विष्फोटन र ध्वंसात्मक गतिविधि नियन्त्रण गर्न सरकार सफल भएको छ, – गृहमन्त्री थापा

विष्फोटन र ध्वंसात्मक गतिविधि नियन्त्रण गर्न सरकार सफल भएको छ, – गृहमन्त्री थापा

धनगढी । गृहमन्त्री रामबहादुर थापाले विष्फोटन र ध्वंसात्मक गतिविधि नियन्त्रण गर्न सरकार सफल भएको दावी गरेका छन् । सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी पुगेका गृहमन्त्री थापाले सरकारले एक वर्षमा शान्ति सुरक्षा र सुशासनका निम्ति महत्वपूर्ण काम गरेको बताए ।

कञ्चनपुरकी १३ बर्षिया बालिकाको हत्या अनुसन्धान र नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले सञ्चालन गरिरहेको ध्वंसात्मक गतिविधिप्रति सरकार गम्भीर रहेको उनले बताएका छन् । मन्त्री थापाले निर्मलाको बलात्कारपछि हत्याको अनुसन्धान जारी रहेको जानकारी दिए ।

उनले भने, ‘बालिका हत्या घटनाबारे अनुसन्धान भइरहेको छ । सुरुमा सुरक्षा निकायको लापरबाही भएका कारण अहिले अनुसन्धानमा जटिलता पैदा भएको हो । सरकारले छिटोभन्दा छिटो अपराधीलाई कानुनको कठघरामा ल्याउनेछ ।’

संघीय र प्रदेश प्रहरी ऐन निर्माणसम्बन्धी कानुन संसदमा पुगेको र यो पास भएपछि प्रदेश र स्थानीय तहको शान्ति सुरक्षा अझ सुदृढ हुने गृहमन्त्री थापाको दाबी छ । मन्त्री थापाले मुलुकमा ब्याप्त सिन्डिकेट अन्त्य भइसकेको दाबी गरे । उनले भने, ‘सिन्डिकेट कानुनी रुपमा अन्त्य भइसकेको छ । यो फर्किन्छ भन्ने कुरा आएन, यसलाई व्यवस्थित र व्यवस्थापन गर्ने सम्बन्धमा केही कानुन अलिकति बाँझिदा समस्या भएको छ ।’

यसैवीच, सुदुरपश्चिम प्रदेशको धनगढीमा आज एकदिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ । गोष्ठीमा नेपाल र सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री, चार वटै सुरक्षा निकायका प्रादेशिक प्रमुख, प्रदेशका नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुखलगायतको सहभागिता छ । गोष्ठीमा प्रदेशको शान्ति सुरक्षाको अवस्था, चुनौती र त्यसका समाधानका उपायबारे छलफल हुनेछ ।

Trending News