आगामी चैत्र २५ गते नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनको मतदान हुँदैछ । देशभरबाट १३ हजारभन्दा बढी पत्रकारहरुले मतदानमा भाग लिँदैछन् । हाल नेपाल पत्रकार महासंघको बहालवाला उपाध्यक्ष विपुल पोख्रेलले आगामी महाधिवेशनमा अध्यक्षका उम्मेदवारी दिएका छन् । उनै पोख्रेललाई दियोपोस्टकर्मी दयाँ दुदराजले सोधेका थिए,–
चुनाबी दौडधुप कत्तिको छ ?
– दौडधुपमै छु । पत्रकार महासंघ पहिलो पटक प्रत्यक्ष निवार्चन प्रणालिमा गएका छौँ । यो संस्थाका १३ हजार भन्दाबढि सदस्यले मतदान गर्नुहुन्छ, ति सबै सदस्यहरुलाई कम्तिमा पनि प्रत्यक्ष नभएपनि टेलिफोन वा सामाजिक सञ्जाल मार्फत भेट्नलाई हम्मेहम्मे परिराख्या छ । त्यसकारण व्यस्थताकाबीचमै तपाईहरुसँग छलफल गरिराख्या छु ।
तपाईंले सञ्चालन गर्दै आएको सञ्चार माध्यम कुन हो ?
म २०४९ सालदेखि पत्रकारिता कर्ममा निरन्तर छु । यसमा कहिले पनि ब्रेक भएको छैन । अहिले पनि म दाङमा गोरक्ष राष्ट्रिय दैनिक सञ्चालन गर्छु । अहिले पनि यो चुनावी दौडान यहाँबाट नै सम्पादन गर्दै आईरहेको छु । त्यसबाहेक म विभिन्न सञ्चार माध्यमहरुमा लेख्ने स्तम्भकार हुँ ।
तपाई अहिले पनि नेपाल पत्रकार महासंघकै बहालवाला उपाध्यक्ष हुनुहुन्छ यही पदमा रहँदा के–के गर्नुभयो ?
अघिल्लो निवार्चन लड्दै गर्दा हाम्रा प्रतिबद्धता पत्रहरु थिए । त्यसमा श्रमको मुद्दालाई महत्व दिएका थियौँँ । प्रेस स्वतन्त्रताको मुद्दालाई महत्व दिएका थियौँँ । मिडियाको व्यवसायिकरणलाई प्राथमिक्तामा राखेका थियौँ । समकालिन मुद्दाहरुलाई पहिचान गरेर सम्बोधन गर्ने एजेण्डाहरु थिए । श्रमजिबिको सवालमा हामीले महत्वपुर्ण उपलब्धी हासिल गरेका छौँ । पत्रकारहरुलाई सेवा सुविधा नदिने ऐनले तोकेको र नियुक्ति दिदाँखेरिको सम्झौता अनुसार सुविधा नदिने जुन एउटा क्रम छ । समस्या व्यक्तहरु साथीहरुसँगै सञ्चार गृहसम्म पुग्ने, धर्ना दिने लगानिकर्ताको घरसम्म पुगेर हामीले खबरदारी गर्यौँ । यसपछि केहि सकारात्मक परिणमहरु पनि हामीले हासिल गरेका छौँ ।
एक हजारको हाराहारीमा उजुरीहरु पर्दैगर्दा ८ सय भन्दा बढी हामीले समाधान गर्न सकेका छौँ । केहि अदालतमा छन् त्यो पत्रकार महासंघले आफै मुद्दा लड्दिन्छ, त्यसकारण श्रमजिवी पत्रकारको हकमा हामी खरो ढंगले उत्रियौँ भन्ने लाग्छ । त्यतिमात्र होइन, श्रमजिबी ऐनको कार्यन्वयनको एजेण्डामा जादैँ गर्दा सवोच्च अदालतबाट पनि एउटा आदेश दिलायौँ कि सञ्चार माध्यममा आएको विज्ञापनको दश प्रतिशत् पत्रकार कल्याण कोषमा राख्ने वा जम्मा गर्ने भन्ने एउटा प्रावधान थियो यो अहिलेसम्म भएको थिएन, हामीले सर्वोच्च अदालतमा गएर यो ऐन कार्यन्वयन भएको छैन, भनेपछि त्यो जम्मा गर अनि दुई/दुई महिनामा हामीलाई अपडेट गराउ भनेर सर्वोच्चले आदेश दियो । त्यो आदेशपछि हामीले ठूलो रकम कल्याणकारी कोषमा जम्मा हुन्छ । अन्ततः श्रमजिबी पत्रकारहरुका लागि हन्छ ।
