आँधीबाट १ हजार ४० घर पूर्णरुपले क्षतिग्रस्त चार कोठे घर बनाइदिने प्रदेश सरकारको घोषणा

दियो पोस्ट  

जनकपुर, चैत २० । आइतबार साँझ बारा र पर्सामा आएको विनाशकारी आँधीबाट १ हजार ४० घर पूर्णरुपले क्षतिग्रस्त भएको प्रदेश नम्बर २ सरकारले जनाएको छ ।

यस्तै बारामा २७ र पर्सामा एक गरी २८ जनाको मृत्यु हुनुका साथै करिव एक हजार घाइते भएका छन् ।

बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सबै प्रभावितहरुलाई चारकोठे घर बनाइदिने बताएका छन् । उनले चार महिनाभित्रै सबै घर बनाइसक्ने पनि दाबी गरेका छन् ।

उनले त्रिपालमुनी रहेका पीडितहरुलाई समस्या भइरहेको भन्दै केही दिनभित्रै टेन्टभित्र सारिने पनि बताए । उनका अनुसार बारामा ९ सय ५८ परिवारको घर पूर्णरुपले र ९ सय २२ को आंशिक रुपले क्षतिग्रस्त भएको छ । यसैगरी पर्सामा १ सय २२ घर पूर्ण रुपले र ३ सय ८७ घर आंशिक रुपले क्षतिग्रस्त भएको पनि जानकारी गराए ।