मोरङ । दमकबाट तमोर करिडोर हुँदै फिदिम जाँदै गरेको बोलेरोलाई टिपरले ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी–३ पुरानो मालपोत अगाडि आज बिहान भएको दुर्घटनामा २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए ।
उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र१ख ९६७६ नम्बरको टिपरले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसलाई ठक्कर दिँदै सोही दिशामा रहेको मे१ज २८५६ नम्बरको बोलेरोलार्ई ठक्कर दिएको थियो । मृत्यु हुनेहरुमा बोलेरोमा सवार झापा कमल गाउँपालिकाका ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँका ४४ वर्षीया गीता खनाल रहेका छन् ।
उनीहरुको घटनास्थलमै मृत्यु भएको र अन्य ५ जना गम्भीर अवस्थामा रहेका प्रहरी निरीक्षक दाहालले बताए । घाइतेको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।