबि नारायण काफ्लेका अनुसार हालसम्म प्रहरीको रेकर्डमा रहेका सम्पर्कविहीनहरूको सङ्ख्या ४ हजार ४७२ जना रहेको छ । काफ्लेका अनुसार हालसम्म सम्पर्कविहीन रहेकाहरूमा नेपालीको सङ्ख्या ३ हजार ६९९ जना र विदेशीको सङ्ख्या ७८८ जना रहेको छ ।

प्रवक्ता काफ्लेका अनुसार उनीहरू सम्पर्कविहीन भए पनि बाढीमै परेको भन्न भने सकिँदिन । किनभने कतिपय व्यक्तिहरू मोबाइलको चार्ज सकिएर वा नेटवर्कभन्दा बाहिर भएका कारण पनि सम्पर्कमा आउन नसकेको पनि हुनसक्ने काफ्लेले बताए ।

काफ्लेका अनुसार आइतबार बिहान ११ बजेसम्मको अपडेट अनुसार हालसम्म ७३५ जनाको शव भेटिएको छ । भेटिएका शवहरू मिसिङ अर्थात् सम्पर्कविहीनहरू मध्येबाटै रहेको छ । त्यस कारण भोटेकोशीका आएको बाढीका कारण कति व्यक्तिको सम्पर्क टुटायो वा को कहाँ छन् यकिन तथ्यांक भने आइसकेको छैन । यद्यपि नेपाल प्रहरीले त्यो तथ्यांक भने राखिरहेको छ ।

पहिले सम्पर्कविहीन भएका कतिपय व्यक्तिहरू भने पछि सम्पर्कमा समेत आएका छन् । ट्रेकिङ गएका नेपाली तथा विदेशी नागरिकहरू, गोसाईंकुण्ड गएका केही नेपाली तथा भारतीय नागरिकहरू पनि सम्पर्कमा आएका छन् । तर उनीहरूको परिवारको तर्फबाट सम्पर्कविहीनपछि सम्पर्कमा आएको जानकारी प्राप्त नभएको समेत हुनसक्ने प्रहरीको भनाइ छ ।

भोटेकोशीमा ठुलो बाढी आएपछि यहाँका भौतिक पूर्वाधार, विद्युत्, इन्टरनेट र मोबाइल नेटवर्क लगायतमा समस्या देखिएको थियो । त्यसपछि सम्पर्क हुन नसकेका केही व्यक्तिहरू बिस्तारै सम्पर्कमा आइपुगेका छन् ।

यता सरकारी संस्था नै रहेको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने सम्पर्कविहीनहरूको सङ्ख्या प्रहरीको भन्दा कम देखाएको छ । प्राधिकरणले यो समाचार तयार पार्दासम्म (भदौ १४ गते अपराह्न १:३० बजे) २ हजार ४९८ जना मात्रै सम्पर्कविहीनको सूचीमा रहेको जनाएको छ ।