सय वर्ष पुरानो राणाकालिन ढल प्रणाली फेर्दै काठमाडौं महानगर

अस्मिता खड्का  

काठमाडौं । रत्नपार्क नजिकै भोटाहिटी क्षेत्रमा यतिबेला धमाधम निर्माण कार्य भइरहेको छ । रत्नपार्कबाट असन र असनबाट रत्नपार्कतर्फ आवतजावत गर्ने यात्रुहरुको लागिसमेत बाटो बन्द गरेर धमाधम निर्माण कार्य चलिरहेको छ । बाटो बन्द रहेको जानकारी दिनका लागि दुवैतर्फ महानगर प्रहरी खटिएका छन् । दुवैतर्फबाट हस्याङफस्याङ गर्दै आउने यात्रुहरु ढल उत्खनन भइरहेको मुखमै पुगेर फर्किनुपर्छ ।

नयाँ ढल पाइप राख्नको लागि उत्खनन् भइरहेको निर्माण क्षेत्रमा गुम्बज शैलीको राणाकालिन ढल प्रणाली र उक्त ढलमाथि दुरसञ्चारको च्याम्बर फेला परेको छ । सो ढल माथिबाट लगिएको खानेपानीको पाइपलाइन र प्राधिकरणको लाइन पनि हटाएर नयाँ पाइप राख्ने कार्य भइरहेको छ ।

वर्षौदेखि ढल जामको समस्या बेहोरीरहेको भोटाहिटी, असन र कमलक्षी क्षेत्रको समाधानको लागि यसरी धमाधम ढल निर्माण कार्य हुदैछ । भोटाहिटी, असन र जमल क्षेत्र काठमाडौ महानगरपालिका वडा न २७ मा पर्छ । यस क्षेत्रमा वर्षात्मा ढल पाइपमा नअटेर सडकमा बग्ने र हिउँदमा ढल पाइपहरु जाम भएर स्थानियको घरभित्रै ढल बग्ने समस्या विगतदेखि नै छ । समस्याको एउटै मात्र कारण हो, साँघुरो राणाकालिन ढल प्रणाली । समस्याको समाधान स्वरुप तिनै राणाकालिन ढल प्रणाली फेर्न हाल महानगरपालिकाले ढल निर्माण कार्यलाई तिब्रता दिइरहेको छ ।

 

राणाकालिन ढल प्रणाली पुर्दै ढल व्यवस्थापनमा प्लाष्टिक पाइप

निर्माण क्षेत्रमा खटिएका कामदारहरुले धमाधम आआफ्नो जिम्मेवारीको पुरा गरिरहेका छन् । त्यहाँ फेला परेका राणाकालिन ढल प्रणालीहरु पुर्दै र अन्य पाइपलाइनहरु हटाउदै काम भइरहेको छ । साइबर व्युरोको कार्यालयको गेटअगाडि मंगाल निर्माण कार्यमा खटिएका एक मजदुरले भने, ‘यहाँ गुम्बज आकारमा इट्टाबाट निर्मित पुरानो ढलहरु थिए । तिनलाई पुरेर नयाँ पाइप राख्ने काम भइरहेको छ । यहाँ अगाडि बाकसजस्तो टेलिकमको च्याम्बर पनि फेला परेको छ । त्यसलाई भत्काएर पाइप राखिन्छ होला ।’
ढल व्यवस्थापनको लागि महानगरपालिकाले राणाकालिन ढल प्रणाली हटाएर प्लाष्टिकका पाइप राखिरहेको छ । त्यसको लागि निर्माण क्षेत्रमा कालो रंगको मोटो आकार भएको प्लाष्टिक पाइप राख्ने काम भइरहेको छ । ‘पुरानो ढल साँघुरो भएकोले ढलको समस्या थियो । अहिले नयाँ ढल राख्दैछौ । पुरानो ढलमा कतै इट्टाको गुम्बजजस्तो छ भने कतै ह्युम पाइप पनि फेला परेको छ’ काठमाडौ महानगरपालिकाको तर्फबाट खटिएका साइट इन्जिनियर समिर अधिकारीले भने, ‘यहाँ राख्ने पाइप प्लाष्टिकको डिडब्ल्युसी (एडिपिई) पाइप हो । यसको क्षमता राम्रो छ ।’

