काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीलाई लिएर आलोचना बढेको छ। सूचीमा प्रभावशाली नेताहरूका आफन्तहरू समावेश भएको भन्दै सामाजिक सञ्जालदेखि पार्टीभित्रै प्रश्न उठ्न थालेका छन्।
समानुपातिक निर्वाचन प्रणालीको मूल उद्देश्य महिला, दलित, जनजाति तथा पिछडिएका समुदायलाई प्रतिनिधित्व सुनिश्चित गर्नु भए पनि कांग्रेसको सूचीमा प्रभावशाली नेताका परिवार र आफन्तले प्राथमिकता पाएको भन्दै आलोचना सुरु भएको हो ।
कांग्रेसले विभिन्न क्लस्टरबाट अर्जुन नरसिंह केसी, मोहनचन्द्र यादव, रीना उप्रेती, निनु कुमारी कर्ण र रेखा कुमारी यादवलाई समानुपातिकतर्फ सिफारिस गरेको छ। यी नामहरु पार्टीका बिभिन्न नेताका पारिवारिक नाता अन्तर्गत पर्दछन् ।
समानुपातिक सुचीको खस आर्य अन्तर्गत सिफारिस भएका अर्जुन नरसिंह केसी कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री हुन्। उनी पार्टीका प्रभावशाली नेता गगन थापाका ससुरा पनि हुन्।
त्यस्तै समानुपातिकबाट सांसद बनेकी रीना उप्रेती कांग्रेस नेता तथा पूर्वमन्त्री बलबहादुर केसीकी श्रीमती हुन्।
पूर्वराष्ट्रपति डा. रामवरण यादवका परिवारका सदस्यहरू पनि सूचीमा परेका छन्। उनका छोरा चन्द्रमोहन यादव मधेशी पुरुष क्लस्टरबाट तथा भतिजी रेखा कुमारी यादव मधेशी महिला क्लस्टरबाट समानुपातिक सांसद बनेका छन्। रेखा कुमारी यादव स्वर्गीय रामलगन यादवकी छोरी हुन्, जो रामवरण यादवका दाइ थिए।
मधेशी क्लस्टरबाट चन्द्रमोहन र रेखासँगै धनुषाकी निनु कर्ण पनि सांसद बनेकी छिन्। उनी कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिकी भान्जी हुन्।
यी नामहरू सार्वजनिक भएपछि पार्टीभित्रै टिकट वितरणमा वंशवाद र पहुँचको प्रभाव परेको भन्ने आलोचना चुलिएको छ। आलोचकहरूका अनुसार प्रभावशाली नेताका आफन्तलाई प्राथमिकता दिँदा समानुपातिक प्रणालीको मूल उद्देश्य कमजोर हुन सक्छ।
सामाजिक सञ्जालमा पनि ‘समानुपातिक सूचीमा परिवारवाद हाबी भएको भन्दै व्यापक टिप्पणी भइरहेको छ।
यता कांग्रेस नेतृत्वले भने सूची तयार गर्दा विभिन्न समुदाय, क्षेत्र र अनुभवलाई सन्तुलनमा राखेर निर्णय गरिएको दाबी गरेको छ। पार्टीका नेताहरूका अनुसार लामो समयदेखि पार्टीमा सक्रिय तथा विभिन्न सामाजिक क्षेत्रबाट योगदान दिएका व्यक्तिलाई पनि अवसर दिइएको बताइएको छ।