नेपाली राजनीति र समाज अहिले एउटा विचित्रको छटपटी र संक्रमणबाट गुज्रिरहेको छ। एकातिर पुराना शक्तिहरूप्रतिको चरम वितृष्णा छ भने अर्कोतिर ‘वैकल्पिक’ भनिएका शक्तिहरूले निर्माण गरिरहेको नयाँ खालको वर्गीय भाष्य र ‘डिजिटल ब्रान्डिङ’को दबदबा छ। विशेषगरी सामाजिक सञ्जालका एल्गोरिदमले नागरिकको सोच्ने र प्रतिक्रिया दिने शैलीलाई नियन्त्रण गरिरहेका बेला, समाज झन् विभाजित र आक्रोशित देखिनु संयोग मात्र होइन।
निर्वाचनको सरगर्मी बढ्दै गर्दा फेसबुक, टिकटक र एक्स (X) जस्ता प्लेटफर्महरूमा एआई (AI) निर्मित सामग्री, डिपफेक, डक्सिङ र ट्रोलिङका माध्यमबाट कृत्रिम भाष्यहरू तीव्र रूपमा फैलाइएका छन्। ‘सूचनाको वायु प्रदूषण’ले समाजको विवेकलाई यसरी संक्रमित बनाउँदैछ कि भोलि साँचो कुरालाई पनि कसैले विश्वास नगर्ने डरलाग्दो परिस्थिति निर्माण हुँदैछ। यस्तो अवस्थामा राज्यको सुस्त तयारी, प्रविधिको मानवीय मूल्यसँगको टकराव र युवा पुस्ताले डिजिटल स्पेसमा खेल्नुपर्ने ‘नागरिक भूमिका’का विषयमा गम्भीर मन्थन आवश्यक भइसकेको छ।
यही पृष्ठभूमिमा नेपाली समाजको बदलिँदो मनोविज्ञान, डिजिटल ब्रान्डिङको तिलस्मी प्रभाव, एआईले निम्त्याएको लोकतान्त्रिक चुनौती र प्रविधिमाथि मानवीय विवेकको सन्तुलनका विषयमा केन्द्रित रहेर दियोपोस्टको पोडकास्ट सिरिज ‘यसै बेला’ (अहिले, आज र यहाँ) को पाँचौँ अंकका लागि दियोपोस्टकर्मी राजु झल्लु प्रसादले दोभान राईसँग गरेको कुराकानीको सम्पादित अंश:
काठमाडौँका मेयर बालेन शाह र उनको टिमले प्रयोग गरिरहेको डिजिटल ब्रान्डिङलाई तपाईंले कसरी विश्लेषण गर्नुभएको छ?
बालेन शाहको टिमले प्रविधि, ब्रान्डिङ र ‘म्यास साइकोलोजी’लाई एकदमै मसिनो गरी बुझेको देखिन्छ। उहाँको इमेज निर्माण प्रक्रिया मलाई कता कता पुरानो राजतन्त्रसँग मिल्दोजुल्दो लाग्छ। राजाले जस्तै बालेनजी पनि कम बोल्नुहुन्छ, तर उहाँको चर्चा जताततै छ। बालेन थोरै बोल्ने तर उनको टिमले दृश्य, ड्रोन फुटेज र ब्याकग्राउन्ड म्युजिक मार्फत एउटा ‘तिलस्मी’ क्यारेक्टर निर्माण गरेको छ। उहाँको कालो चस्मा र ज्याकेटलाई एउटा ब्रान्डको रूपमा स्थापित गरिएको छ। देशदौडाहको क्रममा उहाँको फोटो पोस्चरहरूलाई पनि त्यसैगरि देखाइएको छ ।
उहाँ ठ्याक्कै को हो, के हो; थाहा छैन तर सबैतिर उहाँ देखिई रहनुभएको छ। यो एक किसिमको ‘मिस्टिकल’ अर्थात् रहस्यमय व्यक्तित्व निर्माण हो। नेपाली जनमानसलाई एउटा ‘जादुमयी नायक’ चाहिएको छ र बालेनको टिमले त्यही मनोवैज्ञानिक भोकलाई चिनेर उहाँलाई एउटा ‘गार्जियन’ वा ‘म्याजिसियन’को रूपमा प्रोजेक्ट गरिरहेको जस्तो देखिन्छ।
नेपाली जनमानसलाई एउटा ‘जादुमयी नायक’ चाहिएको छ र बालेनको टिमले त्यही मनोवैज्ञानिक भोकलाई चिनेर उहाँलाई एउटा ‘गार्जियन’ वा ‘म्याजिसियन’को रूपमा प्रोजेक्ट गरिरहेको जस्तो देखिन्छ।
वैकल्पिक भनिने शक्तिहरूले ‘सुशासन’ र ‘प्रविधि’को नाममा एउटा नयाँ वर्गीय विभाजन सिर्जना गर्न खोजिरहेका त होइनन्?
