पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पाँच महिनापछि स्वदेश फर्किए

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पाँच महिनापछि स्वदेश फर्किएका छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि उपचारका लागि सिंगापुर गएका देउवा उपचार सम्पन्न भएपछि बिहीबार काठमाडौँ फर्किएका हुन् ।

उनी बिहीबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

देउवालाई विमानस्थलमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । संस्थापन इतर पक्षको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाको नेतृत्वमा पुगेका नेता-कार्यकर्ताले उनलाई स्वागत गरेका थिए।

देउवालाई स्वागत गर्न पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा.प्रकाशशरण महत, एनपी साउद, दीपक खड्कालगायत काँग्रेस नेताहरू विमानस्थल पुगेका थिए।

विमानस्थलबाट देउवालाई चुनदेवीस्थित निवाससम्म पुर्‍याइएको बताइएको छ।

स्वदेश फर्किएपछि देउवाले पाँच महिनाको लामो उपचारपछि नेपाल फर्किन पाउँदा खुसी लागेको बताएका छन् । उनले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैप्रति धन्यवाद दिँदै आफू सेवकका रूपमा उपस्थित भएको बताएका छन्।

सम्बन्धित खबर