
काठमाडौँ,फागुन २१ । सार्वजनिक यातायात केन्द्रिय महासंघ, नेपालले यातायात क्षेत्रमा लगाइएको सिन्डिकेट खारेज गर्ने निर्णय प्रभावकारी ढंगले कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।
महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यातायात क्षेत्रमा लगाइएको सिन्डीकेट खारेज गर्ने निर्णय प्रभावकारी ढंगले कार्यान्वयन गर्न सरकारसँग माग गरेको हो ।
सिन्डीकेट रहित यातायात सेवालाई मारमा पर्न नदिन र आम उपभोक्ताको हितको लागि पनि सरकारलाई यातायात क्षेत्रमा लगाइएको सिन्डी खारेज गर्ने निर्णय प्रभावकारी ढंगले कार्यान्वयन गर्न दवाव दिनु परेको महासंघका महासचिव गणेश उप्रेतीले बताएका छन् ।
यातायात क्षेत्रलाई सर्वसुलभ, सुरक्षित र गुणस्तरीय बनाउन पनि सरकारले गरेको सो निर्णय सफल कार्यान्वयनमा लैजानुको विकल्प नरहेको महासंघको भनाई छ ।
महासचिव उप्रेतीले सार्वजनिक सवारी साधनमाथि तोडफोड, आगजनी गर्नेहरुमाथि कडा कार्वाहीको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । महासंघले तोडफोड तथा आगजनी गरिएका सार्वजनिक सवारी साधनको उचित क्षतिपूर्तिको व्यवस्था हुने गरी कानुन निर्माण गर्न पनि सरकारलाई दवाव दिँदै आएको छ ।