केही हदसम्म त्यस्तो देखिन्छ। ‘अंग्रेजी बोल्न नजान्ने, प्रविधि नबुझ्ने र गाउँबाट चप्पल लगाएर आएकाहरूले मात्र भ्रष्टाचार गरे’ भन्ने एउटा गलत भाष्य निर्माण गरेर तल्लो वर्गलाई अपमानित गर्ने काम भइरहेको छ। तर सत्य के हो भने, प्रकृति विनाश गर्ने र आदिवासीलाई विस्थापित गर्ने नीति त धेरै पढेलेखेकै सुकिला-मुकिला मान्छेले ल्याउँछन्। सुकिलो लुगा लगाउँदैमा वा प्रविधि जान्दैमा कोही पवित्र हुँदैन। हामीले अनुहार मात्र होइन, उनीहरूले बोक्ने ‘एजेन्डा’ र आदिवासी मूल्य-मान्यतामा पनि ध्यान दिनुपर्छ।
कुलमान घिसिङ वा हर्क साम्पाङ जस्ता पात्रहरूलाई कसरी हेरिरहनुभएको छ ?
कुलमान घिसिङ वा हर्क साम्पाङ जस्ता पात्रहरूलाई समर्थन गर्दा उनीहरूको जातीय पहिचान मात्र होइन, उनीहरूले बोक्ने एजेन्डामा पनि ध्यान दिनुपर्ने हुन्छ। आदिवासी जनजातिसँग प्रकृतिमैत्री विकासको गहिरो ज्ञान हुन्छ, जसलाई आधुनिक विकासको मोडलले उपेक्षा गरिरहेको छ। केवल एउटा जातको अनुहार देखिँदैमा समावेशिता हुँदैन, त्यसले बोक्ने विचार र आदिवासी मूल्य-मान्यता पनि महत्त्वपूर्ण हुन्छ ।
विगत १०-१५ वर्षमा गाउँ र सहरबीचको विभाजन झन् बाक्लो भएको छ। गाउँमा बाटो पुग्यो तर त्यही बाटो भएर मान्छेहरू सहर र विदेश पलायन भइरहेका छन्। अहिले मानिसहरूमा आफ्नो थातथलोप्रतिको ‘ओनरसिप’ (स्वामित्व) कम हुँदै गएको छ, जसले गर्दा गाउँका वास्तविक मुद्दा ओझेलमा परेका छन्। आफूलाई वैकल्पिक दाबी गरिरहेकाहरूले यी कुराप्रति आफ्नो दृष्टिकोण राखेर गाउँसमाजमा पुग्नुपर्छ। तर, दुर्भाग्य, त्यसो भइरहेको म देखिरहेको छुइनँ।
सामाजिक सञ्जालको एल्गोरिदमले हाम्रो सोच्ने तरिका र समाजलाई कसरी प्रभाव पारिरहेको छ?
