बेनी, चैत २६ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ सुकेबगरस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवाको ज्यान गएको छ ।
अन्नपूर्ण गाउँपालिका-६ घारका २२ वर्षीय सबिन बुढाथोकीको पोखराको मणीपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो।
पौडी खेल्ने क्रममा सोमबार दिउँसो कालीगण्डकीको दहमा डुबेर सिकिस्त भएका बुढाथोकीलाई भुरुङ्ग तातोपानी स्वास्थ्य चौकी, बेनी अस्पताल हुँदै हेलीकप्टरमार्फत पोखरा लगिएको थियो।
घारका वडाअध्यक्ष कृष्णप्रसाद बरुवालले बुढाथोकीलाई पोखरा पुर्याए पनि उपचारका क्रममा मृत्यु भएको बताए। वडा अध्यक्ष बरुवालले व्यक्तिगत खर्चमा बुढाथोकीलाई हेलीकप्टरमार्फत पोखरा लगेका थिए। जिल्ला प्रहरी कार्यालयका अनुसार बुढाथोकी ग १ त ४५८८ न। को ट्याक्टरका मालिक र चालक थिए। सँगै पौडी खेल्न गएका साथीहरुले उद्धार गरेर भुरुङ्ग तातोपानी स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएका थिए।