३१ परियोजनामा २५ अर्बको लगानी प्रस्ताव, पूर्वाधार विकासका आयोजनामा बढि चासो

दियो पोस्ट  

काठमाडौं, वैशाख ८ । सरकारले लगानी सम्मेलनमा प्रस्तुत गरेको ७७ मध्ये २६ वटा परियोजनामा लगानीका लागि आवेदन परेको छ ।

लगानी बोर्डले आईतबार पत्रकार सम्मेलन गरी गत चैत्र १५ र १६ गते आयोजना गरिएको लगानी सम्मेलनमा सरकारले प्रस्ताव गरेका ७७ मध्ये २६ वटा परियोजनामा लगानीका लागि आवेदन परेको जानकारी गराएको हो । त्यसैगरी आह्वान नगरिएका ५ वटा थप परियोजनाका लागि पनि लगानीका लागि आवेदन परेको बोर्डका प्रवक्ता बलराम रिजालले जानकारी दिए ।

आवेदन परेका परियोजनाहरुको अनुमानित लागत २५ खरव भन्दा बढि रहेको पनि बोर्डले जनाएको छ । आवेदनमा पूर्वाधार विकासका आयोजनामा लगानीकर्ताहरुको बढि चासो रहेको पाइएको छ । त्यसैगरी कृषि, स्वास्थ्य, उर्जा र उद्योगको क्षेत्रमा पनि लगानीका लागि आवेदन परेको बोर्डका प्रवक्ता रिजालले बताए ।

बोर्डका अनुसार निजगढ अन्तराष्ट्रिय विमानस्थलका लागि ६ वटा आवेदन परेका छन । त्यसैगरी काठमाडौंको बाहिर चक्रपथका लागि ४ वटा, अन्तराष्ट्रिय सम्मेलन केन्द्रका लागि २ वटा प्रस्ताव पनि परेको बोर्डका प्रवक्ता रिजालले बताए ।

बोर्डले लगानी सम्मेलनमा प्रस्ताव गरिएका ७७ वटा परियोजना मध्ये पहिलो चरणमा २७ वटा परियोजना ३ महिना भित्र, दोस्रो चरणमा १७ वटा परियोजना ९ महिना र तेस्रो चरणका लागि ६ वटा परियोजनाको १४ महिना भित्र कार्ययोजना तय गरिसक्ने योजना पनि बनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानीकर्ताको पहिचानमा सहजहोस् भन्ने उद्देश्यका साथ परियोजनाहरुको बर्गीकरण गरी कार्ययोजना तय गर्न लागिएको पनि स्पष्ट पारे ।

सरकारले परेका ती आवेदनहरुको मूल्यांकन तथा कार्यान्वयनका लागि अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवको नेतृत्वमा ६ सदस्यीय उच्च स्तरीय अनुगमन समिति पनि बनाएको छ ।