चक्रवात ‘अर्बन’को सम्भावित प्रभावबाट हवाई सुरक्षा सतर्कता अपनाउन क्यानको निर्देशन

दियोपोस्ट संवाददाता

काठमाडौँ । बंगालको खाडीमा विकसित शक्तिशाली ‘अर्बन’ चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ।

प्राधिकरणले सन् २०२६ अक्टोबर २८ (२०८३ कात्तिक ११) मा सुरक्षा परिपत्र जारी गर्दै हवाई सेवा प्रदायक, विमानस्थल सञ्चालक, वायुसेवा सञ्चालक तथा सम्बन्धित सरोकारवालालाई आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको हो।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीका कारण नेपालमा मध्यमदेखि भारी वर्षा, चट्याङसहितको हुरीबतास, तीव्र हावाहुरी तथा हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना छ । यसको प्रभाव विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पर्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा समेत देखिन सक्ने अनुमान गरिएको छ।

बिहीबार (कात्तिक १२) देखि शनिबार (कात्तिक १४) सम्म भारी वर्षा, तीव्र हावाहुरी र दृश्यता कम हुन सक्ने भएकाले हवाई उडान तथा अवतरण, विमानस्थल सञ्चालन र धावनमार्गमा समस्या उत्पन्न हुन सक्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले प्रतिकूल मौसममा हवाई ट्राफिक व्यवस्थापन गर्ने निकायलाई उडान व्यवस्थापनको उचित योजना बनाउन, आवश्यकताअनुसार अन्य हवाई सेवा इकाइसँग समन्वय गर्न तथा मौसमका कारण निर्धारित सञ्चालन सीमाभन्दा अवस्था खराब भएमा उडान मार्ग परिवर्तन, होल्डिङलगायतका आवश्यक व्यवस्था गर्न निर्देशन दिएको छ।

त्यस्तै, प्रतिकूल मौसममा विमानको उडान प्रभावित हुन सक्ने भएकाले राडार नियन्त्रकलाई आवश्यक दूरी कायम गर्न भनिएको छ। हावाको गति तथा दिशामा अचानक परिवर्तन हुने अवस्था (विन्ड सियर), तीव्र वायुमण्डलीय अस्थिरता र चट्याङसहितको हुरीबतासबारे उडान भर्ने तथा अवतरण गर्ने विमानलाई तत्काल जानकारी गराउन पनि परिपत्रमा उल्लेख छ।

वर्षाका कारण धावनमार्गमा पानी जम्ने, सतह चिप्लिने तथा विमानको ब्रेकिङ क्षमतामा असर पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नियमित निरीक्षण गर्न प्राधिकरणले निर्देशन दिएको छ।

विमानस्थल सञ्चालन, सिभिल इन्जिनियरिङ तथा एयरसाइड विभागबीच निरन्तर समन्वय कायम गर्न, तीव्र हावाले उडाएर ल्याएका वस्तु तथा फोहोर हटाउन र विमानस्थलका बत्ती तथा अन्य अत्यावश्यक प्रणाली नियमित सञ्चालनमा रहेको सुनिश्चित गर्न पनि भनिएको छ। कुनै उपकरण वा प्रणालीमा समस्या आएमा तत्काल आवश्यक सूचना जारी गर्नुपर्ने परिपत्रमा उल्लेख छ।

वायुसेवा सञ्चालक तथा उडान चालक दललाई उडानअघि मौसमको विस्तृत मूल्यांकन गर्न, सम्भावित ढिलाइ, होल्डिङ तथा वैकल्पिक विमानस्थलमा अवतरण गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्न र पर्याप्त इन्धनको व्यवस्था गरी निर्धारित सुरक्षा प्रक्रिया पालना गर्न समेत प्राधिकरणले निर्देशन दिएको छ।

त्यसैगरी, हवाई मार्ग सेवा तथा हवाई ट्राफिक व्यवस्थापनका अत्यावश्यक पूर्वाधार, वैकल्पिक विद्युत् आपूर्ति र सञ्चार प्रणाली तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। कुनै गम्भीर जोखिम, अवरोध वा सुरक्षा घटना भएमा निर्धारित माध्यमबाट तत्काल जानकारी गराउन प्राधिकरणले भनेको छ।