जस्तै तपाईंले काम गर्ने मिडियाबाट तपाई बर्खास्त हुनुभो या हट्नपर्यो भने, तपाई अर्को मिडियामा काम नगर्दासम्म जुन ग्याप हुन्छ, त्यो समयमा तपाईलाई खाईपाई आएको निश्चित प्रतिशत् रकम कोषबाट दिइन्छ र तपाइलाई केही काम लगाउन सक्ने एउटा संरचना निमार्ण गर्न सक्छौँ । कानुनी रुपमा र सडकको लडाईबाट हामी श्रमको मुद्दा स्थापित् गर्न लाग्यौँ । प्रेस स्वतन्त्रता हाम्रो मुद्दा थियो । हामीले यो देवानि कानुन हैन । फौजदारी कानुन, आमसञ्चार विधयक ल्याइरँहदा सडकबाट हामीले त्यसको प्रतिवाद गर्यौं ।
सरकारले त्यस्ता कानुनहरु जस्ताको तस्तै ल्याउन सकेन । कतिपय कानुनहरु पेण्डिङ छन् । त्यसको विषयमा पनि हामी खरो रुपमा नै उभियौँ । हामीले त्यतिबेला राखेका एजेण्डाहरुमा समकालिन मुद्दा पहिचानका कुरा छन् । कोभिडको बेलामा पनि हामीले राम्रो उपस्थिति जनाएर पत्रकारहरुलाई राम्रो व्याकअप दिएर केहि अफ्ट्यारो पर्यो भने पत्रकार महासंघ छ है भन्ने वातावरण बनायौँ र काम काम गर्ने एउटा परिस्थिती निमार्णका लागि पनि योगदान गर्यौंं ।
पत्रकार महासंघको विधयक परिवर्तन गरेर यो सस्थालाई लोकतन्त्रको उच्चतम् अभ्यास गर्ने सस्था समावेसी संस्थाका रुपमा पनि हामीले महिला प्रतिनिधित्वको संख्या थप्यौँ । यसमा म आफै विधान समितिको संयोजक थिएँ । लैङगिक संवेदनशिलता पत्रकार महासंघमा र सञ्चार क्षत्रमा लैङगिक सम्बेदनशिलतलाई ख्याल गुर्नपर्छ भनेर एउटा प्रतिवद्धता राख्यौँ । र, पारित गरायौँ ।
तपाईंको उम्मेदवारीलाई लिएर सरकारी जागिरमा जस्तै बढुवाको परम्परा शुरु भयो भनिएको छ नी ? तपाईं अहिले उपाध्यक्ष हुनुहुन्छ फेरी अध्यक्षको उम्मेदवार बन्नु भएको छ नी ?
– एउटा संस्थामा निरन्तर काम गर्दैगर्दा त्यो संस्थाको नेतृत्वमा पुगेर आफ्नो दृष्टिकोण अनुसार त्यो सस्थालाई चलाउँ भन्ने जसलाई पनि लाग्छ । म उपाध्यक्ष अहिले मात्रै होईन यो भन्दा अघि २०५९ सालमा पनि यहि पदमा थिएँ । यो दोश्रो कार्यकाल हो मेरो, १५ वर्षपछि फेरी उपाध्यक्ष भएर फेरी अध्यक्षको लागि तयारी गरिराखेको छु । यो संस्थामा मैले खेलेको योगदानका कारण साथीहरुले मलाई तँ उपयुक्त हुन्छस् भन्ने आधारमा नै मैले यो दाबी गरेको हुँ । त्यसकारण यो बढुवाको कुरा होईन यो मेरो व्यक्तिगत् चाहना मात्र भैदिएको भए यो ढङगको मेरो समर्थन पनि हुने थिएन । उ मात्रै अध्यक्ष हुने , उ मात्रै उपाध्यक्ष हुने अरु कोही आउन नपाउने ?
