धादिङ प्रहरीद्वारा बालुवा तस्करीमा संलग्न रुद्र बहादुर गिरी पक्राउ

दियोपोस्ट संवाददाता

धादिङ, १२ साउन । धादिङको सिद्धलेक गाउँपालिकामा अवैध रुपमा बालुवा उत्खनन् तथा तस्करी गर्दै आएका नेपाली कांग्रेस निकट तरुण दलका कार्यवाहक क्षेत्रीय सभापति रुद्र बहादुर गिरी पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको हो ।

गिरीले सिद्दलेक गाउँपालिकाका अध्यक्ष पर्शुराम खतिवडामाथि पार्टी कार्यालयमै कुटपिट तथा अभद्र व्यवहार गरी फरार रहेको भन्दै प्रहरीका जाहेरी समेत परेको थियो ।
अवैध बालुवा चोरी–निकासीमा गाउँपालिकाले अवरोध पु¥याएको र अदालतको फैसला अनुसार बाटो निर्माण गर्दा आफूले हडपेको जग्गा परेको निहुँमा गिरीले गत असार ३२ गते बुङचुङस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा बैठक बसिरहेको अवस्थामै अध्यक्ष खतिवडामाथि मुक्का तथा थप्पड प्रहार गरी फरार भएका थिए ।

सोमबार (साउन १२ गते) पार्टी बैठक राखेर घटना सामसुम पार्ने प्रयत्न गरिए पनि कांग्रेस सिद्दलेकका सभापति रामशरण गिरीले आफ्नै उपस्थितिमा जनप्रतिनिधिमाथि हातपात भएको र पार्टीले कारबाहीको सिफारिस गरिसकेकाले मिलापत्र गराउन नसकिने स्पष्ट पारेका थिए।

सभापति गिरीले अडान लिएपछि असन्तुष्ट बनेका नेता कृष्ण रिजालका केही आसेपासेहरूले पार्टी सभापति रामशरण गिरीमाथि नै हातपातको प्रयास गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
स्थानीयका अनुसार पटके गुण्डाका रूपमा चिनिएका गिरीलाई नेता कृष्ण रिजालको संरक्षण रहँदै आएको छ । रिजालको हाइवे भ्रमण खर्च र खानपिनको बिलसमेत भुक्तानी गर्दै आएका गिरीले सोही शक्तिको आडमा यसअघि पाँच जनाभन्दा बढी मानिसलाई कुटपिट गर्दा समेत कारबाहीबाट बच्दै आएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अधिवेशन सकेर काठमाडौँ फर्किने क्रममा नेपाली कांग्रेसका सभापति गगन थापालाई समेत कृष्ण रिजालको निर्देशनमा जरेखेतमा खानपिनको व्यवस्था मिलाइएको र महामन्त्री थापासँग खिचिएका तस्बिर र पहुँचलाई देखाएर गिरीले गाउँमा त्रास फैलाउने काम गरेको स्थानीयको आरोप छ । रिजालको यस्तै गलत रवैयाका कारण महामन्त्री थापाको समेत नाम अनावश्यक विवादमा तानिएको छ।

’विशाल एण्ड भवानी’ नामक फर्म दर्ता गरेर अवैध बालुवा वासिङ मेसिन सञ्चालन गर्दै आएका गिरीले सगुन कन्स्ट्रक्सनका कर्मचारी ज्ञानेन्द्र नामक व्यक्तिलाई आर्थिक प्रभावमा पारी सगुनको सिफारिस भन्दै गाउँपालिकामा व्यवसाय दर्ता नै नगरी विद्युत् लाइन जडान गराएको खुलेको छ । जिल्ला समन्वय समितिका प्रमुख कुलमान पविश्वकर्माले गैरकानुनी रुपमा विद्युत जडाका लागि पत्राचार गरेको समेत पाइएको छ ।

 

सम्बन्धित खबर

सिफारिस