कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु

दियो पोस्ट  

काठमाडौं । उदयपुरको कटारीमा बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

शुक्रबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको हो । ना१ज ८३३३ नंको जिप दुर्घटनामा परेर कटारी नपा–८ थलियाका ७० वर्षीय वीरबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको थियो ।

वडाध्यक्ष नवीन तामाङका अनुसार कटारी–७ मर्जेतपुरकै अन्दाजी ३० वर्षीय लालकुमारी तामाङको पनि मृत्यु भएको छ । घटनामा गम्भीर घाइते लालकुमारीको कटारी अस्पतालमा उपचार सम्भव नभई थप उपचारका लागि विराटनगर पठाइएको थियो ।

लालकुमारीको विराटनगरस्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । जिप चालक कटारी–८ का ३३ वर्षीय थर्मसिंह तामाङ प्रहरीको नियन्त्रणमा छन् ।

शुक्रबार साँझ कटारी बजारबाट थलियातर्फ गइरहेको जिप कटारी–७ मर्जेतपुरमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर १३ जना घाइते भएका थिए । घाइतेमध्ये अहिले आठजनाको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।