स्पेनमा रेल दुर्घटना हुँदा ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक

दियोपोस्ट संवाददाता

मड्रिड । स्पेनमा बुधबार बिहान दुई रेल आपसमा ठोक्किँदा ६८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । युरोपको आधुनिक इतिहासकै दर्दनाक मानिएको उक्त दुर्घटनापछि स्पेनमा तीन दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ ।

मड्रिडबाट सेभिलतर्फ गइरहेको रेल लिकमा रोकिएर बसेको अर्को रेलसँग ठोक्किएको हो । दुर्घटनामा रेलका धेरै डब्बा लिकबाट खस्दा ठूलो क्षति भएको छ । उद्धारकर्मीहरूले रातभर खोजी कार्य जारी राखेका छन् भने मृतकहरूको पहिचान गर्ने काम भइरहेको छ ।

यातायात मन्त्री ओस्कर पुएन्तेका अनुसार कम्प्युटर प्रणालीमा खराबी आएपछि रेल लिकमै रोकिएको थियो । तर नियन्त्रण कक्षले गति सीमा नतोकी रेललाई अघि बढ्न अनुमति दिएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । घटनाको वास्तविक कारण पत्ता लगाउन अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् ।

प्रधानमन्त्री पेड्रो सान्चेजले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई अस्वीकार्य बताएका छन् । यसै वर्ष जनवरीमा कोर्डोबानजिकै भएको अर्को रेल दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो । लगातार भएका दुर्घटनाले स्पेनको रेल सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ ।

सम्बन्धित खबर