नवलपुरमा बस र ट्रक ठोक्किँदा ३२ जना घाइते

दियोपोस्ट संवाददाता

कावासोती । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका-१६ डण्डामा बस र ट्रक आपसमा ठोक्किँदा ३२ जना घाइते भएका छन् । वीरगञ्जबाट बुटवलतर्फ जाँदै गरेको न.८ ख ६१४५ नम्बरको फलामको पाइप लोड गरिएको ट्रक राजमार्गमा खाना खान रोकिराखेको अवस्थामा काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख ०३८६ नम्बरको बस ओभरटेक गर्ने क्रममा ट्रकको पछाडिपट्टि ठोक्किएको हो ।

प्रहरीका अनुसार बसमा सवार ३८ जना मध्ये ३२ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए । घाइतेमध्ये रिता गन्दर्भ र तिलक परियारलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसका चालक सल्यान कालीमाटी गाउँपालिका-६ का २७ वर्षीय तुलाराम थापा मगर र सहचालक बर्दिया बाँसगढी नगरपालिका-६ का २३ वर्षीय अनिष गुरुङ घाइते भएका छन् ।

त्यस्तै, रुकुमपूर्वकी ३६ वर्षीया ममता परियार, सुर्खेत वीरेन्द्रनगर-५ की ३३ वर्षीया रिता गन्दर्भ, बाँके कोहलपुर-११ की ३९ वर्षीया श्यामु विक, अछाम पञ्चदेवल नगरपालिका-८ का २६ वर्षीय बिनोद नेपाली, बर्दिया राजापुर-७ का २२ वर्षीय निरज थारु, बाँके बैजनाथ-३ का १९ वर्षीय करण सिंह ठकुरी, जुम्ला कनकासुन्दरी-५ का २८ वर्षीय महेन्द्र कडरा, सुर्खेत वीरेन्द्रनगर-५ की २९ वर्षीया सपना बैदार र पश्चिम रुकुम चौरजहारी नगरपालिका-११ का ३७ वर्षीय तिलक परियार पनि घाइते भएका छन् ।

घाइते हुने अन्यमा कालिकोट खाडाचक्र नगरपालिका-१ का ३२ वर्षीय लक्ष्मण परियार, बर्दिया बाँसगढी-१ की २३ वर्षीया अमृता परियार, बारबर्दिया नगरपालिका-१ का ३३ वर्षीय राजकुमार चौधरी, २७ वर्षीय दिनेशकुमार थारु, २५ वर्षीय छबिलाल चौधरी, ३२ वर्षीय सन्तोष थारु, बाँके बैजनाथ गाउँपालिका-३ की २० वर्षीया तुलसी सिंह ठकुरी, बर्दिया बारबर्दिया-१ की ३२ वर्षीया रुनकुमार चौधरी, ३३ वर्षीय रामगोपाल थारु, ३० वर्षीय राकेश चौधरी, ३३ वर्षीय रामकृष्ण चौधरी, २५ वर्षीय कृष्णप्रसाद चौधरी, ३८ वर्षीय मरिचमान थारु, ४२ वर्षीय पूर्णराम थारु र ३३ वर्षीय लहान थारु रहेका छन् ।

यस्तै, सल्यान कालीमाटी गाउँपालिका-५ काल्चेका २८ वर्षीय कुमबहादुर घर्तीमगर, ३८ वर्षीय मणिराम थारु, २४ वर्षीय नरेश थारु, २९ वर्षीय श्रीराम चौधरी, ३५ वर्षीय करण थारु र बाँके कोहलपुरका २१ वर्षीय नवीन शर्मा पनि घाइते भएका छन् ।

दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक बारा निजगढ नगरपालिका-११ का २५ वर्षीय अभिषेक कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस चालक उपचारपछि डिस्चार्ज भएकाले उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक पण्डितले जानकारी दिए ।