ग्यास लुकाएर राखेको भेटिएपछि ललितपुरस्थित श्रीराम ग्यास उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना

दियोपोस्ट संवाददाता  

काठमाडौँ । ललितपुरस्थित हरिसिद्धिमा रहेको श्रीराम ग्यास उद्योगको गोदाममा ग्यास सिलिण्डर लुकाएर राखिएको भेटिएपछि तीन लाख रुपैयाँ जरिवाना गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार गरेको अनुगमनका क्रममा १४.२ किलोग्रामका ६ हजार ३७७ वटा ग्यास सिलिण्डर बरामद भएपछि कारबाही गरिएको हो।

विभागले खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। यस्ता गतिविधिबारे कुनै जानकारी प्राप्त भएमा निःशुल्क टेलिफोन नम्बर ११३७ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

पछिल्ला दिनहरूमा ग्यासमा कालोबजारी बढ्दै गएको, कृत्रिम अभाव सिर्जना गर्न सिलिण्डर लुकाउने र महँगो मूल्यमा बिक्री गर्ने प्रवृत्ति देखिएको विभागले जनाएको छ। उपभोक्ताबाट प्राप्त सूचनाले यस्ता अवैध गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गरिएको छ।

नेपाल आयल निगमले आधा सिलिण्डर ग्यास बिक्रीको व्यवस्था गरे पनि बजारमा अझै अभाव कायमै रहेको छ। यसबीच, अनुचित व्यापारिक गतिविधिमा संलग्न जो कोहीलाई कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।

देशभरबाट सजिलै सम्पर्क गर्न मिल्ने गरी निःशुल्क टेलिफोन सेवा सञ्चालनमा ल्याइएको जानकारी दिँदै विभागले पछिल्लो समय विभिन्न स्थानमा अनुगमनलाई तीव्र बनाएको जनाएको छ। अनुगमनका क्रममा कुनै कैफियत भेटिएमा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार तुरुन्तै कारबाही गरिने उल्लेख गरिएको छ।

उच्च मागको अवस्थामा आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउने, कृत्रिम अभाव हटाउने तथा गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले विभाग सक्रिय रहेको जनाएको छ। साथै, ग्यास उत्पादक तथा वितरकलाई कानुनअनुसार व्यवसाय सञ्चालन गर्न र कुनै पनि अवैध कार्य नगर्न सचेत गराएको छ।