एल्गोरिदमले सबैलाई समान आवाज दिँदैन; यसले केवल ‘इङ्गेजमेन्ट’ र भाइरल हुने कुरालाई मात्र प्राथमिकता दिन्छ। मैले एल्गोरिदमलाई एउटा ‘डिजे’सँग तुलना गर्ने गरेकी छु। डिजेले जस्तो ताल बजाउँछ, हामीहरू त्यसरी नै नाचिरहेका छौं। अचम्म के छ भने, अहिले बजिरहेको यो डिजिटल संगीत प्रायः डर र घृणामा आधारित छ। यसले गर्दा गहिरो विचार भएका र समाजमा लामो योगदान दिएका मानिसहरू छेउ लाग्दै गएका छन्, किनभने उनीहरू यो उग्र तालमा फिट हुँदैनन्। एल्गोरिदमले सत्य वा न्याय भन्दा पनि धेरै ‘लाइक’ र ‘रिट्विट/रिशेयर’ आउने कुरालाई मात्र अगाडि बढाउँछ। र, यस उग्र तालमा कताकति ‘बालेनजीहरू’ फिट भइरहेको देखिन्छ।
वास्तवमा, सिङ्गो विश्व नै अहिले एउटा मेटामोर्फोसिस अर्थात् ‘इपोकल सिफ्ट’ (युगान्तरकारी रूपान्तरण)बाट गुज्रिरहेको छ। यो ठ्याक्कै एउटा झुसिलकिराबाट पुतली बन्ने बेलाको तरल र अन्योलपूर्ण अवस्था जस्तै हो। पुराना संरचनाहरू भत्किरहेका छन् तर नयाँ के बन्छ भन्ने अझै निश्चित भइसकेको छैन।
नेपाली समाज अहिले निकै विभाजित र आक्रोशित देखिन्छ, यसको भित्री कारण के होला?
हाम्रो समाज अहिले एउटा अत्यन्तै ‘भल्नरेबल’ (संवेदनशील) मोडमा उभिएको छ। एकातिर वर्षौँदेखिको सामूहिक दुःख र ‘ट्रमा’ छ भने अर्कोतिर आधुनिक सुख प्राप्तिको तीव्र छटपटी देखिन्छ। जब समाज यस्तो चेपुवामा पर्छ, मानिसहरूले विवेक गुमाउँछन् र ‘सर्भाइभल माइन्डसेट’ (अस्तित्व जोगाउने धुन) मा पुग्छन्। यस्तो अवस्थामा मानिसले क्रिटिकल भएर सोच्न सक्दैन; बरु आदिम र मध्ययुगीन मनोविज्ञानको सहारा लिन्छ, जहाँ कि त कोही ‘आफ्नो’ हुन्छ कि त ‘दुश्मन’ देख्छ। अहिलेको यो ‘वार कि पार’को आक्रोश त्यही असुरक्षित मध्ययुगीन मनोविज्ञानको उपज हो।
वास्तवमा, सिङ्गो विश्व नै अहिले एउटा मेटामोर्फोसिस अर्थात् ‘इपोकल सिफ्ट’ (युगान्तरकारी रूपान्तरण)बाट गुज्रिरहेको छ। यो ठ्याक्कै एउटा झुसिलकिराबाट पुतली बन्ने बेलाको तरल र अन्योलपूर्ण अवस्था जस्तै हो। पुराना संरचनाहरू भत्किरहेका छन् तर नयाँ के बन्छ भन्ने अझै निश्चित भइसकेको छैन। यस्तो अनिश्चितताको समयमा मानिसहरू डराउँछन् र त्यो डरले उनीहरूलाई पुरानै रूढिवादी कुरा वा कुनै ‘स्ट्रङ म्यान’ (बाहुबली) नेतृत्वको पछि लाग्न प्रेरित गर्छ। र, अहिले देखिएको पपुलिजम (लोकप्रियतावाद) भनेको वास्तवमा त्यही डराएको मानिसले हतारमा समात्ने ‘डोरी’ मात्र हो। त्यो डोरी ‘डिजिटल’ पनि हो ।

अहिले हामी नेपाली मात्र होइन, सिङ्गो दक्षिण एसिया र विश्व नै एउटा ‘नेसन स्टेट’ (राष्ट्र-राज्य) बाट ‘विश्व नागरिक’ बन्ने कठिन संक्रमणमा छौँ। यो संवेदनशील चरणमा एआई, डीपफेक र डिजिटल विभाजनले समाजको यो आक्रोश र अन्योललाई अझ बढी चर्काइदिएको छ।
सामाजिक सञ्जालका कमेन्ट सेक्सनहरू अहिले निकै नै ‘टक्सिक’ र लैंगिक रूपमा असंवेदनशील देखिन्छन्। डिजिटल स्पेस महिला र सीमान्तकृतका लागि झन् असुरक्षित हुँदै गएको हो?
