अनि म ‘आतंककारी’ भएँ

Diyo post  

रीता बुढाथोकी

१८ माघ ०५८ ।


करिब सयजना जति हतियारधारीले हाम्रो घर घेरे । घरमा आमा, दाइ र म थियौँ । आमा मही पार्दै हुनुहुन्थ्यो ।

म भान्सामा कुराउनी कोर्दै थिएँ । दाई गोठ नजिकै दाउरा चिर्दैथिए । बाहिर केही गल्याङ्ग मल्याङ्ग आवाज आयो । केही अपरिचत आवाज थियो । म हतपत बाहिर निस्केँ, ठाने कोही पाहुना आए होलान् । बाहिर निस्केर हेर्दा बन्दुक बोकेका धेरै मान्छेको हुल देख् । एकैचोटी यती धेरै बन्दुकधारी देखेर म तर्सिए । बन्दुकधारी मध्ये एकजना कठोर शैलीमा चिच्यायो,– ‘घरमा को–को छ ? सबै बाहिर निस्क ।’ प्रश्नको जवाफ नआउँदै एउटा सिपाही गोठतिर लाग्यो, दाउरा चिर्दै गरेका दाई बन्दुकधारीलाई देखेपछि डराएर बाख्राको खोरमा लुक्न खोजे । दुईजना सिपाहीले दाइलाई समाइहाले । स्कुलमा फुटबल खेल्ने मेरो दाइको खुट्टामा केही चोटहरु थिए ।

दाह्रीजुङ्गा नभएको होचो कदको गहुँगोरो वर्णको एउटा बन्दुकधारीले दाइको पेटमा बन्दुकको कुन्दाले घोँच्दै भन्यो, ‘खुट्टामा चोट कसरी लाग्यो? कति वटा चौकी आक्रमण गरिस् ? हाम्रा कतिजना सुरक्षाकर्मी मारिस् ? हामीबाट लुटेका बन्दुक र हतियार कहाँ छन् ?’ दाई चुपचाप बन्ुदकधारीका कुरा सुनिरहेका थिए । लाग्थ्यो, उनीसंग सिपाहीको प्रश्नको कुनै उत्तर छैन ।


माघ महिनाकोे कठ्याग्रिदोँ जाडो । भर्खर झुल्केको घाममा कुनै न्यानोपन थिएन । आँगनमा उभिएका दाइ काँपिरहेका थिए, जाडो र डर दुवैले हुनसक्छ । यी प्रश्न पुरा नहुँदै सिपाहीले दाइको हातमा हतकडी लगाइसकेको थियो ।

किन नबोलेको ? भन्दै बन्दुकधारीले आफ्नो बन्दुकको नालले दाइको कन्चटमा जोडले हिर्कायो । दाइको देब्रे पट्टीको कानबाट बगेको रगतका थोपाले आगन रंक्त रञ्जित भयो । आमा नौनी लतपतिएको हातसँगै बाहिर निस्केर बोल्नुभयो, ‘मेरो छोराले के बिराम गर्‍यो र हजुर ? मेरो बाबुलाई किन पिट्नु हुन्छ ? बिना कसुर यो बालखालाई यसरी पिट्नु त भएन नी, कठै ! कानको जाली नै फुट्यो होला ।’ आमा नजिक गएर दाइको कानबाट बगेको रगत पुछ्न खोज्दै हुनुहुन्थ्यो ।


वास्तवमा दाई निर्दोष थिए । आमाले सहन सक्नु भएन । उहाँ रोइरहनु भए जस्तो लाग्थ्यो । ‘हामी निर्दोष मान्छेलाई किन यसरी दुख दिनु हुन्छ ? हामीसंग के छ र ? चेकजाँचका नाममा सोझा साझा जनतामाथि अत्याचार गर्नु त भएन नि?’ आमाले बोल्ने आँट गर्नु भयो ।

‘ए ! यो आइमाइ त आतंककारीको नेता पो रैछ । बढो अधिकार चाहिएको छ हैन तँलाई? तिमीहरु सबैजनालाई एउटै चिहान बनाइदिन्छु । यसलाई हतकडी लगाइ हाल !’ कमाण्डर कड्केर बोल्यो । मेरी आमालाई सेनाले आतंककारी भनेर हतकडी लगाइदिए । हतकडी लगाइएका आमाका हात चिसोले भन्दा पनि डरले थरथर काँपिरहेका थिए ।


