काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ। आयोगका अनुसार समानुपातिक प्रणालीमा प्राप्त मतका आधारमा सीमित दलहरू मात्र राष्ट्रिय दलको हैसियतमा देखिएका छन् भने धेरैजसो साना दलहरूले न्यून मत पाएका छन्।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा धेरै मत ल्याउँदै अग्रस्थानमा रहेको छ। रास्वपाले ५१ लाख ५० हजार ८५८ मत प्राप्त गरेको आयोगले जनाएको छ।
प्रमुख दलहरूमध्ये नेपाली कांग्रेसले १७ लाख ५४ हजार ६९९ मत प्राप्त गरेको छ भने नेकपा (एमाले)ले १४ लाख ५२ हजार ७४ मत हासिल गरेको छ। त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ८ लाख ९ हजार २९० मत प्राप्त गरेको आयोगको तथ्यांकमा उल्लेख छ।
अन्य दलतर्फ श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ६८९ मत ल्याएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ लाख ३० हजार ११८ मत प्राप्त गरेको छ। यसैगरी जनता समाजवादी पार्टी (जसपा)ले १ लाख ७५ हजार ३३९ र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ९०३ मत प्राप्त गरेका छन्।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ प्रतिस्पर्धामा रहेका ४७ वटा दलले भने एक लाखभन्दा कम मत प्राप्त गरेका छन्। तीमध्ये अधिकांश साना दलहरूले केही हजारदेखि केही सयसम्म मात्र मत पाएका छन्।
नेपालको समानुपातिक निर्वाचन प्रणालीअनुसार प्रतिनिधिसभाका ११० सिट दलहरूले प्राप्त गरेको कुल मतको अनुपातका आधारमा बाँडफाँट गरिन्छ। तर सिट पाउनका लागि कुनै पनि दलले कम्तीमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।
आयोगले सार्वजनिक अन्तिम मतपरिणामका आधारमा अब दलहरूको सिट बाँडफाँट प्रक्रिया अघि बढाइने जनाएको छ।
