काठमाडौं । विगतका वर्षहरुमा वायु प्रदुषणले यतिबेलासम्म काठमाडौ उपत्यकाको आकाश र वरपरको वातावरण धुम्म बनेको देखिन्थ्यो । प्रदुषणका कारण काठमाडौको वातावरण उकुसमुकुस बनेको हुन्थ्यो ।
वायु प्रदुषणबाट बच्न विद्यालयहरु बन्द भैसकेका हुन्थे भने वातावरण विभागले बृद्ध र बालबालिका घरबाहिर ननिस्कन सूचित गरिसकेको हुन्थ्यो । तर यस वर्ष भने काठमाडौ शहरको वायु गुणस्तर विगतका वर्षहरुको तुलनामा रुपमा सुधारोन्मुख देखिएको छ ।
प्रदुषणबाट बच्न मास्क लगाएर हिड्नुपर्ने अवस्थामा कमी आएको छ । वरपरका डाँडाकाँडा र आकाशमा उडिरहेका हवाईजहाज स्पष्ट देख्न सकिन्छ । वातावरण विभागका अनुसार यस वर्ष कात्तिक, मंसिर, पुष र माघ महिनाको वायु गुणस्तर देशैभर सामान्य र मध्यम खालको देखिएको छ । यद्यपि, फागुन पहिलो शातादेखि भने वायु गुणस्तर हल्का अस्वस्थ देखिएको विभागले जनाएको छ ।
विभागअन्र्तगत वायु गुणस्तर मापन एयर क्वालिटी इन्डेक्स (एक्युआई)को विगत एक हप्ताको वायु गुणस्तर विश्लेषण गर्दा काठमाडौ उपत्यकामा वायुको स्तर माघ २८ गते सबैभन्दा राम्रो थियो । काठमाडौमा विगत एक हप्ताको वायु गुणस्तर मध्यमखालको रहेको थियो । विगत २४ घण्टाको एक्युआई भने अस्वस्थ रहेको वातावरण विभागको वायु गुणस्तर निरिक्षणको पोर्टलले देखाउछ । जसमा काठमाडौको एक्युआई १५५ रहेको छ । भक्तपुरको एक्युआई ७६ रहेको छ भने ललितपुरको १४५ रहेको छ ।
वायु मापदण्डअनुसार एक्युआई ५० सम्म हुनु राम्रो मानिन्छ भने ५० देखि १०० सम्मलाई मध्यम मानिन्छ । एक्युआई १५० देखि २०० सम्मलाई अस्वस्थ मानिन्छ । एक्युआई ३०० पुग्नुलाई जोखिमपुर्ण मानिन्छ भने ३०० भन्दा माथि जानुलाई प्राणघातक मानिन्छ ।
उद्योगधन्दा र निर्माण कार्यमा कमी हुदा प्रदुषण घटेको अनुमान !
विगतका वर्षहरुमा देशभरका विभिन्न वनजंगलमा लागेको डढेलो, उद्योगधन्दा सञ्चालन र पुर्वाधार निर्माण कार्यलाई विज्ञहरुले वायु प्रदुषणको मुख्य कारण मान्दै आएका छन् । यस वर्ष भने आर्थिक गतिविधिमा भएको सुस्त गतिले वायु प्रदुषणमा सुधार आएको हुनसक्ने वातावरण विभागका वातावरण निरिक्षक गोविन्द प्रसाद लामिछानेको अनुमान छ । ‘विगतका वर्षहरुको तुलनामा यस वर्ष आर्थिक गतिविधिमा सुस्त गतिले जस्तै इटाभट्टाहरु पनि माघ १ गतेदेखि मात्र सञ्चालनमा आएका छन्, पुर्वाधार निर्माणका कार्यहरु पनि तुलनात्मक रुपमा घटेको देखिन्छ’ दियोपोष्टसँग उनले भने, ‘साथै देशभरका वनजंगलहरुमा डढेलो लाग्ने मौसम सुरु भइसकेको छैन । त्यसैले यस वर्ष विगतका वर्षहरुको तुलनामा वायु गुणस्तरमा उल्लेखनिय सुधार आएको हुन सक्ने मेरो अनुमान छ । यिनै कारण यस वर्ष वायु गुणस्तरमा सुधार आएको हो या हैन भन्नेबारे पुष्टि भने भएको छैन ।’
तत्काल वायु गुणस्तरमा सुधार देखिएपनि आगामी दिनमा यहि हुन सक्ने आँकलन भने गर्न नसकिने समेत वायु निरिक्षक पोखरेलले बताए । ‘विगतका वर्षहरुको तुलनामा यस वर्ष हालसम्म वायु गुणस्तर राम्रो छ । तर आगामी दिनमा यस्तै पनि अहिलेजस्तै वातावरण सफा होला भन्न सकिदैन’ उनले भने, ‘किनभने डढेलो लाग्ने मौसम अझै आउन बाँकी छ । चैतदेखि असारसम्म डढेलोको जोखिम उच्च रहन्छ । यो वर्ष हिउदे वर्षासमेत भएको छैन । सुख्यायाममा डढेलो स्केकोलाग्न सक्छ र त्यसबाट नि धुँवाले विगतमाझै वायु प्रदुषण नहोला भन्न सकिन्न ।’
वातावरण विभागले हरेक वर्ष वायु गुणस्तरको रिपोर्ट वर्षको अन्त्यमा सार्बजनिक गर्ने गर्छ । गत वर्ष (सन् २०२३ ) को वायु गुणस्तर विश्लेषण र सार्बजनिक गर्ने तयारी विभागले गरिरहेको छ । उक्त विश्लेषणपछि मात्र कुन वर्ष वायु गुणस्तर खराब या राम्रो रहेको थियो भन्नेबारे प्रष्ट पार्न सकिने विभागले जनाएको छ ।
वायुमण्डलमा रहेको हावामा विभिन्न रसायनिक पदार्थ, धुवाँ, धुलो आदि मिसिदा हावा प्रदुषित बन्छ । प्रदुषित हावा मानव स्वास्थ्यका लागि घातक मानिन्छ । विगतका वर्षहरुमा नेपालको काठमाडौ उपत्यकाका तिनवटै जिल्ला, पोखरा, भरतपुर, वीरगन्ज र धनगढी लगायत क्षेत्रमा वायु प्रदुषणको मात्रा घातक अवस्थामा पुगेको थियो ।
सबैभन्दा प्रदुषित शहरमध्ये काठमाडौ पनि पर्ने गरेको छ । गत वर्ष विश्वकै चौथो प्रदुषित शहरमा काठमाडौ परेको थियो । भारतको दिल्ली र मुम्बई, पाकिस्तानको लाहोर र कराची, बंगलादेशको ढाका, चीनको बेइजिङ र भियतनामको हनोई शहर सबैभन्दा प्रदुषित शहरमध्येमा पर्ने गर्छन् ।