काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रम आजबाट ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा सुरु भएको छ। कार्यक्रमको उद्घाटन उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले संयुक्त रूपमा घन्टी बजाएर गरेका छन्।
यद्यपी, उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने उपस्थित भएका छैनन् । पार्टीका अनुसार कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने छ।
रास्वपाका स्रोतका अनुसार अभिमुखीकरण कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तित्वहरूले सांसदहरूलाई प्रशिक्षण दिइरहेका छन्। संविधान र कानुनका विज्ञहरूले संसदीय व्यवस्था, सांसदको अधिकार र दायित्वबारे प्रशिक्षण दिएका छन् भने पूर्व प्रशासक र नीतिविज्ञहरूले सार्वजनिक प्रशासन र सुशासनसम्बन्धी विषयमा सहजीकरण गरिरहेका छन्।
यस्तै, आर्थिक तथा विकाससम्बन्धी विज्ञहरूले बजेट प्रक्रिया, अर्थतन्त्रको आधारभूत संरचना र विकास प्राथमिकताबारे जानकारी गराएका छन्। संसदीय अभ्यासमा अनुभव भएका व्यक्तिहरूले संसदमा प्रभावकारी रूपमा प्रस्तुत हुने, प्रश्न उठाउने र विधेयक प्रक्रियामा सहभागी हुने तरिकाबारे प्रशिक्षण दिएका छन्।
अभिमुखीकरणमा संविधान, विधायन प्रक्रिया, संसदीय समिति प्रणाली, सुशासन, पारदर्शिता, बजेट विश्लेषण, मिडियासँगको सम्बन्ध र सामाजिक सञ्जालको जिम्मेवार प्रयोग लगायतका विषय समेटिएका छन्। साथै, पार्टीको नीति, सिद्धान्त र आन्तरिक अनुशासनबारे पनि सांसदहरूलाई जानकारी गराइएको छ।
नयाँ सांसदहरूलाई संसदीय कार्यप्रणालीबारे स्पष्ट पार्दै प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ।