कारको ठक्करबाट कुवेतमा ३ नेपालीको दुर्घटनास्थलमै मृत्यु

दियो पोस्ट डेस्क  

काठमाडौं । कुवेतमा भएको सडक दुर्घटनामा तीन नेपालीको दुर्घटनास्थलमै मृत्यु भएको छ ।

मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी-साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको दुर्घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंको नागार्जुन नगरपालिका–२ सानोभर्‍याङ बस्ने सुजन कार्की, पञ्चदेवल विनायक नगरपालिका–५ अछामका सुरजबहादुर कडायत र वेंगाडावर–३ मिथिला नगरपालिका धनुषाका धिरज गुर्माछान मगर रहेका छन् ।

मृतकहरु कुवेतको एउटै पापाजोन कम्पनीमा कार्यरत सहकर्मी थिए । उनीहरू कुवेतको महाबुल्ला बस्ने साथीलाई भेटेर फर्किने क्रममा बाटो काट्दा कारले ठक्कर दिँदा तीनै जनाको घटनास्थलमै निधन भएको हो ।

नेपाली दूतावासका सूचना अधिकारी प्रेमराज गौतमका अनुसार उनीहरूको पासपोर्टमा भएको ठेगानाका आधारमा परिवारसँग सम्पर्क गरेर प्रक्रिया पुरा गरी शवहरूलाई नेपाल पठाइने बताएका छन् ।

कार्कीले २०२३ फेब्रुअरी, कडायतले २०२२ अगष्ट, र मगरले २०२२ अप्रिल महिनामा कुवेतमा बस्ने अनुमति पाएका थिए।