गृहमन्त्री लामिछानेले भने– तस्कर, गुण्डा र अपराधीसँग प्रहरी उभिएको देख्नु नपरोस्

'नेताको चाकडी गरेको देख्न नपरोस्'

दियो पोस्ट  

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण गरेका छन्। आइतबार प्रधान कार्यालयमा निरीक्षण गर्दै उनले प्रहरी अधिकृतहरूले कुनै पनि नेताको चाकडी गरेको देख्न, सुन्न नपरोस् भन्ने निर्देशन दिएका हुन्।

‘प्रहरी कर्मचारी गैरव्यावसायिक क्रियाकलापमा संलग्न रहेको प्रमाणित भए हदैसम्मको कारबाही गरिने छ। र त्यसबेला कुनै शक्तिले भनसुन गरेर जोगाइदिन्छ भन्ने अपेक्षा विल्कुल नराख्नु होला। कानूनअन्तर्गत रहेर तपाईंहरुले गर्ने हरके कामको जिम्मेवारी लिन्छु। परेको चुनौती पनि व्यहोर्छु,’ उनले भने, ‘तस्कर, गुण्डा र अपराधीसँग प्रहरी उभिएको र हात मिलाएको दृश्य देख्नु नपरोस्, कुनै नेताको चाकडी गरेको देख्नरसुन्न नपरोस्।’

प्रहरीले हरेक नागरिकले सुरक्षित महसुस हुने गरी सेवा दिनुपर्ने बताउँदै लामिछानेले अनुसन्धान निष्पक्ष र वस्तुनिष्ठ हुनुपर्ने बताए । उनले भने, ‘आरोपित, अभियुक्त र अपराधी को र कुन पार्टीको हो भनेर अनुहार हेर्ने अवस्थाको अन्त्य हुनैपर्छ ।’