काठमाडौं । काठमाडौंको प्रहरी प्रभाग, बलम्बुका इन्स्पेक्टर राजन श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको छ। उनले आइतबार कार्यालयभित्रै गोली चलाउँदा गोली लागेर प्रहरी जवान घाइते भएपछि उनलाई जिम्मेवारीबाट हाटाइएको हो ।
इन्स्पेक्टर श्रेष्ठले राम्रोसँग पेस्तोल ‘ह्यान्डल’ गर्न नसक्दा ‘फायर’ भएको हो। घटनाको विषयमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डिएसपी गंगा पौडेलको नेतृत्वमा छानबिन समिति गठन भएको छ।
गोली जवानको खुट्टामा लागेको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। गोलीको झर्राले एक सेवाग्राहीकै औँलामा पनि चोट लागेको छ।
यसरी चल्यो गोली
इन्स्पेक्टर श्रेष्ठ हिजो बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म माइतीघर मण्डलामा ड्युटीमा थिए। ड्युटी सकिएपछि उनी आफ्नो कार्यालय प्रभाग बलम्बुमा फर्किएका थिए। ड्युटीबाट फर्किएपछि आफ्नो साथमा रहेको टाइप ५४ पेस्तोल कार्यालयको जिन्सी शाखामा बुझाएका थिए।
उक्त हतियार (पेस्तोल) पुरानो मोडलको भएकाले अर्को टाइपको कुनै छोटो हतियार छ भने ल्याउनु भनी इन्स्पेक्टर श्रेष्ठले मागेका थिए। त्यसपछि जिन्सी शाखाले जिन्सी आम्दानी खातामा बाँधिएको सिएफ–९८ नं ००१२७४०८२३६ पेस्तोल र सोही पेस्तोलको १५ राउण्ड गोली लोड भएको १ थान म्यागजिन सहितको पेस्तोल इन्स्पेक्टर श्रेष्ठलाई दिइएको थियो।
उक्त पेस्तोल बुझाउँदा पेस्तोलको सेफ्टिक्याच ‘आर’ मा भएको कक गरेरे सेफमा लान खोज्दा सेफ नभएको र म्याग्जिन लगाएर कक गर्ने क्रममा अकस्मात फायर भएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
त्यतिबेला पेस्तोलको नोजल भुँइतर्फ फर्केकाले ठूलो दुर्घटना हुनबाट जोगिएको पाइएको छ। पेस्तोलको नोज भुँईतर्फ फर्काई निरीक्षण चेकजाँच गरिरहेको हुँदा पेस्तोलबाट फायर भुँईतर्फ फायर भएको थियो। सो क्रममा ९ एमएमको १ राउण्ड गोली मुल ढोका अगाडि भुईँमा रहेको मार्वलमा लागेको थियो।
गोली मार्बलबाट उछिट्टिएर ढोकासँगै रहेको ड्युटी अधिकृत कक्षको टेबलको प्लाईको बारमा लागि रिवर्स भएको थियो। रिर्वस भएको उक्त गोली इन्स्पेक्टरका बडीगार्डको प्रहरी जवानको बाँया खट्टाको घुँडामुनि लागेको प्रहरीले जनाएको छ। साथै गोलीको छर्रा ड्युटी अधिकृत कक्षसँगै रहेका एक सेवाग्राहीको खुट्टाको बुढीऔँलामा लागी सामान्य घाइते भएका हुन्।