यो एउटा तितो यथार्थ हो। डिजिटल स्पेस, जसले सबैलाई समान अवसर दिनुपर्ने थियो, अहिले महिला र सीमान्तकृतका लागि ‘मानसिक युद्धमैदान’ जस्तो बनेको छ। सार्वजनिक डिजिटल स्पेसमा महिलाहरूले जुन स्तरको हिंसा, गालीगलौज र यौनजन्य टिप्पणीहरूको सामना गर्नुपरेको छ, त्यो अकल्पनीय छ। समाजमा अझै पनि महिलालाई ‘स्वतन्त्र व्यक्तिका रूपमा भन्दा पनि ‘पब्लिक प्रपर्टी’ (सार्वजनिक सम्पत्ति) सम्झिने एउटा गहिरो पितृसत्तात्मक मनोविज्ञान छ। जब कुनै महिला सार्वजनिक पदमा पुग्छिन् वा आफ्ना विचार राख्छिन्, तब उनलाई तर्कले भन्दा पनि चरित्र हत्या र यौनजन्य शब्दहरूले प्रहार गरेर डिजिटल स्पेसबाटै लखेट्ने (डिजिटल डिस्प्लेसमेन्ट) प्रवृत्ति बढिरहेको छ। यसको सबैभन्दा बढी मार कलाकार र महिला नेतृहरूलाई परिरहेको छ।
महिला सेलिब्रिटी वा नेत्रीहरूमाथि हुने यस्ता भद्दा टिप्पणीहरूलाई सामाजिक मनोविज्ञान र यौन कुण्ठासँग जोडेर हेर्न मिल्छ?
मिल्छ। यसको पछाडि हाम्रो परम्परागत वैवाहिक संस्था र सामाजिक मनोविज्ञानमा आइरहेको तीव्र फेरबदल एउटा मुख्य कारण हो। हाम्रो समाजमा यौनका विषयमा खुला बहस हुँदैन, जसले गर्दा ठूलो मात्रामा ‘यौन कुण्ठा’ गुम्सिएर बसेको छ। जब यी कुण्ठाहरूले स्वस्थ निकास पाउँदैनन्, तब ती डिजिटल माध्यमबाट हिंसात्मक रूपमा बाहिर निस्कन्छन्। सामाजिक सञ्जालको ‘एनोनिमिटी’ (नाम लुकाउन मिल्ने सुविधा)ले मानिसहरूलाई झन् निडर बनाइदिएको छ। नेपाली डिजिटल स्पेसमा महिला सेलिब्रिटी र नेत्रीहरूमाथि हुने भद्दा टिप्पणीहरू वास्तवमा उनीहरूको कामप्रतिको आलोचना नभएर, टिप्पणीकर्ताको आफ्नै भित्री यौन कुण्ठा र मानसिक विचलनको ऐनाको रुपमा बुझ्न सकिन्छ।
बेरोजगारी र युवाहरूको वर्तमान अवस्था, यस समस्याको आर्थिक र संरचनागत पाटो हो। समाजमा व्याप्त बेरोजगारी र गरिबीका कारण धेरै युवाहरू आफ्नो भविष्य अन्धकार देख्छन् र आफूलाई ‘लुजर’ (पराजित) महसुस गर्छन्। जब एक व्यक्ति वास्तविक जीवनमा शक्तिहीन र असफल महसुस गर्छ, उसले आफ्नो त्यो हीनताबोध र आक्रोश पोख्न कुनै ‘सफ्ट टार्गेट’ खोज्छ। हाम्रो जस्तो समाजमा महिलाहरू सधैँ ‘सफ्ट टार्गेट’ बनाइन्छन्। आफ्नो असफलताको रिस र शक्ति प्रदर्शन गर्ने माध्यमका रूपमा उनीहरूले महिलाहरूमाथि ‘सेक्सुअल कमेन्ट’ र हिंसात्मक भाषा प्रयोग गर्छन्। यो उनीहरूको शक्ति प्रदर्शन गर्ने एउटा विकृत तरिका हो, जहाँ उनीहरू अर्काको अस्मितामा प्रहार गरेर क्षणिक रूपमा आफूलाई शक्तिशाली महसुस गर्न खोज्छन्। यसमा केहि हदसम्म पुरुष पनि पीडित नभएका भने होइनन्, यद्यपि महिला ‘सफ्ट टार्गेट’ बनिरहेका छन्।