तर यहाँ मेरो भूमिकालाई लिएर म नेतृत्वमा आएँ भने केही गर्न सकिन्छ कि भन्ने अपेक्षालाई मैले सम्बोधन गर्नुपर्छ भन्ने मान्यताले म अगाडि बढेको छु ।
तपाईंहरु स्वतन्त्र पत्रकारीताको कुरा गर्नुहुन्छ, तर आसन्न महासंघको निवार्चनमा तपाईं सरकार विरोधी अर्थात प्रतिगमन् विरोधि समुहबाट अध्यक्षमा उमेदवार हुनुहुन्छ, अर्कातिर सरकारको पक्षबाट उमेदवार बन्नु भएको छ, स्वतन्त्र पत्रकारीता त शब्दमा मात्रै रहेछ नी ?
होईन, पत्रकारीता स्वतन्त्र हुनुपर्छ । त्यसमा सैद्धाान्तिक रुपमा प्रष्ट छ । जहाँसम्म सरकार विरोधि प्रतिगमन् विरोधि भन्नुभयो र म कुनै विरोधि उमेदवार होइन । म प्रेस स्वतन्त्रताको समर्थक उमेदवार हुँ । म श्रम अधिकारको पक्षमा बोल्ने उमेदवार हुँ, र प्रेस स्वतन्त्रतामाथि कहिँकतै प्रहार हुन्छ भने त्यसका लागि सशक्त आँधिभेरी ल्याउन सक्षम उमेदवार हुँ ।
किन दलिय गठबन्धनको आधारमा उम्मेदवार बन्नु भयो त ?
म यो संस्थाको अध्यक्षका लागि योग्य छु । मलाई साथिहरुले त्यो ढंगले आग्रह गर्नुभयो र म अगाडि बढ्छु भन्दै गर्दा मेरो पछाडि कस–कसले समर्थन गर्छन् भन्नेकुरा मैले गनिरहनु जरुरी छैन । कुन–कुन पार्टीले गर्नुभएको छ, कुन कुन सस्थाले गर्नुभएको छ र कुन–कुनले गर्नुभएको छैन मैले त्यो हिसाब गरेको छैन । म १३ हजार १ सय पत्रकारहरुकोबीचमा मेरो उमेदवारीका कारण र मैले यो भन्दा अगाडि बढे भने गर्न सक्ने योगदान के हुन सक्छ भन्ने छलफलमै छु । मलाई कसले समर्थन गर्छ भन्ने कुरामा ध्यान दिएको छैन ।
विपुल पोखरेललाई फेरी पत्रकार महासंघको अध्यक्षमा किन जिताउने ?
पत्रकार महासंघका स्थायी एजेन्डाहरु छन् । प्रेस स्वतन्त्रताको पैरवी गर्ने, नागरिक अधिकारको पैरवी गर्ने, श्रमको मुद्दाहरुमा प्रखर रुपमा उभिने, स्वतन्त्रता र श्रमको मुद्दामा सम्झौताहिन आन्दोलन गर्ने, सम्झौताहिन अभियान र सम्झौताहिन रणनितिसहित अघि बढ्ने मेरो प्रमुख एजेण्डा हो । त्यसबाहेक धेरै एजेण्डाहरु छन् । हामी संघियतामा छौँ । तर जिल्लाका साथिहरुले परिचयपत्र बनाउन काठमाडौं आउनुपर्ने बाध्यता छ । नभए सदरमुकाम आउनुपर्ने अवस्था छ ।
जिल्लामा बसेर सुचना प्रवाह गरेर संसारलाई सुुसुचित गर्ने तर आफुले परिचयपत्रका लागि, सस्था नविकरणका लागि काठमाडौं नभएपनि सदरमुकाम आउनुपर्छ । त्यसले मिडियालाई संघियता लागेको छैन । त्यो हाम्रो एजेण्डा हुन्छ । प्रहरी, सेनाहरुको अस्पताल छ अन्य क्षत्रका कर्मचारीहरुको अस्पताल छ, तर पत्रकारहरुलाई सम्बोधन गर्ने सम्बन्धमा अहिलेसम्म अस्पताल छैन । पत्रकारका लागि कुनै स्वस्थ्य विमा, सामाजिक सुरक्ष हाम्रा एजेण्डा हुन् । यसलाई स्थापित गर्नैपर्ने अवस्था छ र सम्पादकीय स्वतन्त्रता, पत्रकारीता क्षेत्रभित्र पारदर्शी लगानी र पत्रकारहरुको व्यवसायिक दक्षता बृद्धि गर्ने एजेण्डा छन् ।
यी एजेण्डाहरु कार्यन्वयन गर्नका लागि साथिहरुले मलाई मत दिनुहुनेछ । तिमिले यति गर हामीले भोट दिन्छौ भनेरै म उमेदवार भएर आएको हुँ ।