भारतको ओडिसा राज्यको कटकस्थित एक अस्पतालमा भीषण आगलागी हुँदा १० जना बिरामीको मृत्यु भएको छ । श्रीराम चन्द्र भञ्ज मेडिकल कलेजको ट्रमा केयर आईसीयूमा आइतबार राति करिब साढे दुई बजेतिर आगो लागेपछि बिरामीलाई अन्य वार्डमा सार्ने क्रममा उनीहरुको ज्यान गएको हो ।
आगलागी भएको समयमा आईसीयूमा दुई दर्जनजति गम्भीर बिरामी उपचाररत रहेको बताइएको छ । । घटनापछि अस्पताल प्रशासन र दमकल टोलीले तत्काल उद्धार तथा नियन्त्रण कार्य थालेका थिए। केही समयको प्रयासपछि आगो नियन्त्रणमा ल्याइएको बताइएको छ। अन्य बिरामीलाई सुरक्षित स्थानमा सारेर उपचार जारी राखिएको अस्पताल स्रोतले जनाएको छ।
घटनामा बिरामीलाई बचाउने क्रममा केही स्वास्थ्यकर्मी पनि घाइते भएका छन्। घाइतेहरूको अस्पतालमै उपचार भइरहेको जनाइएको छ।
यस घटनाबारे ओडिसाका मुख्यमन्त्री मोहन चरन माझीले घटनाको छानबिन गर्ने घोषणा गरेका छन् । आगलागीको वास्तविक कारण भने अझै खुल्न सकेको छैन।
मुख्यमन्त्री माझीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् र घटनाको विस्तृत अनुसन्धान गरिने बताएका छन्।