काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिका प्रसाद भट्ट नियुक्त भएका छन् ।
आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले भट्टलाई निगमको कार्यकारी निर्देनमा नियुक्त गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको समितिले कार्ययोजना र अन्तरवार्तपछि भट्टसहित डोलप्रसाद चापागाईं र शत्रुघ्नप्रसाद पुडासैनीको नाम सिफारिस गरेको थियो ।
यसअघि नै भट्टले आयल निगमको कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका छन् । सरकारी सेवामा सहसचिव पदमा कार्यरत भट्ट दोस्रो पटक नियुक्त भएका हुन् । भट्टको कार्यकालमा २०७१ असोज १३ गतेदेखि अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको थियो ।
आयल निगमका तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदावधि बाँकी छँदै पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा पदपूर्तिका लागि आह्वान गरिएको थियो । मन्त्रालयले गत पुस १३ गते निर्देशक नियुक्ति प्रक्रिया अघि बढाएको थियो । १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै भट्ट छनोटमा परेका हुन् ।