म चुपचाप आगनको छेउमा उभिएर यी दृश्य हेरिरहेकी थिए । के भइरहेको छ? किन भइरहेको छ? कस्तो बिपत्ति आइलाग्यो हामी माथि? वास्तवमा म निशब्द थिएँ । यो परिघटनाले एकैछिनमा सेना प्रतिको मेरो दृष्टिकोण पुरै नकरात्मक भयो । हाम्रो लागि राज्य छ जस्तो पनि लागेन ।

समचारमा शाही नेपाली सेनाले जनताको उद्धार गरेकोे, जनतालाई सुरक्षा दिएको जस्ता कुराहरु सुनिन्थ्यो । तर त्यो सबै झुटो र भ्रामक लाग्यो । आमा र दाईको हातमा हतकडी लागेको देखेर मनमनै पीडाबोध भइरहेको थियो । म रोइरहेकी थिए ।

सुरक्षाकर्मी भनिनेहरुले हामीमाथि गरेको दुब्र्यबहारका कारण म भित्र आक्रोशको ज्वाला बलिरहेको थियो । सहनै सकिन । एकपटक जोडले चिच्याएँ, ‘आतंककारी त तिमीहरु हौँ, जसले हामी जस्ता निर्दोष जनतामाथि अत्याचार गरिरहेका छौँ ।’ त्यतीबेला मलाई डर पटक्कै लागेन, अँह ! लाग्दै लागेन ।


एक जना सिपाहीले मेरा दुबै हात समात्यो र मेरो गालामा जोडले हिर्कायो । बोल्यो, –‘बढी बोल्छेस्, यो घरका मान्छे सबैजना आतंककारी रहेछन्?’ मेरो आँखाबाट बर्बर आँसु झरे । केही दिन पहिले घाँस काट्दा मेरो हातमा लागेको चोट निको भएको थिएन । त्यो चोट पनि बन्दुक पड्काउदाँ अथवा चौकी आक्रमणमा लागेको चोट होला भन्ने अनुमान सिपाहीको थियो ।

उसले मसंग पनि उही प्रश्न दोहोर्‍यायाे,– ‘कुन चौकी आक्रमणममा चोट लाग्यो? कति जना सुरक्षाकर्मीको हत्या गरिस? तेरो कमाण्डर कहाँ छ? हतियार कहाँ लुकाइराखेको छ?’ आदि इत्यादीे । उसले सोधेका प्रश्नको कुनै जवाफ थिएन मसंग, म निशब्द थिएँ ।

‘निर्दोष मान्छेको छातीमा बन्दुक तेस्र्याएर किन दुख दिन्छौ, मेरो दाई र आमालाई छोडिदेउ?’ मैले रुँदै भने । ‘यो केटीले खुबै मुख खेलाउने रैछ, यसलाई पनि समात”– सिपाहीले मेरो दुबै हातमा हतकडी लगाइदियो ।


पल्लो घरमा माइली आमा एक्लै बस्नु हुन्थ्यो । उहाँले गोठमा भैँसी दुहुँदै हुनुहुन्थ्यो, हातहतियार सहितकोे हुल देखि भैँसी तर्सेर उफ्रियो । बाल्टिनको सबै दुध माइली आमाको गुन्युमा पोखियो । रित्तो बाल्टी हातमा हल्लाउँदै दूधले भिजेको गुन्यूसंगै आएर माइली आमा बोल्नु भयो,–‘यो कान्छाले के गल्ती गरेछ र सा’प ? किन समात्नु भयो यसलाई? के गल्ती गरिस ए कान्छा? गल्ती गरेको भए जा, अहिल्यै आत्महत्या गरेर आइज, रेडियोमा आत्महत्या गरेको समाचार सुनिछुु, तैँले पनि त्यसै गरेर आइज ।’

