फेक रेस्क्युमा अन्तर्राष्ट्रिय मिडियामा बद्नाम राम सापकोटा सीआइबीको ‘राडार’ बाहिरै !

दियोपोस्ट संवाददाता  

काठमाडौं । उच्च हिमाली भेगमा पदयात्राका लागि आउने विदेशी पर्यटकलाई फर्जी उद्दारका नाममा बीमा ठगी धन्दा गर्नेहरु विरुद्ध केन्द्रिय अनुसन्धान ब्यरो (सीआइबी)ले अनुसन्धान गरिरहेको छ । पहिलो चरणमा पक्राउ परेका १० जनासहित २३ जनालाई प्रतिवादी बनाएर सीआइबीले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । ट्रेकिङ, अस्पताल, रेस्क्यु, हेलिकोप्टरसहित ३१ कम्पनिलाई मुद्दा दायर गर्न सीआईबीको सिफारिस छ । तर, लामो समय देखि फेक रेस्क्यु धन्दामा बद्नाम रहेका एक पात्रलाई भने सीआइबीले अनुसन्धान समेत नगरेको खुलेको छ ।

धादिङको खहरे घर भएका हाल राष्ट्रिय स्वतन्त्र पार्टीको नेता समेत रहेका राम प्रसाद सापकोटालाई सीआइबीले अनुसन्धान नगरेकोमा पर्यटन क्षेत्रकै व्यक्तिहरु आश्चर्यमा परेका छन् । तत्कालिन पर्यटन मन्त्रालयका सहसचिव हाल अर्थसचिव घनश्याम उपाध्यायको नेतृत्वको उच्चस्तरिय छानबीन समितिले सापकोटाको स्वामित्व रहेको हिमालयन सोसियल जर्नी नामक कम्पनिलाई फेक रेस्क्यु धन्दामा कारबाही गर्न सिफारिस गरेको थियो । तत्कालिन केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख (एआइजी) निरज शाहीले फेक रेस्क्युमा संलग्नहरुलाई मुद्दा नै नचलाई उन्मुक्ति दिएका थिए । यसरी उन्मुक्ति पाउनेमा सापकोटा नै अग्रपंक्तिमा थिए । अन्तर्राष्ट्रिय न्युज एजेन्सी एएफपीले सापकोटा नेतृत्वको हिमालयन सोशियल जर्नीले गरेको फेक रेस्क्यु धन्दाबारे लामो रिपोर्टिङ गरेको थियो । सापकोटाबारे सन् २०१८ मा विश्वभरका १ सय भन्दा बढी विदेशी मिडियामा समाचार प्रकाशन भएको थियो ।
फ्रान्सबाट प्रकाशित फ्रान्स २४ मा प्रकाशित एएफपीको रिपोर्ट अनुसार एभरेष्ट बेस क्याम्पमा हेलिकप्टर उद्धारका क्रममा एक अष्ट्रेलियाली पदयात्रीमाथि ठगी भएको उल्लेख छ ।

अक्टोबर २०१७ मा सगरमाथा आधार शिविर (एभरेष्ट बेस क्याम्प) नजिकै पदयात्रा गरिरहेकी अष्ट्रेलियाली पदयात्री जेसिका रिभ्सलाई सामान्य रुघाखोकी लाग्दा उनका गाइडले तुरुन्तै हेलिकप्टरबाट उद्धार गर्न दबाब दिएको रिपोर्टमा उल्लेख छ ।

 

“उनले मलाई बारम्बार हेलिकप्टर मगाउन भनिरहे,“ रिभ्सले एएफपीसँग भनेकी थिइन्, “यदि मैले यात्रा जारी राखे त्यो निकै जोखिमपूर्ण हुने र पछि पछुताउनु भन्दा बेलैमा फर्कनु राम्रो हुने उनीहरूले बताएका थिए ।’

रिभ्सका अनुसार उनको समूहका ९ देखि १० जना पदयात्रीहरू तीनवटा छुट्टाछुट्टै हेलिकप्टरमार्फत काठमाडौँ फर्किएका थिए । तर, फर्कने क्रममा उनीहरूलाई एउटा हेलिकप्टरमा आफू मात्र एक्लै भएको भन्न निर्देशन दिइएको थियो ।

रिभ्सले सापकोटाको स्वामित्व रहेको ट्रेकिङ कम्पनी ‘हिमालयन सोसल जर्नी’ माथि गम्भीर आरोप लगाएकी थिइन् । उनका अनुसार उक्त कम्पनीले प्रत्येक पर्यटकको बीमा प्रदायकसँग पूरै उडानको छुट्टाछुट्टै बिल पठाएर करिब ३५,००० डलर अवैध रूपमा आर्जन गरेको थियो ।

“हामीलाई बीमा कम्पनीसँग झुट बोल्न लगाइएको थियो । हेलिकप्टरमा ३ देखि ४ जना सवार हुँदाहुँदै पनि बीमा दाबी गर्दा भने आफू मात्र एक्लै भएको भन्न भनिएको थियो,’ उनले भनेकी छिन् ।

सन् २०१८ जुन १९ मा विश्वका अधिकांश संचार माध्यममा यो खबर छापिएको थियो । लुक्लामै आएर एएफपीका रिपोर्टरले समाचार संकलन गरेका थिए । चीनबाट प्रकाशित साउथ चाइना मर्निङ पोस्ट, द स्ट्रेट टाइम्स, सिंगापुरस्थित याहु न्युज लगायतले यो समाचार प्रकाशन गरेका थिए ।

हाल सीआइबीले फेक रेस्क्युमा संलग्नहरुको हस्पिटल, रेस्क्यु कम्पनि, ट्रेकिङ कम्पनि र हेलिकोप्टरमा समेत लगानी रहेको अनुसन्धानमा देखिएको छ । सापकोटाले ट्रेकिङ कम्पनिसहित अल्टिच्युड एयरमा समेत लगानी गरेका छन् । उनी समेत संचालक रहेको अल्टिच्युड एयरलाई भने फेक रेस्क्युमा मुद्दा लगाउन सीआइबीले सरकारी वकिल कार्यालयमा सिफारिस गरेको छ ।


प्रहरी अनुसन्धान केन्द्रिय ब्युरो सीआइबीका प्रवक्ता शिव कुमार श्रेष्ठभने अहिले बुझाइएको अनुसन्धान प्रतिवेदन फेक रेस्क्युको सानो अंश मात्रै रहेको बताउँछन् । ‘हामीले पुराना फाइल त खोलेकै छैनौँ । अहिले हामीले नै फेला पारेको प्रमाण र हदम्यादले समेत धान्ने फेक रेस्क्यु सम्बन्धी तथ्यलाई लिएर अनुसन्धान गरेका हौँ,’ उनले भने,‘यसअघि पर्यटन मन्त्रालयले सिफारिस गरेका कम्पनिहरुको हकमा अझै विस्तृत र बृहत अनुसन्धान हामीले गर्दै छौँ ।’

सिफारिस