अदालतद्वारा सिनावात्राको पार्टी विघटन

दियोपोस्ट संवाददाता

बैंकक,फागुन २३ । थाइल्याण्डको राजनीतिमा ठूलो प्रभाव रहेको सिनावात्रा परिवारको पार्टीलाई अदालतले विघटन गरिदिएको छ ।

देशका पुर्वप्रधानमन्त्रीद्वय थाक्सिन सिनावात्रा र यीङ्लक सिनावात्राको थाई रक्षा चार्ट नामक पार्टीलाई अदालतले बिहीबार विघटन गरिदिएको अधिकारीहरुले बताएका छन् ।

पुर्वनिर्धारित कार्यतालिका अनुसार आम निर्वाचनका लागि मतदान गर्ने दिन आउन एक हप्ता बाँकी रहदाँ अदालतले सो पार्टी विघटनको फैसला गरेको हो ।

राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रयास गरेर पार्टीले अवैध र गलत काम गरेको भन्दै अदालतले विघटन गरिदिएको बताइएको छ ।

संवैधानिक अदालतका नौ सदस्यले सर्वसम्मत सो पार्टी विघटन गर्ने निर्णय गरेको समाचारमा जनाइएको छ ।

थाइल्याण्डकी राजकुमारी उबोलरत्ना महिडोलले केही हप्ता अगाडि रक्षा चार्टबाट उम्मेदवार बन्ने घोषणा गर्नुभएको थियो ।

प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएकी राजकुमारीलाई निर्वाचन आयोगले उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गरेको थियो ।

उहाँले उम्मेदवारी घोषणा गरेको केही घण्टामै उहाँका भाई तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीको घोषणाप्रति असन्तुष्टि जनाएपछि आयोगले उहाँलाई अयोग्य घोषणा गरेको हो ।

राजपरिवारका सदस्य दलीय र सक्रिय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाई अनुसार ६७ वर्षीया राजकुमारी महिडोललाई आयोगले अयोग्य घोषणा गरिदिएको थियो ।
थाइल्याण्डमा राजसंस्थालाई उच्च सम्मानका साथ पवित्र संस्थाका रुपमा हेरिने भएकाले राजसंस्थाको आसयलाई पालना गरेको पाइन्छ । (रासस/एएफपी)