उहाँको कुरा सुनेर बन्दुकधारीहरु हाँसे । उहाँले ‘आत्मसमर्पण’ भन्न खोज्नुभएको रहेछ । एउटा सिपाही बोल्यो, ‘बिचरा, यो बूढी त एकदमै सोझी रैछ, आत्मसमर्पण भन्न पनि नजान्ने, त्यसलाई छोड ।’
यतिन्जेल अन्य सिपाहीहरुले हाम्रो घरको पुरै खानतलासी गरिसकेका थिए । घरका छाना–छाना बन्दुकको नालले खोतले । बोराकोे चामल र मकै पोखिदिए । अघिल्लो दिन टिपेर राखेको १५ डोकोजति सुन्तला आँगनभरि छरेर बुटले कुल्चे, चुलाभरि पानी पोखाइदिए । एकैछिनमा हाम्रो घर बाढी आएर सुकेको बगर जस्तै भयो ।


त्यसपछि हामीलाई हिँड भन्दै घचटे । आमा भन्दै हुनुहुन्थ्यो, ‘हामी कहाँ जाने ? किन जाने ?’
अग्लो कद अनि धोद्रो स्वर भएको, कमान्डरले जवाफ दियो, ‘सोधपुछका लागि लैजाने हो, डर मान्नुपर्दैन ।’

अन्य सिपाहीको भन्दा उसको बोली र भाषामा केही शिष्टता भने थियो । त्यसपछि दाइलाई सेनाले गोली गठ्टा सहितको आफ्नोे झोला बोक्न लगाए । झोला भारी थियो । दाईले सेनाको झोला बोके, आमा र म रित्तै सेनासंगै उकालो लाग्यौँ ।


०००


त्यतीबेला म १५ बर्षकी हुँदीहुँ, कक्षा ९ मा पढ्थे । दाइ मभन्दा डेढ वर्ष जेठा थिए । हामी दाजु बहिनीले एउटै स्कुलमा पढ्थ्यौ । संगै स्कुल जान्थ्यौँ । हामी मध्यम वर्गीय परिवार, पढेर आफ्नो खुट्टामा आफै उभिनु पर्छ भन्ने सपना थियो । त्यो बाहेक अरु कुनै ठुलो सपना थिएन । समयमा स्कुल जानु, फुर्सदको बेला आमालाई घरको काममा सघाउनु र सरले दिएको गृहकार्य समयमै सकाउनु मेरो दिनचर्या थियो ।

त्यो बाहेक स्कुल छुट्टी भएको बेला दाइसंग माछा मार्न मरेङ्ग खोला सम्म पुगेकी छु । घरमा दाउराको अभाव हुँदा १/२ पटक कुलामुनीको जंगलसम्म पुगेर दाउरा चोरेकी छु । वस, मैले गरेको अपराध यत्ती हो । कहिलेकाँही शनिबारको दिन गाउँका साथीसंगी भेला गरेर राज्यखेल खेल्नु बाहेक अर्को कुनै राजनीति नजानेकी म । एकाएक राज्यको आँखामा म खुङ्खार राजनीतिज्ञ र आतंककारी भएँ ।


मेरी आमा । जसले भोकाएकालाई खान दिनु भयो । प्यास लागेर पानी माग्नेलाई निशंकोच पानी पिलाउनु भयो । रातमा बास नपाएर बिचल्लीमा परेकालाई बास दिनु आफ्नो कर्तब्य ठान्नु भयो ।

शायद, ति खाना, पानी र बास माग्नेहरु परिवर्तनका लागि बन्दुक र झोला बेकेर हिड्ने माओवादी पनि थिए होलान । तर आमाले कसैको बाद सोध्नु भएन । कसैको जात सोध्नु भएन, कसैको आस्था खोतल्नु भएन । मात्र मानवीय धर्म सम्झिनु भयो र कसैलाई भोकै–प्यासै पठाउनु भएन । उहाँले आफ्नो कर्तब्य पुरा गर्नु भयो । यही नै हो आमाले गरेको अपराध ।

