
–नारायण अधिकारी
चितवन, चैत ११ । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन चितवन जिल्लाका सातवटै स्थानीय तह पूर्व तयारीमा लागेका छन् ।
जिल्लाका एक महानगर, पाँच नगरपालिका र एक गाउँपालिकाले कोरोना विशेष अस्थायी अस्पतालदेखि गाउँघरमा सचेतना जगाउनेसम्मको काममा सक्रियता देखाएका छन् । जिल्लाको सदरमुकाममा रहेको भरतपुर महानगरपालिकाले यहाँको प्रदर्शनी केन्द्रमा ७० श्ययाको अलग्गै कोरोना अस्पताल स्थापना गरी काम अगाडि बढाएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार भरतपुरको सरकारी, नीजि र मेडिकल कलेजमा ज्वरोका विरामी मात्रै जाँच गर्न बेग्लै व्यवस्था गरिएको छ । भरतपुर अस्पतालमा आइसोलेशन वार्ड, दुइ मेडिकल कलेजमा विशेष जाँच र आइसोलेशनको व्यवस्था, नीजि अन्य अस्पतालमा ज्वरोका विरामीलाई जाँच गर्ने, आइसोलेशनमा राख्नु पर्ने भएमा त्यही राख्नु पर्ने, थप शङ्का लागेमा मात्र कोरोना अस्पतालमा पठाउने गरी व्यवस्था मिलाइएको महानगरप्रमुख दाहालले जानकारी दिएका छन् ।
“महानगरपालिकाभित्र स्वास्थ्य सचेतनाको लागि काम गरेका छौँ”, उनले भने “मानिसको भिड हुने स्थान बन्द गराएका छौँ । अन्य स्थानमा सचेतना जगाउने र स्वस्थ व्यवहार गर्नका लागि व्यवस्था गरिएको छ ।” यस्तै रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार त्यहाँको गुञ्जमान अस्पतालमा २० र रत्ननगर अस्पतालमा तीन श्ययाको आइसोलेशनको व्यवस्था गरिएको छ । नगरपालिकाको हरेक वडामा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । भिड हुने स्थान बन्द गराइएको छ । शङ्का लागेका व्यक्तिलाई स्वास्थ्य जाँच गराउन हेल्थ डेस्क स्थापना गरिएको छ ।
खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले कोरोना भाइरस सङ्क्रमण रोक्न आवश्यक सतर्कता अपनाउने काम भएको बताएका छन् । नगरवासीलाई सावुन पानीले हात धोएर मात्र खाने सामग्री प्रयोग गर्न, भेटघाट कम गर्न, घरमा नै बस्नलाई सूचित गरेको, उच्च ज्वरोका विरामीलाई भरतपुरको अस्पतालमा जान सचेतना जारी गरिएको छ ।
राप्ती नगरपालिका प्रमुख प्रभा वरालका अनुसार भण्डारा अस्पतालमा तीन श्ययाको आइसोलेशनको व्यवस्था गर्ने गरी तयारी भएको छ । ठूला अस्पताल नभएको र मानिसको भिड कम हुने भएकाले यहाँ अलगै राखिने गरी व्यवस्था नभएको जानकारी दिएकी छन् । नगरवासीलाई स्वस्थ व्यवहार गर्न सचेतना जगाइएको उनले बताइन् ।
कालिका नगरपालिकामा रहेको जुटपानी प्राथमिक स्थास्थ्य केन्द्रमा आइसोलेशनको व्यवस्था गर्न ठाउँ तयारी अवस्थामा रहेको छ । नगरपालिकाको वडा कार्यालयमा अत्यावश्यक काम बाहेक अन्य सेवा बन्द गरिएको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडीमा भारतसँग सीमा जोडिएको ठोरी नाकाबाट नेपाल भित्रन रोक लगाइएको बताए । नेपाली नागरिक भए उनीहरुलाई सुरक्षित तरिकाले ल्याएर विद्यालयको अलग्गै कोठामा राख्ने तयारी गरिएको छ । सवारी साधनलाई भने ठोरी माडी चल्नमा रोक लगाइएको छ ।
जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनाका प्रमुख गीता गुरुङका अनुसार मानिसको अत्यधिक भिड हुने ठाउँ भएकाले कुरिनटारबाट मनकामना जाने केबलकार बन्द गरिएको छ । विरामीलाई उपचार गर्न यहाँको स्वास्थ्य केन्द्र र नीजि अस्पतालमा व्यवस्था मिलाइएको छ । शङ्का लागेका व्यक्तिलाई भरतपुर पठाउने व्यवस्था मिलाएको जानकारी दिएकी छन् ।
रोगको सङ्क्रमणबाट बच्न दैनिक बैठक बसेर उपायहरु अपनाइ राखेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले बताए । जिल्लाका अस्पतालले आफ्नो सेवा दिनुपर्ने, आवश्यक चिकित्सकको सम्पर्क नम्बर सार्वजनिक गर्ने, दैनिक भएका घटनाको विषयमा हरेक दिन सूचना जारी गर्ने गरी तयारी भइराखेको जानकारी दिए। उनका अनुसार जिल्लाका सबै स्थानीय तहमा थप क्वारेन्टाइन निर्माण गर्न आग्रह गरिएको छ । त्यसको लागि स्थानीय तहले ठाउँ खोजी र व्यवस्थापनको काम भइरहेको जनाएका छन् । रासस