कालीगण्डकी नदीको ‘अवैध’ दोहन रोक्न संयुक्त अनुगमन प्रक्रिया सुरु

दियोपोस्ट संवाददाता  

काठमाडौँ । कालीगण्डकी नदीमा भइरहेको अवैध दोहन रोक्न सरोकारवाला निकायले संयुक्त अनुगमन सुरु गरेका छन् । बागलुङ नगरपालिका–१३ अन्तर्गत पर्ने कालाखोला आसपास र मालढुङ्गा क्षेत्रमा नदी दोहन भएको गुनासो आएपछि सरोकारवाला निकायले स्थलमै पुगेर निरीक्षण गरेका हुन्।

अनुगमनका क्रममा कालाखोला क्षेत्रमा सबैभन्दा बढी दोहन भएको पाइएको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले जानकारी दिए। नदीमै पुगेर निरीक्षण गर्दा एस्काभेटर प्रयोग गरी गहिरा खाडल बनाएर नदी उत्खनन गरिएको भेटिएको उनले बताए। मापदण्डविपरीत दोहन गर्नेहरूलाई अनुसन्धानपछि कानुनी कारबाहीको दायरामा ल्याइने थापाको भनाइ छ।

कालाखोला क्षेत्रमा करिब ३०० मिटर लामो, १०० मिटर चौडा र सात मिटरसम्म गहिरो खाल्डो बनाएर नदी दोहन गरिएको पाइएको छ। बालुवा उत्खनन गर्ने नाममा ढुङ्गासमेत निकालिएको तथा यसले स्थानीय वातावरणमा समेत नकारात्मक असर पर्ने गरी जथाभावी दोहन गरिएको अनुगमन टोलीले जनाएको छ।

वातावरणीय प्रभाव मूल्याङ्कन (आइइई) प्रतिवेदन अनुसार अधिकतम १ दशमलव २० मिटर गहिराइसम्म मात्र बालुवा उत्खनन गर्न पाइने व्यवस्था छ। तर वास्तविकतामा पानीको बहाव नै परिवर्तन गरेर अत्यधिक मात्रामा बालुवा र ढुङ्गा निकालिएको तथा नदीको स्वरूप नै बिगारिएको पाइएको छ। दोहनपछि खाल्डा पुरेझै देखाउन पानी लगाएर सतह मिलाइएको पनि अनुगमनमा देखिएको थापाले बताए।

आइतबार जिल्ला समन्वय समितिका प्रमुख थापाको नेतृत्वमा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्राविधिकसहित विभिन्न निकायका प्रतिनिधिले संयुक्त अनुगमन गरेका थिए।

प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार प्राविधिक टोलीबाट विस्तृत अध्ययन गराई यथार्थ प्रतिवेदन तयार पारिनेछ। आइइई प्रतिवेदनभन्दा बढी के कति मात्रामा दोहन भएको छ भन्ने तथ्य समेत पत्ता लगाइने उनले बताए । साथै अवैध रूपमा निकालिएको सामग्री घातगादी गरेर नगरपालिकाको आम्दानीमा समावेश गर्ने र दोषीलाई कारबाही गर्ने तयारी गरिएको उनको भनाई छ ।

अनुगमनका क्रममा कालाखोला क्षेत्रमा प्रतिक निर्माण सेवा र मालढुङ्गा क्षेत्रमा विधि निर्माण सेवाले नदी दोहन गरिरहेको भेटिएको जनाइएको छ।

सिफारिस