हाम्रो बुवा स्थायी शिक्षक हुनुहुन्थ्यो, मुगुको महादेव मष्टा माविमा सामाजिक विषय पढाउनुहुन्थ्यो । उहाँ प्रायः वर्षमा २ चोटी घरमा आउनुहुन्थ्यो, तर पछिल्ला वर्ष भने घरमा आउने क्रम पातलिएको थियो । त्यसबेला दुर्गम जिल्लाका नागरिकहरु माओवादीको समर्थक हुने क्रम बढेको थियो । मेरो बुवा पहिलेदेखि नै संगीतमा रुची राख्नु हुन्थ्यो ।

गाउन–बजाउन जान्ने भएकाले उहाँलाई मुगुको माओवादी जिल्ला पार्टीले सांस्कृतिक विभाग इन्चार्ज बनाइदिएको रहेछ । त्यतिबेला त्यसरी माओवादीको समर्थक हुनु बाध्यकारीजस्तै पनि थियो । पछि बुझेँ, देशैभरि कम्युनिष्टहरु पहिले शिक्षक बनेर त्यहाँका जनतालाई परिवर्तन र राजनीतिबारे बुझाउने गर्दा रहेछन् । मुगुमै हुँदा बुवा माओवादीमा लाग्नुभएको कुरा भने हामीले पछि मात्र थाहा पायौँ ।


बाँगी गाविसका चन्द्रबहादुर खड्का, अहिले उहाँ सांसद् हुनुहुन्छ, उहाँ हाम्रो घरमा आइरहनुहुन्थ्यो । खिम बहादुर बिक, गोविन्द केसी, अर्घाका ठाकुर नेपाल, पालीका राम बहादुर बिक, गुल्मीकी आशा कणेल बेलाबेलामा आउनु हुन्थ्यो । उहाँहरु बुवा घरमा हुँदा पनि आइरहनु हुन्थ्यो ।

त्यसैले पनि ती अनुहार हाम्रो लागि चिर परिचत अनुहार थिए । अर्घाकी अरुणा रायमाझी, अमिलेकी सन्जु आचार्य, बाँगीकी योजना बिक हाम्रो घरमा धेरैजसो आउने गर्थे । उनीहरुलाई हामीले दिदी भनेर सम्वोधन गथ्र्यौ । हाम्रो घरमा ति दीदीहरु प्राय मसंगै सुत्ने गर्थे । उनीहरु मिठो बोल्थे, घरमा सुख– दुख के कसो छ सबै सोध्थे । आमा संग काम गरि लाग्थे, आफुले खाएको प्लेट आफै माझ्थे । हाम्रो सुख दुखमा साथ दिने भएकाले पनि होला उनीहरु हाम्रो परिवारका सदस्य जस्तै भइसकेका थिए । गोबिन्द केसी दाईले त कैयौँ पटक हाम्रो बारी नै जोतिदिनु भएको छ ।
उनीहरु हाम्रो घरमा किन आएका होलान्? हामीले आमालाई सोध्ने गथ्र्यौ ।

तर आमाले हामीसंग बाटो परेर पसेको, रात परेर यतै बसेका भनेर उत्तर दिनु हुन्थ्यो । एक दिन आमाले भन्नु भएको थियो, ‘हाम्रो घरमा को–को आउँछ भनेर कसैले सोध्यो भने केही नभन्नु’ हामी केटाकेटी थियौँ, त्यसैले पनि आमाले सबै कुरा भन्न उचित ठान्नु भएन होला ।

उनीहरु माओवादी हुन् भन्ने अड्कल पनि हामीले गर्न सकेनौ । किनकी, हाम्रो मानसिकतामा माओवादी प्रतिकोे चित्र फरक पारिएको थियो । हामीलाई लाग्थ्यो, –माओवादीहरु निकै खराव हुन्छन्, समाचारमा भनिएजस्तै उनीहरु हत्यारा हुन्, राक्षस हुन्, उनीहरुले निर्दोष मान्छेलाई बिनाकारण मार्छन् अनि मान्छेको मासु खान्छन् । त्यसैले माओवादीको नामले पनि हामी डराउथ्यौँ । उनीहरुप्रतिको हाम्रो दृष्टिकोण सकरात्मक थिएन । तर वास्तविकता हामीले सोँचेको भन्दा नितान्त फरक रहेछ ।


