काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान विभागका तत्कालिन महानिर्देशक झलकराम अधिकारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
राजश्व चुहावटबाट बच्नका लागि एचके ईन्टरप्राइजेजका तर्फबाट अधिकारीले ७० लाख रुपैयाँ घुस रिसवत लिएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो । उक्त कम्पनिका श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट उनले ७० लाख रुपैयाँ लिएको अख्यितारको दाबी छ ।
घुस लिनका लागि पोखराको कुटि रिसोर्टका साहु देवेन्द्र केसी, विकास चापागाइँ र रविन्द्र लामिछानेसँग समेत सल्लाह गरेको र खाता प्रयोग गरेको अख्तियारको दाबी छ ।
घुस रकमको स्वरुप परिवर्तन गरि भक्तपुरको थिमी नगरपालिका वडा नम्बर १७ हाल (२) स्थित दिव्यश्वरी आयोजना भित्रको कित्ता नम्बर ९९८ को क्षेत्रफल १६४ वर्गमिटरको ५ आना जग्गा खरिद तथा देवेन्द्र केसी समेत संचालक रहेको द कुुटी रिसोर्टको कर्जा भुक्तानी गर्न समेत प्रयोग भएको अख्यितारले पुष्टि गरेको छ ।
घुस रकमहरु देवेन्द्र केसीको लुम्बिनी विकास बैंकको खातामा २०७९ साउन २४ गते नै २० लाख रुपैयाँ दाखिला गरेको पाइएको छ । केसीलाई २० लाख रुपैयाँ बिगो दाबी गरि भ्रष्टाचार मुद्दा दायर भएको छ ।
रविन्द्र लामिछानेलाई भने ५० लाख रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनीहरु विरुद्ध सम्पत्ति सुद्धिकरण असुरमा समेत मुद्दा दायर भएको छ ।