मेगा केबलमा बराबरको सेयरधनीलाई कार्यालय छिर्न निषेध !

मेगा केबलमा बराबरको सेयरधनीलाई कार्यालय छिर्न निषेध !

काठमाडौं । स्रोत नखुलेको कालोधन लगानी गरेका बद्री प्रसाद पोख्रेलले मेगा केबल नेट प्रालिमा आफूहरुसरहको सेयर लगानीकर्ता श्यामप्रसाद पौडेललाई त्यसको व्यावसायिक क्रियाकलापमा सहभागी हुन समेत प्रतिबन्ध लगाएर संस्था पूर्णरुपमा कब्जा गरेका छन् ।

स्वर्गीय जमीम साहको स्पेस टाइम नेटवर्कमा सामान्य कामदार रहेका पोख्रेल एकाएक अरुसरह लगानी गरेर मेगा केबल सञ्चालनमा सहभागी भएका थिए । बेलायती नागरिकलाई ठगेको आरोपमा पक्राउ परेका वेभ सर्फरका ठग दाजुभाइ सुरेन्द्र क्षेत्री, सुमन क्षेत्रीको ब्रोडकम प्रालिको नाममा ५० प्रतिशत लगानी रहेको मेगा केबलको बाँकी ५० प्रतिशत सेयरमा आठ जनाको दामासायी सेयर छ ।

स्पेस टाइम केबलमा भ-याङ बोक्ने जागिर खाने गोरखाका बद्री पोख्रेल, सिन्धुपाल्चोकका छविरमण आचार्य, तनहुँका खोप राज पन्त, बाग्लुङका हिरा प्रकाश गौचन, नुवाकोटका रामचन्द्र श्रेष्ठ, ओखलढुंगाका युवराज पोख्रेल, काठमाडौंका मनहरि अर्याल र लमजुङका श्याम प्रसाद पौडेल मेगा केबल नेटको सेयरका एकै समान हिस्सेदार हुन् । उनीहरु सबैको मेगा केबल नेटमा ६.२५ प्रतिशत सेयर लगानी छ । तर बराबरको हिस्सेदार श्याम पौडेललाई विगत केही महिनादेखि संस्था कब्जा गरेर बसेका पोख्रेलले कार्यालयमा हाजिर गर्न समेत नदिएर निकालेका मात्र छैनन्, उनलाई कार्यालय प्रवेश गर्न समेत निषेध गरिएको छ । पोख्रेलले बेलायती नागरिकलाई ठगेको आरोपमा कारबाहीमा परेका सन्दीप क्षेत्रीको आडमा त्यसरी संस्थाकै कब्जा गरेर आफूबराबरको सेयर होल्डरलाई कार्यालय प्रवेशमा प्रतिबन्ध लगाएका हुन् ।

पीडित पौडेलले आफूले पाउनुपर्ने रकम नपाएकोले पोख्रेललाई कारबाही गरी रकम दिलाइपाउन प्रहरी वृत्त बालाजुमा निवेदन दिएका थिए र प्रहरीले पोख्रेललाई बोलाएर केरकार पनि गरेको थियो तर अर्काको धन खेलाएर फाइँफुइँ गरेका पोख्रेलले प्रहरीलाई नै प्रभावमा पारेर उल्टै निवेदन दिने पीडित नागरिक श्याम पौडेललाई प्रहरी असहयोग मात्र गरेको छैन, उल्टै कारबाही गर्ने धम्की दिएर पीडितलाई थप पीडा दिइरहेको छ । अहिले प्रहरी वृत्त बालाजुका प्रहरीले उल्टै पीडक बद्री पोख्रेललाई साथ र सहयोग गरिरहेको छ ।

मेगा सहकारी, मेगा टिभी र मेगा केबल नेटको लगानी र खर्चको जालेमाले विवरण देखाएर सञ्चालकहरुलाई छक्याउँदै आएका पोख्रेलले गरेका गल्ती औंल्याएर आफूले पाउनुपर्ने रकम मागेपछि पौडेललाई एक्ल्याएर अफिस छिर्न समेत दिएका छैनन् । मेगा केबल नेटको ५० प्रतिशत सेयर ओगटेको ब्रोडकम प्रालिका सञ्चालक दाजुभाइ सुरेन्द्र क्षेत्री, शैलेन्द्र क्षेत्री र सुमन क्षेत्रीले वेभ सर्फर कम्पनीको ५१ प्रतिशत सेयर दिन्छु भनी भारतीयमूलका बेलायती नागरिक दिनेश विमल नाथनलाई ३२ करोड रुपैयाँ ठगेको आरोपमा २०७५ साल मंसिरमा प्रहरीले पक्राउ गरेको थियो ।

क्षेत्रीले विमलनाथनलाई नक्कली सेयर प्रमाणपत्र दिएका थिए र नाथनले दिएको उजुरीको आधारमा सुरेन्द्र क्षेत्री २२ दिनपछि पक्राउ परेका थिए । यिनै क्षेत्री दाजुभाइको आडमा पोख्रेलले पौडेललाई न सेयर बेच्न दिएका छन्, न त कार्यालय पस्न र बस्न नै । मेगा केबल नेटको नाममा पोख्रेलले मच्चाएको लूटको धन्दालाई त्यसका अरु सञ्चालकहरुको साथै प्रहरी वृत्त बालाजुले पनि अहिले पौडेलको सबै सेयर र सम्पत्ति कब्जा गरेर खाने बद्री पोख्रेललाई साथ दिएका छन् । (आर्थिक दैनिकबाट)

Trending News