डिडब्ल्युसी पाइपमा बाह्य र भित्री गरी दुइटा फरक सतह हुन्छ । यसको क्षमता निकै बलियो हुन्छ । उच्च घनत्व भएको पोलिथिलिनबाट बनेको यो पाइप दिगो मानिन्छ ।

वडालाई चाँडो काम सम्पन्न गर्ने चटारो

लामो समयदेखि ढल निकासको समस्या भोगिरहेको उक्त क्षेत्रको मुख्य प्राथमिकता जतिसक्दो चाँडो ढल निर्माण कार्य सम्पन्न गर्नु हो । स्थानिय पर्व र बजार सञ्चालनलाई ध्यानमा राखी निर्माण कार्य जति चाँडो सम्पन्न गर्नु आफुहरुको मुख्य कर्तव्य भएको वडा २७ का वडाध्यक्ष योगेश कुमार खड्गीले बताए । ‘हाम्रो क्षेत्रमा ढलको विकराल समस्या भएकोले हामीले तिब्र रुपमा काम अघि बढाइरहेका छौ । ढलको कारण यहाँका बासिन्दाले धेरै समस्या भोग्नुपरेको थियो । अबको उदेश्य जतिसक्दो चाँडो समस्या समाधान गर्ने हो’ दियो पोष्टसँग उनले भने, ‘विकराल समस्या नभएको भए ढल बनाउने कुरा पनि हुदैनथ्यो । किनकी अब सेतो मच्छिन्द्रनाथको रथ भोटाहिटीबाटै तान्नुपर्ने हुन्छ । बजार सञ्चालन र किनमेल गर्नेहरुलाई पनि पनि बाधा भइरहेको छ । यो काम जतिसक्दो चाँडो सक्नुपर्छ ।’

उनकाअनुसार ढल निर्माण कार्य ४५ दिनभित्रै सम्पन्न गर्ने योजना भएपनि विभिन्न निकायविच समयमै समन्वय नहुँदा ढिलाइ भइरहेको छ ढल खन्ने क्रममा एकपछि अर्को समस्या देखा परिरहेको छ । भोटाहिटीमा ढलमाथि दुरसञ्चारको च्याम्बर फेला परेको छ भने विद्युत प्राधिकरण, मेलम्ची खानेपानी पाइपलाइन त्यहिमाथि छ ।

यस्ता समस्या देखा पर्नेवित्तिकै सम्बन्धित निकायसँग समन्वय गर्नुपर्ने हुदाँ निर्माण कार्यमा ढिलाइ हुने चिन्ता वडाध्यक्ष खड्गीको छ । ‘माघ मसान्तसम्म सम्पन्न गर्ने भनेको काम खानेपानीको पाइपलाईन, दुर सञ्चारको च्याम्बर र पाइपलाईन, प्राधिकरणको भुमिगत पाइपलाईनले गर्दा सुरु हुनै ढिला भयो’ उनले भने, ‘दोस्रो राणाकालिन ढलको लाइन वीर अस्पतालभित्रको कम्पाउण्डमा गएकाले अस्पतालको स्वीकृती लिनुपर्यो र अहिले बल्ल काम सुरु भएको छ । काम सुरु हुन नपाउँदै भोटाहिटीको सडकमुनी बाकस जस्तो टेलिकमको च्याम्बर भेटियो । यस्तो अवस्थामा सम्बन्धित निकायलाई खबर गर्नुपर्छ । यत्तिकै ढिलाई हुन्छ । काम समयमै सकिएन भने झन समस्या हुन्छ ।’

‘राणाकालिन ढल भएपनि सय वर्ष पुगेको छैन’

कुनै पनि प्राचिन वा सय वर्ष पुगेका संरचना या सामग्रीहरु पुरातात्विक दृष्टिकोणले महत्वपुर्ण मानिन्छ । यस क्षेत्रमा ढल निकासको समस्याका कारण राणाकालिन ढल प्रणाली फेला परेपनि सम्बन्धित निकायलाई भने जानकारी नभएको बुझिएको छ ।