यसमा सामाजिक सञ्जालको मात्रै होइन, वर्तमान विश्वको आर्थिक संरचना पनि कारक देखिन्छ। संसार अहिले अति पुँजीवादी र उपभोक्तावादी मोडलका कारण संकटमा छ। यसैले जलवायु परिवर्तन, चरम असमानता र मानिसहरूमा एल्लिनेसन (एक्लोपन) बढाएको छ। मानिसहरू सामाजिक सम्बन्धभन्दा बढी भौतिक वस्तुमा निर्भर हुन थालेका छन् । यसकारण, सामाजिक सञ्जालको अहिलेको स्वरूप पुँजीवादी स्वार्थ र ‘बिग टेक’ कम्पनीहरूको साठगाँठबाट निर्माण भएको भन्न सकिन्छ।
नेतृत्वलाई केवल एउटा ‘बाहुबली’ वा शक्तिशाली पुरुषको रूपमा मात्र परिकल्पना गर्ने वा ‘नायक खोज्ने’ हाम्रो जुन परम्परागत सोच छ, त्यो अब बदल्न जरुरी छ। समावेशी नेतृत्वको अर्थ केवल युवा वा नयाँ अनुहार मात्र होइन। वास्तविक समावेशिता तब हुन्छ जब नेतृत्वमा सबै वर्ग, लिङ्ग, भूगोल र समुदायको न्यायपूर्ण प्रतिनिधित्व हुन्छ।
विगतमा सामाजिक सञ्जाललाई परिवर्तनको ठूलो हतियार मानिन्थ्यो, तर अहिले यो स्पेस झन् पश्चगामी र अनुदारवादी हुँदै गएको देखिन्छ। यो ‘राइट-वार्ड’ मोड (दक्षिणपन्थी झुकाव) कसरी आयो?
यो एउटा निकै चिन्ताजनक ऐतिहासिक बदलाव हो। सन् २०१० देखि २०१५ सम्मको अवधिमा सामाजिक सञ्जाललाई ‘परिवर्तनको संवाहक (फोर्स अफ गुड)’ का रूपमा हेरिन्थ्यो। त्यतिबेला यसले दलित, महिला, र सीमान्तकृत समुदायका मुद्दाहरूलाई सडकको ओझेलबाट निकालेर डिजिटल स्पेसको मूलधारमा ल्याउन ठूलो भूमिका खेल्यो। विभिन्न खाले ह्यासट्याग आन्दोलन र इमोजीको प्रयोगहरू त्यतिबेला सकारात्मक देखिएका थिए। तर, अहिले परिस्थिति ठ्याक्कै उल्टो भएको छ। अहिले यो स्पेस पश्चगामी र दक्षिणपन्थी सोचको कब्जामा पुग्दै गएको छ।
प्रगतिशील शक्तिहरू जुन एजेन्डाका साथ अगाडि बढ्नुपर्ने थियो, उनीहरू बाह्य चुनौती र समाजका वास्तविक मुद्दामा लड्नुको सट्टा ‘आपसी विवाद’मा फसेका छन्। उनीहरू स-साना वैचारिक मतभेदमा अल्झिँदा दक्षिणपन्थी र पश्चगामी शक्तिहरूले यो खाली ठाउँलाई सजिलै कब्जा गरे।

सिलिकन भ्यालीका मालिकहरू (जस्तै इलन मस्क) को व्यक्तिगत इगो र उनीहरूको व्यापारिक स्वार्थले पनि यसमा ठूलो भूमिका खेलेको छ। नाफा र ‘इङ्गेजमेन्ट’ बढाउने नाममा उनीहरूले एल्गोरिदमलाई यस्तो बनाएका छन्, जसले सामाजिक सञ्जाललाई अनुदारवादी एजेन्डाहरूतिर धकेल्न मद्दत गरिरहेको छ।
अब हामी फेरी चुनावतर्फ आऔं। पछिल्लो समय राजनीतिमा ‘बाहरूलाई विश्राम दिऊ’ भन्ने भाष्य निकै लोकप्रिय छ। जेनजीको आगमन र पुरानो पुस्तालाई बिदा गर्ने यो लहरलाई कसरी हेर्दै हुनुहुन्छ?