यसरी हाम्रो परिवार माओवादी पार्टीसँग सम्बन्धित त रहेछ, तर हामी यसबारे अनभिज्ञ थियौँ । आमाको गल्ती यही थियो । घरमा आउने मानिसहरु, जो माओवादी थिए, उनीहरुलाई खान र बस्न दिनु भयो । उनीहरुलाई हामी दाजुबहिनीले आफन्तको रुपमा चिनेका थियौँ । हामीकहाँ धेरै मानिसहरु आउँदैनथे । जुन कुरा माइली आमाको प्रस्तुतिबाट पनि प्रस्ट हुन्छ । बुवा माओवादीमा लागेको कुरा गाउँकै कसैले सुराकी गरेको रहेछ । त्यही सुराकका आधारमा शाही सेना हाम्रो घरमा आएको रहेछ । पछि सेनाले हामीसंग भनेको थियो ।


त्यस दिन हामीलाई शाही सेनाले घरदेखि अलि टाढा मालारानी भन्ने ठाउँमा लगेर दिनभरि राख्यो । त्यहाँ, सुन्दर पोखराका गिरिराज बञ्जाडे, हाम्रै स्कुल (श्री सिद्ध ने.रा.मा.बी)का प्रधानध्यापक प्रेम पाण्डे सर, मालारानीका श्याम पाण्डे लगायतका दर्जनौँ ब्यक्तिलाई नाङ्गै बनाएर निर्घात रुपमा सेनाले कुटे । हामी निर्दोष छौँ भन्दा पनि सेनाले पत्याएनन् । शरिर भरि निलडाम थिए । त्यस माथि सिस्नो पानीले दिन भरि चुटे । मेरो दाइलाई पनि कुटिए ।


हाम्रो बुवा जागिरको शिलशिलामा जुम्ला जाँदा एकजना सेर बहादुर नाम गरेका दाइ बुवा संगै हाम्रो घर आएका थिए । हामी साना थियौँ । ति दाई हाम्रो घरमा आएपछि जुम्ला फर्किनै मानेनन् । उनी हाम्रै घरमा बस्थे । उनी अलि सुस्तमनस्थितिका थिए । तल माथि, वर पर सबैको घरमा जान्थे । उनको कसैसंग दुस्मनी थिएन ।

उनी सबैका आफ्ना थिए, र उनले सबैलाई आफ्ना ठान्थे । उनले सबैलाई प्रेम गर्थे । चाढ पर्वमा सेरे दाई कम्मर मर्काउँदै जुम्लाको नाँच नाँच्थे । बुवा घरमा आएको बेला बुवाले देउडा गाउनुहुन्थ्यो । देउडा सुनेर सेरे दाई निकै भावुक बनेर आफ्नो लय मिलाउथेँ ।

मानौँ उनले आफ्नो संस्कृति बिर्सेका छैनन् । सबैको काम गरिदिने भएकाले पनि होला सेरबहादुर दाई सबैका प्रीय थिए । उनलाई सबैले सेरे दाई भनेर पुकार्थे । त्यसदिन, सेरे दाई घरमा थिएनन् । बिहानै ठाँटी बजार पुगेर गाँउभरिको समाचार बुझ्ने उनी त्यस दिन पनि उतै गएका थिए । बन्दुक बोकेका मान्छे देखेर उनी डराएर भागेछन् । सेनाले उनलाई समातेर मरणासन्न हुनेगरि कुट्यो । उनको शरिरभरि निलडाम थिए ।


गाउँमा दिन भरि कुकुर भुकेको आवाज मात्रै सुनिन्थ्यो । बाटोमा मानिसको आवतजावत बन्द थियो । सेनाको डरले गाउँलेहरु ढोका बन्द गरेर घरभित्रै बसेका थिए । साँझ कसैको घरमा बत्ति बलेनन् । यो घटना पश्चात गाउँ पुरै आतंकित बनेको थियो ।


भोलिपल्ट रेडियो नेपालले मुख्य समाचार बनाएर फुक्यो— अर्घाखाँची जिल्लाको मरेङ गाविसबाट विभिन्न हातहतियारसहित सयौँको संख्यामा आतंककारी पक्राउ परेका छन्… ।’
पक्राउ पर्नेको सूचीमा हाम्रो नाम पनि उल्लेख थियो ।


०००

सम्बन्धित खबर