
काठमाडौँ । कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१३, ताहाचल बस्ने ५२ वर्षीय श्रीकृष्ण महर्जन तिलक भनिने र ललितपुर महानगरपालिका-१४, नखिपोट बस्ने ६० वर्षीय प्रेमनारायण खनाल रहेका छन् ।
सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान रहेको र कृषि फार्मका लागि सहजै सहुलियत अनुदान मिलाइदिन सक्ने भन्दै विश्वासमा पारी विभिन्न बहानामा पटक-पटक गरी उक्त रकम ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका प्रहरीले जनाएको छ ।
जालिम सिंह महतोको जाहेरीका आधारमा नेपाल सरकार वादी र पूजा खड्गीसमेत प्रतिवादी रहेको ठगीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवै जनालाई बुधबार हिजो अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।