नयाँ पुस्ता (जेनजी)मा भएको अद्भुत ऊर्जा, साहस र प्रविधिमाथिको उनीहरूको दख्खल नेपाली राजनीति र अर्थासमाजिक पाटोतर्फ पनि निकै आशालाग्दो पक्ष हो। तर, हामीले के बुझ्नुपर्छ भने, केवल ‘उमेर’ एउटा मानिसलाई राजनीतिक रूपमा ‘डिस्मिस’ गर्ने वा अयोग्य ठहर्याउने आधार हुनुहुँदैन। कुनै पनि जीवन्त समाज वा राष्ट्रलाई अगाडि बढाउन युवाको गति जति आवश्यक छ, पुरानो पुस्ताको विवेक र अनुभव पनि उत्तिकै अपरिहार्य हुन्छ। युवाको गति र वृद्धको अनुभवको सन्तुलनबिनाको राजनीति दुर्घटनाग्रस्त हुन सक्छ। त्यसैले, यो लडाइँ ‘उमेर समूह’ बीचको हुनुभन्दा ‘विचार र कार्यशैली’ बीचको हुनुपर्छ।
त्यसो भए हाम्रो नेतृत्वको परिकल्पना कस्तो हुनुपर्छ? के केवल ‘नयाँ अनुहार’ आउँदैमा सबै परिवर्तन हुन्छ त?
नेतृत्वलाई केवल एउटा ‘बाहुबली’ वा शक्तिशाली पुरुषको रूपमा मात्र परिकल्पना गर्ने वा ‘नायक खोज्ने’ हाम्रो जुन परम्परागत सोच छ, त्यो अब बदल्न जरुरी छ। समावेशी नेतृत्वको अर्थ केवल युवा वा नयाँ अनुहार मात्र होइन। वास्तविक समावेशिता तब हुन्छ जब नेतृत्वमा सबै वर्ग, लिङ्ग, भूगोल र समुदायको न्यायपूर्ण प्रतिनिधित्व हुन्छ। एउटा नयाँ पुस्ताको नेतृत्वले केवल प्रविधि चलाउन जान्ने मात्र होइन, समाजका हरेक तप्काको पीडालाई आत्मसात् गर्न सक्ने र सबैलाई समेटेर लैजान सक्ने ‘कोल्याबोरेटिभ’ (सहकार्यमूलक) चरित्र बोक्नुपर्छ।
अहिले चुनाव केन्द्रित भएर एआई, डक्सिङ, ट्रोलिङ, र डिपफेक जस्ता प्रविधिहरूबाट कृत्रिम भाष्य र भ्रामक सूचनाहरू तीव्र गतिमा फैलिरहेका छन्। यसले हाम्रो लोकतन्त्र र भविष्यमा कस्तो खतरा निम्त्याउँछ?
