काठमाडौँ। महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-४ मझौरामा बिहीबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई बालिकाको ज्यान गएको छ। ज १ त ९७८२ नम्बरको ट्याक्टरको रोटावेटर पल्टिएर किचिएर बालिकाहरुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मृत्यु हुनेमा सोही स्थानकी ७ वर्षीया फरहाना खातुन र सिराहाकी ८ वर्षीया रजिया खातुन रहेका छन्। दुवै बालिका एउटै परिवारका हुन् भने रजिया मझौरास्थित मामाघर आएकी थिइन्।
प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार ट्याक्टरमा रोटावेटर जडान गरी खेत जोत्ने क्रममा रोटावेटर पल्टिँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाका बेला दुवै बालिका ट्याक्टरमा सवार रहेको र अचानक रोटावेटर पल्टिएर किचिँदा घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
घटनापछि चालक फरार रहेका र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। दुवै शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।