इन्डोनेशिया । गत महिना जारी चुनावी अभियानका लागि ४७ वर्षीय इर्फिन डेवी सुदान्तोले आफ्नो किड्नी बेच्ने प्रयास गरे । किड्नी बेचेर २० हजार अमेरिकी डलर अर्थात् झन्डै २ करोड ६५ लाख ४ हजार नेपाली रुपैया बराबरको रकम आफ्नो राजनैतिक दलको चुनावी अभियानको लागि जुटाउने सुदान्तोको आशा थियो ।
‘मैले यत्तिकै भनेको होइन । साँच्चै भनेको, अब मसँग एक रुपैया पनि छैन, सम्पती पनि छैन । आफ्नो चुनावी अभियानको लागि किड्नी बेच्नेबाहेक मसँग अरु विकल्प पनि छैन’ इन्डोनेसियाली प्रान्त पुर्वी जाभास्थित बन्यावाङ्गीमा नेसनल म्यान्डेट पार्टीबाट उठेका उम्मेद्धार सुदान्तोले अलजजिरासँग भनेका छन् ।
इन्डोनेसियाको क्षेत्रिय विधान परिषद्को निर्वाचन बुधबार अर्थात् फेब्रुअरी १४ मा हुदैछ । बुधबारको चुनावका लागि हजारौंले उम्मेद्धारी दिएका छन् । राजनैतिक दलहरुले आफ्ना उम्मेद्धारहरुको लागि खाने बस्नेलगाएत अन्य केहि खर्चको व्यवस्था उपलब्ध गराएका छन् । यद्यपि, अधिकांश उम्मेद्धारलाई चुनावी अभियानमा लाग्ने खर्च जुटाउनै मुस्किल छ । खाने बस्नेबाहेक भाषण, सभा सम्मेलन, अभियानको लागि चाहिने टिसर्ट र मतदान किन्ने खर्चको व्यवस्था भने उम्मेद्धार स्वयम्ले नै बेहोर्नुपर्छ ।
उम्मेद्धारहरु दुई महिना अघिदेखि नै चुनावी अभियानको दौडमा छन् । यस वर्ष अघिल्ला वर्षहरुको तुलनामा इन्डोनेसियाको चुनावी अभियानको खर्च निकै बढ्ने अनुमान गरिएको छ । सुदान्ताले आफ्नो चुनावी खर्च ५० हजार अमेरिकी डलर (६ करोड ६३ लाख बढी)को अनुमान गरेका छन् । तर त्यो सबै रकम भोट किन्नका लागि खर्च हुने उनको अनुमान छ ।
इन्डोनेसियाको कानुनअनुसार भोट किन्नु अवैध हो । भोट किनेवापत झन्डै ३ हजार डलर (झन्डै ४ लाख)सम्म जरिवाना र ३ वर्षसम्म जेल सजाय हुन्छ । तर, भोट किन्ने अभ्यास भने भित्रभित्रै चलिरहन्छ । ‘व्यक्तिगत रुपमा म भोट किन्न चाहन्न तर यो हाम्रो समाजमा जरो काडेर बसेको छ । कम्तीमा एक भोटको लागि ५० हजारदेखि १ लाख (३ देखि ७ डलर) इन्डोनेसियाली रुपियाँसम्म तिर्नैपर्छ’ सुदान्तोले भनेका छन्, ‘सम्बन्धित निकायका अधिकारीहरुले निगरानी नगर्दा भोट किन्ने चलन जारी छ । मैले पनि त्यहि मौका छोपेको हुँ ।’
इन्डिकेटर पोलिटिक इन्डोनेसियाका कार्यकारी निर्देशक एवम् मुख्य शोधकर्ता बुर्हानुद्दिन मुहताडीले आफ्नो खोजको आधारमा अलजजिरासँग भनेका छन्, ‘कम्तीमा एक तिहाई इन्डोनेसियाली मतदाताहरु मतदान गरेवापत् नगद, चामल, खानेतेल, अण्डा र ग्यासलगायत सामग्रीहरु पउने गर्छन् ।’
बुर्हानुद्दिनले सन् २०१४ र सन् २०१९ को चुनावी अभियानको समयमा भोट किनबेच सम्बन्धी देशव्यापी सर्वेक्षण गरेका थिए । जसमध्ये सन् २०१९ को चुनावमा कैयौ संख्यामा मतदाताहरु भोट बेचेर प्रभावित बनेका थिए । उक्त समयमा १९ करोड २० लाख मतदातामध्ये ६ करोड ३५ लाख बढि मतदाताले आफ्नो भोट बेचेका थिए ।
‘भोट किनबेचको प्रचलन देशैभर छ । विधायक उम्मेद्धारको लागि प्रति भोट औसत ४ डलरसम्म छ । कतिपय स्थानमा त झन एक भोट बराबर १५० डलरसम्म पनि तिर्नुपर्ने हुन्छ’ बुर्हानुद्दिनले भनेका छन्, ‘फलस्वरुप, बाक्लो जनघनत्व भएका जाभा टापुजस्ता क्षेत्रका विभिन्न पार्टीको तर्फबाट उठेका उम्मेद्धारहरुले भोट किन्नकै लागि झन्डै ६ लाख ८३ हजार डलर (९ करोडबढी नेपाली रुपैया)सम्म जुटाउनुपर्छ ।’ चुनावी अभियानको क्रममा सबैभन्दा बढि खर्च गर्ने मुलुकमा इन्डोनेसिया संसारकै तेस्रो मुलुकमा पर्ने गर्छ । जसमा पहिलो स्थानमा अफ्रिकी मुलुक युगान्डा पर्छ भने दोस्रोमा बेनिन पर्ने गर्छ ।
जसो तसो जित्नैपर्ने
सन् २०१९ को चुनावमा गोलकर पार्टीको तर्फबाट उठेका ३६ वर्षीय विधायक उम्मेद्धार रियान अर्नेस्ट तनुदजाजाले आफ्नो चुनावी अभियानको क्रममा ८३ हजार डलर खर्च गरे । जसरी पनि चुनाव जित्नकै लागि आफुले त्यत्रो रहक खर्चेको तनुदजाजाले अलजजिरासँग बताएका छन् । ‘घरदैलो अभियानको लागि मलाई त्यत्रो बजेट आवश्यक थियो । जुन रकम स्वयम्सेवकको भत्ता, घोषणापत्र छाप्नमा खर्च भएको थियो’ उनले भनेका छन्, ‘किनकी मलाई जसरी पनि चुनाव जित्नैपर्ने थियो ।’
तनुदजाजा भोट किनेर चुनाव जित्ने प्रणालीको विरोधी हुन् । भोट किन्न नगद तथा अन्य सामग्री किन्नेलाई जनताले भोट हाल्न नहुने उनले बताएका छन् । कतिपय इन्डोनेसियाली जनताका लागि चुनाव पैसा कमाउने बाटो हुने गरेकोसमेत उनले बताएका छन् ।
(अल्जजिराका लागि फेब्रियाना फिर्दौसले तयार पारेको रिपोर्टबाट दियो पोष्टका लागि अनुवादित अंश ।)