त्रिविको जंगलमा किन मरिरहेका छन् कागहरु? सरोकारवाला निकाय बेखवर !

दियोपोस्ट संवाददाता  

काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालय (त्रिवि) परिसरमा जंगल क्षेत्रमा पछिल्ला दिनमा ठुलो संख्यामा कागहरू मृत अवस्थामा फेला पर्न थालेका छन् । स्थानीयका अनुसार काठमाडौँ उपत्यकामा कागहरूको प्रमुख बासस्थानमध्ये एक मानिने उक्त जंगलमा ठुलो संख्यामा काग मृत भेटिने गरेका हुन् ।

केही दिनयता जंगलभित्र र वरपरका रूखमुनि कागहरू मरेको अवस्थामा भेटिने क्रम बढेको स्थानीयहरु बताउँछन् । कतिपय काग अचानक रूखबाट खसेको जस्तो देखिने गरी मृत अवस्थामा भेटिएको स्थानीयको भनाई छ ।

यस घटनाबारे किर्तिपुर नगरपालिका बेखबर छ । कागहरु मरिरहेको विषयमा आफुहरुलाई कुनै जानकारी नभएको किर्तिपुर नगरपालिकाका प्रवक्ता दिवाकर अधिकारीले बताए । उनले भने,‘ठुलो संख्यामा कागहरु मरिरहेको भन्ने बारेमा हामीलाई कुनै जानकारी छैन । तर केही दिन अघि साँझ पख हाम्रो क्षेत्रको आकाशमा हजारौँ कागहरु देखिएका थिए । यति धेरै कागहरु आकाशमा एकैपटक देखिएपछि म आफैलाई अचम्म लागेको थियो ।’

कहिलेकाँही बिजुलीको नाङ्गो तारमा करेन्ट लागेर केही कागहरु मरेको देखिए पनि जंगलमै ठुलो संख्यामा कागहरु मरिरहेको विषयमा पक्षी विज्ञको टोली पठाएर अनुसन्धान गरिने प्रवक्ता अधिकारीले बताए ।

जंगल परिसरमै कागहरूको मृत्युको कारणबारे विभिन्न अनुमान गर्न थालिएको छ । कतिपयले विषादी खाएर मरेका मुसा खाँदा कागहरू मरेको हुन सक्ने आशंका गरेका छन् भने केहीले कुनै रोगको संक्रमण भएको हुन सक्ने बताएका छन्।

तर विषाक्त मुसा खाएर काग मरेको विषयमा सत्यता नभएको प्रवक्ता अधिकारीको भनाई छ । ‘मुसा खाएर एक दुई वटा काग मर्न सक्छन्, तर ठुलो संख्यामा काग मर्नुको कारण चरा सम्वन्धि कुनै रोगब्याधी आएको पनि हुन सक्छ,’ उनले भने, ‘यस विषयमा नगरपालिकाले अनुसन्धान गरि आवश्यक कदम चाल्छ । काग जस्ता चराहरु बँचाउने विषयमा नगरपालिका गंभिर छ ।’

यता, किर्तिपुर नगरपालिकाका पशुपक्षी विज्ञ डाक्टर सहलेस महर्जनले मृत्यु भएका कागहरुको तथ्यांक संकलन गरिने बताए । कागहरु मर्ने कारण धेरै भएता पनि ल्यावमा परिक्षण नगरि केही भन्न नसकिने उनको भनाई छ ।

कागहरू सर्वभक्षी हुने भएकाले फोहोर, सडेगलेका मासु खाने र विष हालेर मारिएको मुसा वा अन्य साना जनावर खाएमा पनि अप्रत्यक्ष रूपमा विषले कागको मृत्यु हुन सक्ने सम्भावना रहने डाक्टर महर्जनले बताए ।।

उनले भने, ‘हामीले कागहरु मरेको विषयमा पहिले तथ्यांक संकलन गर्छौँ र पशु सेवा बिभाग लगायत संवन्धित निकायलाई समेत जानकारी गराई समस्या समाधान गर्न तिर लाग्छौँ ।’

त्यसो त, मौसमीय कारण पनि काग मृत्युको अर्को सम्भावना हुन सक्ने र आहारको कमी वा कमजोर स्वास्थ्य भएका पक्षीहरू जाडोका कारण मर्न सक्ने विज्ञहरू बताउँछन्।

यस विषयमा वास्तविक कारण पत्ता लगाउन मृत कागहरूको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गर्नुपर्ने सरोकारवालाहरूको भनाइ छ। स्थानीयले सम्बन्धित निकायले घटनाबारे छानबिन गर्नुपर्ने माग गरेका छन्।

कागहरू शहरी पारिस्थितिक प्रणालीका महत्त्वपूर्ण पक्षी मानिन्छन्। उनीहरूले सडेगलेका पदार्थ र फोहोर खाएर वातावरण सफा राख्न सहयोग गर्ने भएकाले ठूलो सङ्ख्यामा काग मर्नु पर्यावरणीय दृष्टिले चिन्ताको विषय हुन सक्ने वातावरणविद्हरू बताउँछन्।

 

सिफारिस