लुकाइछिपाइ ल्याएको ११ लाख भन्दा बढी रुपैयाँसहित ४ जना प्रहरी नियन्त्रणमा

दियो पोस्ट डेस्क  

मनहरि । मकवानपुर प्रहरीले लुकाइछिपाइ ल्याएको रु ११ लाख ५० हजारसहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।

पूर्व–पश्चिम सडक खण्ड अन्तरगत हेटौँडा—१५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा वीरगञ्जबाट नारायणघाट तर्फ जाँदै गरेको बिआर ०१ एआर २९९१ नम्बरको इन्डियन कारलाई शङ्का लागेर रोकी जाँच गर्ने क्रममा उक्त कारको सिटमुनी लुकाइछिपाइ ल्याएको अवैध रकमसहित ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।

पक्राउ परेकाको साथबाट एक हजार ४२ थान भारतीय पाँच सयको नोट अन्दाजी पाँच लाख २१ हजार, दुई सयका ९३ थान, १८ हजार ६००, एक सयका ९३ थान, नौ हजार ३००, रु ५० को नोट चार थान गरी जम्मा भारतीय रु पाँच लाख ४९ हजार १०० र नेपाली रुपैयाँ हजारको नोट १५० थान, रु ५०० को दुईसय थान गरी नेपाली रु दुई लाख ५० हजार फेला परेको प्रवक्ता भण्डारीले बताए ।

रकमसँगै कार चालक भारत विहार राज्य सीतामणि थाना ९९ भूभैरवो बस्ने वर्ष ३० का राकेशकुमार र सोही कारमा सवार वर्ष ३० को चन्द्रबाबु, वर्ष ३७ को अशोक राय, जिल्ला सुनसरी कोशी गाउँपालिका– ४ बस्ने वर्ष ३२ को निजाम मियाँसमेत चारजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिए ।