पद्म ज्योति ग्रुपद्वारा बाढीपहिरो पीडितका लागि एक करोड रुपैयाँ सहयोग

दियोपोस्ट संवाददाता

काठमाडौँ । पद्म ज्योति ग्रुपले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवार र समुदायको राहत तथा पुनर्स्थापनाका लागि एक करोड रुपैयाँ सहयोग गरेको छ ।

प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको कम्पनीले जनाएको छ।

विपद्पछि राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सरकार र विभिन्न सरोकारवाला निकायबाट भइरहेका प्रयासमा सबै क्षेत्रबीच सहकार्य आवश्यक रहेको कम्पनीले औँल्याएको छ । साथै प्रभावित समुदायलाई सामान्य जीवनमा फर्काउन सामूहिक प्रयासको महत्त्वपूर्ण भूमिका रहनेमा पनि कम्पनीले जोड दिएको छ।