
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच उद्यमशीलता, नवप्रवर्तन, सीप विकास तथा उद्योग-शैक्षिक सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले पाँच वर्षे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र बागमती विश्वविद्यालयका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले हस्ताक्षर गरेका हुन् । समझदारीमार्फत दुवै संस्थाले शैक्षिक क्षेत्र, उद्योग, स्टार्टअप, लगानीकर्ता तथा नीतिनिर्माताबीच सहकार्यको वातावरण निर्माण गर्दै उद्यमशीलता, व्यावसायिक विकास र नवप्रवर्तन क्षमता अभिवृद्धिमा दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
सम्झौताअनुसार विशेष तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम सञ्चालन, क्षमता विकास, स्टार्टअप तथा नवप्रवर्तन प्रवद्र्धन, लगानी प्रोत्साहन, रणनीतिक नेटवर्किङ, अनुसन्धान तथा नीतिगत अध्ययन, ज्ञान आदानप्रदान र भविष्यकेन्द्रित शैक्षिक कार्यक्रम विकासमा संयुक्त रूपमा काम गरिनेछ ।
नेपाल चेम्बरले आफ्ना सदस्य तथा सरोकारवालाको तालिम आवश्यकता पहिचान गर्नुका साथै संयुक्त कार्यक्रम सञ्चालन र व्यवसायिक वातावरणसम्बन्धी गतिविधिमा सहकार्य गर्नेछ । साथै, बागमती विश्वविद्यालयका विद्यार्थीका लागि इन्टर्नशिप तथा रोजगारी सहयोग केन्द्र स्थापना गर्न सहजीकरण गर्ने, अनुसन्धान कोष तथा छात्रवृत्ति कार्यक्रम सञ्चालनमा सहयोग गर्ने र उद्योग क्षेत्रका अनुभवी व्यवसायी तथा नेतृत्वलाई अतिथि वक्ताका रूपमा विश्वविद्यालयसँग जोड्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, बागमती विश्वविद्यालयले शैक्षिक विशेषज्ञता उपलब्ध गराउने, तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम सञ्चालन गर्ने, स्टार्टअप र नवप्रवर्तनका लागि परामर्श तथा मार्गदर्शन प्रदान गर्ने र उद्योग-शिक्षा सहकार्यमा आधारित अनुसन्धानलाई प्रोत्साहन गर्नेछ । विश्वविद्यालयले सेमिनार, नीति संवाद तथा सम्मेलन आयोजना गर्नेसमेत जनाएको छ ।
समझदारीपत्र हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म लागू हुनेछ । दुवै पक्षको सहमतिमा यसको अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले विश्वविद्यालयहरूले परम्परागत शिक्षाभन्दा बाहिर निस्किएर उद्यमशीलता र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताए ।
‘विश्वविद्यालयहरूको मुख्य उद्देश्य केवल रोजगारी खोज्ने जनशक्ति उत्पादन गर्नु होइन, रोजगारी सिर्जना गर्ने उद्यमी र नेतृत्वकर्ता तयार गर्नु हो,’ उनले भने, ‘आजको विश्वमा ज्ञान मात्र पर्याप्त छैन, त्यसलाई व्यवसाय, उद्योग र नवप्रवर्तनसँग जोड्न सक्ने क्षमता आवश्यक छ ।’
अग्रवालले उद्योग र शिक्षाबीचको दूरी घटाउन यस्ता सहकार्य महत्वपूर्ण हुने उल्लेख गर्दै विश्वविद्यालयबाट उत्पादन हुने जनशक्ति बजारको वास्तविक आवश्यकताअनुसार दक्ष हुनुपर्नेमा जोड दिए ।
बागमती विश्वविद्यालयका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले विश्वविद्यालय शिक्षा र उद्योगबीचको सम्बन्धलाई व्यवहारिक रूपमा जोड्ने अवधारणासहित अघि बढिरहेको बताए । चेम्बरसँगको सहकार्यले विद्यार्थीलाई उद्योगसँग प्रत्यक्ष जोड्नुका साथै अनुसन्धानलाई व्यवहारिक बनाउन र स्टार्टअप तथा नवप्रवर्तनका नयाँ अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।