
काठमाडौं । जडिबुटी संकलनको क्रममा सम्पर्कबिहिन भएका भनिएको जुम्लाको तातोपानी गाउँपालिकाका ८ जना सम्पर्कमा आएका छन् । जडिबुटी संकलनको क्रममा १८ गतेदेखि हिउँमा फसेका उनीहरु चार दिनपछि सम्पर्कमा आएका हुन् ।
जडिबुटी संकलनको लागि गएका ८ जना तातोपानी गाउँपालिका वडा न ४ का स्थानिय हुन् । जसमध्ये ६ जना महिला र २ जना पुरुषहरु छन् । उनीहरु सोहि वडाको पाटन क्षेत्र गजेडीमा यहि फागुन १८ मा जडिबुटी संकलनको लागि गएका थिए ।
उक्त क्षेत्रमा १८ गतेदेखि नै हिमपात भएको थियो भने हिमपातपछि उनीहरु सम्पर्कबिहिन बनेका थिए । तातोपानी गाउँपालिकाको पहलमा उद्धार कार्य अघि बढ्ने भएको छ । उद्धारको लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर पठाउने तयारी भइरहेको छ ।
सम्पर्कबिहिन बनेको चार दिनपछि सम्पर्कमा आएका उनीहरुको सकुशल उद्धारको पहल भइरहेको तातोपानी गाउँपालिकाका प्रवक्ता अमर बहादुर रोकायाले बताए । ‘त्यहाँ १८ गते देखि नै हिमपात सुरु भएको थियो । त्यसदिन उहाँहरुले सकुशल छौ भन्नुभयो । त्यसको भोलिपल्टदेखि हामीसँग उहाँहरुको सम्पर्क नै टुट्यो’ प्रवक्ता रोकायाले दियोपोष्टसँग भने, ‘हिजो बेलुकादेखि उहाँहरु सम्पर्कमा आउनुभएको छ । सबैजना सकुशल हुनुहुन्छ । हामीले आजै उद्धार गर्ने प्रयास गरिरहेका छौ । हिजोदेखि पुन हिमपात भइरहेको छ ।’
रोकायाकाअनुसार चार दिनसम्म हिउँमा फसेका आठै जना ओडारमा बसिरहेका छन् । उक्त क्षेत्रको मौसम हाल सामान्य अवस्थामा छ ।