यो लोकतन्त्रको लागि निकै डरलाग्दो र चुनौतीपूर्ण अवस्था हो। तपाईंले भन्नुभएझैँ, भ्रामक सूचना; अब केवल एउटा झुट मात्र रहेन, यो ‘वायु प्रदूषण’ जस्तै भएको छ। जसरी प्रदूषित हावाले हाम्रो शरीरलाई बिस्तारै बिरामी बनाउँछ, त्यसरी नै यी डिजिटल प्रविधिहरूले हाम्रो समाजको सामूहिक विवेक र निर्णय लिने क्षमतालाई नै विषाक्त बनाइरहेका छन्।
अहिलेको सबैभन्दा ठूलो डर मानिसले ‘जे पनि पत्याउलान्’ भन्ने मात्र होइन; बरु भविष्यमा ‘साँचो कुरालाई पनि कसैले नपत्याउने’ अवस्था (इरोइजन अफ ट्रुथ) आउला कि भन्ने हो। जब एआईले बनाएको नक्कली भिडियो र वास्तविक भिडियो बीचको फरक छुट्टिन छाड्छ, तब मानिसहरूले आधिकारिक र साँचो सूचनालाई पनि “यो त एआई होला” भनेर शंका गर्न थाल्छन्। यसले सूचनाको शुद्धताप्रति हाम्रो सामूहिक विश्वास पूर्णतः समाप्त गरिदिन्छ।
डक्सिङ (कसैको निजी जानकारी सार्वजनिक गरिदिने) र ट्रोलिङ (योजनाबद्ध रूपमा अपमानित गर्ने) को माध्यमबाट फरक मत राख्ने वा सत्य बोल्ने व्यक्तिहरूलाई मानसिक रूपमा त्रसित बनाइन्छ। यसले समाजमा एउटा यस्तो वातावरण सिर्जना गर्छ जहाँ डरका कारण मानिसहरूले बोल्नै छोड्छन्। यो लोकतन्त्रको लागि ‘अघोषित सेन्सरसिप’ हो।
एआई र डिपफेकको प्रयोग गरेर निर्वाचनको मुखमा कुनै उम्मेदवारको चरित्र हत्या गर्ने वा उसले नबोलेका कुराहरू बोलेको भिडियो सार्वजनिक गरिनु पनि निकै हानिकारक छ। मतदाताले सत्य थाहा पाउँदासम्म निर्वाचन सकिइसकेको पनि हुन सक्छ। यसले मतदाताको स्वतन्त्र विवेकलाई बन्धक बनाएर निर्वाचनको परिणामलाई नै प्रभावित पार्न सक्छ।
यदि सूचनाको शुद्धताप्रति हाम्रो विश्वास गुम्यो भने कुनै ठूलो विपद्, भोकमरी वा महामारीको बेला राज्यले दिने सही र जीवनरक्षक सूचना पनि मानिसले नपत्याउँदा ठूलो मानवीय क्षति हुन सक्छ। यो लोकतन्त्रको मात्र होइन, मानवीय सुरक्षाकै मुद्दा हो। यसप्रति निर्वाचन आयोग लगायत राज्यका निकाय सहित चुनावमा होमिएका राजनीतिक दलहरू पनि सतर्क र सचेत हुनैपर्छ।
निर्वाचनका बेला एआई र गलत सूचनाको बाढी नै आएको छ। यस्तो अवस्थामा राज्यको तयारी कस्तो हुनुपर्छ र एक सचेत नागरिकले भ्रामक सूचनालाई कसरी चिन्ने?
निर्वाचनका बेला एआई र गलत सूचनाको चुनौतीलाई सामना गर्न राज्यको अहिलेको तयारी ‘महामारीमा एउटा सानो इमर्जेन्सी वार्ड’ जस्तो मात्र देखिन्छ, जुन पर्याप्त छैन। हाम्रो ब्युरोक्रेसी (प्रशासनिक संयन्त्र) कुनै ‘स्टार्टअप’ कम्पनी जस्तो छिटो परिवर्तन हुन सक्दैन। त्यसैले, राज्यले अब केवल आन्तरिक तयारी मात्र गरेर पुग्दैन; उसले ‘डिजिटल कुटनीति’ प्रयोग गरेर विश्वव्यापी सामाजिक सञ्जालका प्लेटफर्महरूसँग सिधै सहकार्य र समन्वय गर्नतर्फ अग्रसर हुनैपर्छ।

तर, प्राविधिक औजार वा राज्यको कानुन मात्र यसको समाधान होइन। भ्रामक सूचना चिन्नका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा ‘मानवीय विवेक’ नै हो। उदाहरणका लागि, काठमाडौँका मेयर बालेन शाहले ‘बीफ’ (गोरुको मासु) खाएको भनिएको एउटा फोटो भाइरल बनाइएको थियो। यदि कसैले थोरै मात्र विवेक प्रयोग गरेर त्यो फोटोलाई नियालेको भए, त्यहाँ काँचो मासु देखिएकाले त्यो ‘फेक’ हो भन्ने प्रस्टै बुझ्न सकिन्थ्यो।
एआई प्रविधिको तीव्र विकास र विश्व राजनीतिमा भइरहेका अनपेक्षित उतारचढावका कारण आउने केही वर्षहरू झन् कठिन र चुनौतीपूर्ण हुन सक्छन्। त्यसैले, प्रविधिको प्रतिवाद गर्न प्रविधि मात्र होइन, नागरिकको ‘क्रिटिकल चेतना’ र राज्यको ‘सक्रिय कुटनीति’ दुवैको आवश्यकता पर्छ।
अहिले प्रविधि केही सीमित मान्छे वा ठूला कम्पनीहरूको नियन्त्रणमा छ, सुरुमा त्यस्तो थिएन। हामीले यसलाई उनीहरूको कब्जाबाट मुक्त गरेर मानव कल्याण, प्रकृति र पर्यावरणीय हितका लागि प्रयोग हुने गरी ‘रिक्लेम’ (पुनर्प्राप्ति) गर्नतर्फ अग्रसर हुनुपर्छ।
प्रविधिको यो तीव्र विकास र हाम्रा मानवीय मूल्यहरू बीच कसरी सन्तुलन मिलाउने? यसको निकास के हुन सक्छ?