वडा न २७ का वडाध्यक्ष खड्गीले त्यहाँ हाल देखा परेको राणाकालिन ढल प्रणाली ०७३ सालमै फेला परेको र उक्त प्रणाली सय वर्ष नपुगेको बताए । ‘राणाकालिन ढल प्रणाली चाहि ०७३ सालमा म वडाध्यक्ष नहुदै देखा परेको थियो । जहाँ १९३४ सालको देखा परेको कुरा पत्रिकामा पनि आएको थियो’ उनले भने, ‘गुम्बज आकारमा देखिएका ति ढल ०७३ सालअघि नै भत्काइसकेको हो । त्यसपछिका सबै ढलहरु जाम भएर समस्या आएकोले त्यो सय वर्ष पुरानो होइन भन्ने हो र यो पुरातत्वसँग सम्बन्धित छैन । भोटाहिटीको जंगुवहाल क्षेत्रमा भएका सबै राणाकालिन ढलहरु भासिइसकेको अवस्था छ । सबै ढलहरु सडकमा बग्छ ।’

पुरातत्व भन्छ, ‘हेरौला’

यसअघि काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले टुकुचा नदि उत्खनन् गर्न डोजर चलाएका थिए । टुकुचा उत्खनन् गर्न जथाभावि चलेको महानगरको डोजरले राज्यले संरक्षण गर्नुपर्ने पुरातात्विक सम्पदाको राणाकालिन टुकुचा बग्ने सुरुङ भत्काएको थियो । उक्त सुरुङ भत्किएपछि यसको चौतर्फी आलोचना भएको थियो भने टुकुचाको सुरुङ पुरातात्विक सम्पदा ठहर भएपछि महानगरको डोजर जहाँको त्यहि रोकिएको थियो ।

हाल ढल निर्माण कार्यलाई तिव्रता दिइरहेको महानगरपालिकाले भोटाहिटी क्षेत्रमा पनि गुम्बज शैलीको राणाकालिन ढल प्रणाली रहेको चाल पाइसकेको छ । राणाकालिन समयमा बनेको उक्त ढल प्रणालीबारे सम्बन्धित निकाय जानकार हुनुपर्ने हो । तर यसबारे पुरातात्विक महत्वका संरचना संरक्षण गर्ने जिम्मा लिएको पुरात्व विभागले नै यसबारे जानकारी पाएको छ न त महानगरले नै पुरातत्व विभागलाई जानकारी दिएको छ ।

यसबारे सोध्दा आफुहरु जानकार नभएको पुरातत्व विभागका प्रवक्ता राम बहादुर कुँवरले बताए । ‘यसबारे हामीलाई केहि जानकारी छैन’ उनले भने, ‘यदि त्यस्तो छ भने यसबारे हामीले तुरुन्त फलोअप गर्छौ । भोली नै मान्छे पठाउँछौ ।’

काठमाडौ महानगरपालिकाअन्र्तगत सार्बजनिक निर्माण विभाग र वडा न २७ को संयुक्त सहकार्यमा राणाकालिन ढल फेर्ने कार्य भइरहेको हो । झन्डै एक हप्ताअघि सुरु भएको ढल निर्माण कार्य आगामी वैशाखसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ढल निर्माणको जिम्मा बिआर विल्डर्सले पाएको छ । ढल निर्माणको लागत अनुमान १ करोड ५० लाख रुपैयाँ रहेको छ ।

कमलाक्षी, असन, भोटाहिटी, रत्नपार्क हुँदै उक्त लाइन टुकुचानजिकैको मुख्य ढल लाइनमा जोड्ने योजना महानगरको छ । हाल वीर अस्पतालको कम्पाउन्डबाट जोडेर असन हुँदै कमलाक्षीसम्म उक्त लाइन जोडेर ढल निर्माण कार्य सम्पन्न गर्ने महानगरले जनाएको छ ।

TATA ADD

सिफारिस