समानुपातिकतर्फ निर्वाचित सांसदलाई चैत ५ गते प्रमाणपत्र वितरण गरिने

दियोपोस्ट संवाददाता  

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित प्रतिनिधिसभा सदस्यलाई आगामी चैत ५ गते प्रमाणपत्र प्रदान गर्ने भएको छ। समानुपातिकतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार सोही दिन बिहान ११ः३० बजे आयोग परिसरमा प्रमाणपत्र वितरण कार्यक्रम तय गरिएको छ।

राजनीतिक दलहरूले सिफारिस गरेका उम्मेदवारहरूको विवरण सार्वजनिक गर्दै आयोगले उनीहरूलाई निर्वाचित घोषणा गरिसकेको छ। साथै, निर्वाचित सदस्यहरूलाई सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र तथा दुई प्रति पासपोर्ट साइज फोटोसहित आवश्यक विवरण बुझाउन आयोगले आग्रह गरेको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट छ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन्। समानुपातिक प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट, नेपाली कांग्रेसले २०, नेकपा (एमाले)ले १६, नेकपाले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट प्राप्त गरेका छन्।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष र ११० सदस्य समानुपातिक प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ। आयोगले समानुपातिकतर्फका निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गरेपछि यसपटकको निर्वाचन प्रक्रिया औपचारिक रूपमा सम्पन्न हुने छ।

सिफारिस