हामीले सबैभन्दा पहिले प्रविधिलाई हेर्ने दृष्टिकोण नै बदल्नुपर्छ। प्रविधि भनेको केवल हातमा बोक्ने ‘ग्याजेट’ वा मेसिनभित्रको ‘चिप’ मात्र होइन, यो त अब हाम्रो संस्कृतिको एउटा अभिन्न अङ्ग भइसकेको छ। त्यसैले, प्रविधिमा आउने क्रान्तिसँगै एउटा ‘सांस्कृतिक र वैचारिक क्रान्ति’ पनि अब अनिवार्य भइसकेको छ।
अहिले प्रविधि केही सीमित मान्छे वा ठूला कम्पनीहरूको नियन्त्रणमा छ, सुरुमा त्यस्तो थिएन। हामीले यसलाई उनीहरूको कब्जाबाट मुक्त गरेर मानव कल्याण, प्रकृति र पर्यावरणीय हितका लागि प्रयोग हुने गरी ‘रिक्लेम’ (पुनर्प्राप्ति) गर्नतर्फ अग्रसर हुनुपर्छ। किनभने, प्रविधिको विकासले प्रकृति र मानवीय संवेदनालाई सिध्याउनु हुँदैन, बरु तिनलाई जोगाउन मद्दत गर्नुपर्छ। यसैले, म आफूलाई प्रविधि र संस्कृतिको इन्टरसेक्सनमा काम गर्न इच्छुक ‘टेक्नो-अप्टिमिस्ट’ भन्न रुचाउछु।
यस प्रक्रियामा नयाँ पुस्ता, विशेष गरी ‘जेनजी’को भूमिका के हुन सक्छ?
जेनजी युवाहरू अब केवल कुनै नेताको अन्धभक्त भएर पछि लाग्ने वा सामाजिक सञ्जालमा गालीगलौज गर्ने काममा मात्र सीमित हुनुहुँदैन। उनीहरूले अब डिजिटल स्पेसको ‘सरसफाई’ गर्न सामूहिक पहल गर्नुपर्छ। जसरी युवाहरू सडकमा निस्किएर फोहोर सफा गर्छन्, त्यसरी नै डिजिटल स्पेसमा फैलिएका ‘फेक न्युज’, ‘सेक्सिस्ट कमेन्ट’ (लैंगिक विभेदकारी टिप्पणी) र ‘हेट स्पीच’ (घृणास्पद अभिव्यक्ति) बढार्ने कलेक्टिभ अभियान चलाउन आवश्यक छ।
युवाहरूले अब डिजिटल प्लेटफर्महरूमा छिरेर स्वस्थ बहसको वातावरण निर्माण गर्न ‘सिभिक इन्गेजमेन्ट’ (नागरिक सहभागिता) बढाउनुपर्छ। हामी प्रविधिको ‘दास’ बन्ने कि ‘विवेकपूर्ण प्रयोगकर्ता’ बन्ने? यो निर्णय गर्ने बेला आइसकेको छ। हाम्रो मौलिक ज्ञान र मानवीय मूल्यलाई जोगाउँदै प्रविधिलाई एउटा औजारको रूपमा मात्र प्रयोग गर्न सक्नु नै आजको वास्तविक सफलता हो।