घटनाको पाँच महिनापछि प्रहरी सहायक हवल्दारसहित दुई जना कारागार चलान

राजकुमार मृत्यु प्रकरणः

दियो पोस्ट  

धनगढी । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमार रानाको मृत्यु घटनामा पाँच महिनापछि पक्राउ परेका दुई जनालाई कारागार चलान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले रानाको हत्या आरोपमा पक्राउ परेका कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारी पुर्पक्षका लागि कारागार चलान भएको जानकारी दिए ।

बिहीबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि उनीहरूलाई कारागार चलान गर्न आदेश दिइएको थियो । कारागार चलान हुने चौधरी नेपाल प्रहरीका सहायक हवल्दार हुन् । घटना भएको पाँच महिनापछि मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले दुवैलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।

राना गत २८ असोजमा कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जंगलमा मृत भेटिएका थिए । रानाको हत्या गरेको भन्दै उनकी श्रीमती सुशीला रानाले दुवै जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

धनगढीमा काम गर्छु भन्दै गत वर्षको फागुनमा घरबाट निस्किएका राना त्यसपछि कहिलेकाहीँ मात्र घर आएका थिए । १८ असोजमा श्रीमती सुशीला रानालाई फोन गरेर अत्तरियामा श्रृंगारका सामान बिक्रीको काम गरिरहेको बताएका उनी दशैं मनाउन घर फर्किने कुरा थियो । तर उनी घर त आएनन् नै १० दिनपछि २८ असोजमा कृष्णपुर नगरपालिकामा पर्ने बालुवाफाँटाको जंगलमा मृत भेटिएको खबर परिवारले पाएको थियो ।