
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति पाँचौँ पटक तोकेको छ। बिहीबार बसेको राखेपको बोर्ड बैठकले कर्णाली प्रदेशमा आयोजना हुने प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।
यसअघि पटकपटक मिति तय भए पनि विभिन्न कारणले प्रतियोगिता आयोजना हुन सकेको थिएन। पूर्वाधार अभाव, आर्थिक समस्या तथा अन्य कारण देखाउँदै प्रतियोगिताको मिति सारिँदै आएको थियो।
२०७९ कात्तिक-मंसिरमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदको समापनका क्रममा १०औँ राष्ट्रिय खेलकुद २०८१ मंसिरमा कर्णाली प्रदेशमा आयोजना गर्ने घोषणा गरिएको थियो । तर, आवश्यक पूर्वाधार तयार नभएका कारण निर्धारित समयमा प्रतियोगिता हुन सकेन।
त्यसपछि २०८१ चैत २३ देखि ३० गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको थियो। तेस्रो पटक २०८२ जेठ ३ देखि १० गतेसम्म गर्ने भनिएको थियो भने चौथोपटक आगामी फागुन १ देखि ७ गतेसम्म प्रतियोगिता आयोजना गर्ने मिति तय गरिएको थियो।
तर, आर्थिक अभावलगायतका कारण ती मितिमा पनि प्रतियोगिता हुन सकेन । त्यसपछि जेठमा आयोजना गर्ने निर्णय गरिए पनि त्यो पनि कार्यान्वयन हुन सकेन।
यसैबीच, तत्कालीन युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले २०८२ फागुनमा १०औँ राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेका थिए । तर, निर्धारित समय आउनुअघि नै मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनमा लागेपछि उक्त निर्णयअनुसार पनि प्रतियोगिता हुन सकेन।
अब भने राखेपले पाँचौँ पटक मिति तोक्दै आगामी मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको छ।