रोल्पा पहिरो अपडेट : मृत्यु हुनेको संख्या ७ पुग्यो, ५ जना अझै बेपत्ता

दियोपोस्ट संवाददाता

रोल्पा । अविरल वर्षापछि रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । पहिरोमा परी बेपत्ता भएका पाँच जनाको भने अझै खोजी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा परी मृत्यु हुनेमा १८ वर्षीया शान्ति पुन मगर, करिब ६५ वर्षीय कमल बहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दल बहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर रहेका छन् ।

मृतकमध्ये एक महिला र दुई पुरुषको शव प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका तथा माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारमा फेला परेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल गुल्म प्यूठानबाट विपद् व्यवस्थापनसहितको टोलीसमेत खोजी तथा उद्धारमा परिचालन गरिएको छ।

पहिरोमा परी बेपत्ता हुनेमा ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बल बहादुर पुन मगर, ७२ वर्षीय लिल बहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर रहेका छन्। उनीहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।

पहिरोमा परी घाइते भएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तिमगरलाई थवाङ स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ।

लगातार वर्षा भइरहेका कारण लेदोसहितको पहिरो खसिरहेकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। पहिरोले मृतक कमल बहादुर पुन मगरको घरसहित अन्य घर तथा गोठ पुरिएका छन् भने पशुचौपायासमेत बेपत्ता भएका छन्।

सम्बन्धित खबर

सिफारिस